मनाइयो रक्षाबन्धन, जनैपूर्णिमा र गाइजात्रा

शुक्रबार रक्षाबन्धन, जनैपूर्णिमा र गाइजात्रा मनाइएको छ । साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ पर्व मनाइएको हो ।

हिन्दू नेपाली परम्परामा रक्षाबन्धन भनिने यो पर्व मिथिलाका दाजुभाइ/दिदीबहिनीबीच ‘राखी’ का नाउँमा प्रसिद्ध छ । पर्वमा दिदीबहिनीले दाजुभाइलाई कलात्मक धागोका रङ्गीचङ्गी डोरा (राखी) दायाँ हातको नाडीमा बाँधेका छन् ।

अघि सत्ययुगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल) का राजा दानवराज वलिलाई युद्धमा जानअघि दिदीबहिनी गङ्गा र जमुनाले विजयको कामना गर्दै दायाँ हातको नाडीमा ‘रक्षाकवच’ स्वरुप अभिमन्त्रित डोरा बाँधी दिएका सम्झनामा यो पर्व परम्परा चलेको विश्वास गरिन्छ । यसैदिन कूल पुरोहितले पनि वैदिक मन्त्रले अभिमन्त्रित डोरा यजमानलाई बाँधी दिने परम्परा छ । यो पनि दानवराज वलिलाई गुरु शुक्रचार्यले युद्धमा जानअघि शास्त्रोक्त विधिले डोरा अभिमन्त्रित गरेर बाँधीदिएका विश्वास गरिन्छ । यसैको प्रभावले राजावलि देवतासँगको युद्धमा विजयी भएको पुराण वर्णित कथा छ ।

शुक्रबार जनैपूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँधेका छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ । यसै दिन ब्राहृमण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवित) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ ।

त्यस्तै, नेपालगन्जमा पनि शुक्रबार गाईजात्रा पर्व मनाइएको छ । नेपालगन्जमा नेवार समुदायले झाँकी सहितको र्याली निकालेर बजार परिक्रमा गरेका हुन् । गाईजात्राको र्याली नगर परिक्रमा पछि बागेश्वरी मन्दिरको पार्कमा पुगेर प्रसाद वितरण पछि समापन भएको चन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व मनाइने गरिन्छ ।

हिन्दूधर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतात्माले यमलोक प्रवेशपाई मुक्ति पाउने उल्लेख गरिएको संस्कृतकर्मी रामेश्वर श्रेष्ठ बताउँछन् । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको उनी बताउँछन् ।

पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आदेश दिएपछि गाईजात्रा सुरु भएको ऐतिहासिक मान्यता रहेको छ ।

घरघरबाट गाईजात्रा निकाले पछि पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो । यद्यपिसंस्कृतकर्मी भने गाईजात्रा पर्व १४आँंै शताब्दीभन्दा अगाडि लिच्छवीकालको अन्त्यमा सुरु भएको बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया