सेवा सहज बनाउँदै भेरी: चाहिंदैन सिफारिस

भेरी अस्पताल नेपालगन्जले अस्पतालबाट उपलब्ध हुने सेवामा लक्षित वर्गको पहुँच सहज बनाएको छ ।

सरकारी अस्पतालबाट विभिन्न खालका सेवा निःशुल्क तथा सहुलियतमा गर्ने व्यवस्था राज्यले गरेको छ । तर, विपन्न वर्गले त्यसका लागि प्रक्रिया नै थाह नपाउने, थाहा पाए कागजी प्रक्रियाको झन्झट व्यहोर्नु पर्ने अवस्था छ । तर, भेरी अस्पताल नेपालगन्ज अब त्यसको अन्त्य गर्दै सहुलियत उपचारलाई सहज बनाएको छ ।

सहुलियत उपचारका लागि स्थानीय तहको सिफारिस अनिवार्य हुन्छ । सिफारिस बनाउनेमा पहुँचवालाकै हालीमुहाली हुने गरेको छ । विपन्न र असहायलाई त्यो व्यवस्था थाहा हुँदैन । थाहा भएकाले अस्पतालको बेडमा बिरामी छाडेर स्थानीय तहका जनप्रतिनिधि खोज्दै हिड्नु पर्ने हुन्छ, सिफारिसका लागि । उक्त अवस्थालाई मध्यनजर अस्पतालले नेपाली नागरिकको परिचय पत्र भए मात्रै पनि विपन्नलाई सहुलियत सेवा दिने निर्णय गरेको छ ।

‘यथार्थमा सहुलियत उपचारको सिफारिस जुनसुकै आर्थिक र सामाजिक हैसियत भएका व्यक्तिहरूले पनि लिएर आउने र सहुलियतको निम्ति दावी गर्ने गरेको पाइयो’, अस्पतालले मंगलबार आफ्नो आधिकारिक पेजमार्फत नयाँ निर्णयको जानकारी दिंदै भनेको छ, ‘यसले गर्दा लक्षित वर्गका असहाय र निमुखा बिरामी नै सेवाबाट वञ्चित हुने गरेको पाइएकोले भाद्र १ गते देखि भेरी अस्पतालमा निःशुल्क वा सहुलियत उपचार गर्नको निम्ति स्थानीय तहको सिफारिस अनिवार्य नहुने कुराको जानकारी गराउँदछौं ।’

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले वयस्कको हकमा नेपाली नागरिक भएको पहिचान खुल्ने कुनैपनि प्रमाण ( नागिरकता/मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्र आदि र नाबालकको हकमा अभिभावकको परिचयपत्रलाई नै आधार मान्न सकिने जानकारी दिएका छन् । उनले लक्षित वर्ग बाहेक अन्य उक्त सहुलियत नलिउन् भन्ने उद्देश्यले स्वःघोषणा मार्फत सहुलियत वा निःशुल्क सेवा प्राप्त गरेका बिरामीको विवरण अस्पतालले सार्वजनिक लेखा परिक्षणको निम्ति संग्रह गरेर राख्नेछ र समयसमयमा सार्वजनिक गर्न सक्ने बताएका छन् । ‘आर्थिक सम्पन्नले पनि विपन्नको सेवा नलिउन् भन्ने उद्देश्यले सहुलियत सेवा लिनेको नाम सार्वजनिक गर्ने विधि अवलम्वन गर्न खोजेका हौं’, अस्पताल व्यवस्थापन समितिका सदस्य भन्छन् ।

अस्पतालले आन्तरिक रुपमा सहुलियतको सिफारिसलाई पनि सहज बनाएको छ । आर्थिक सहुलियत उपयुक्त हुने लागेमा उपचारमा संलग्न कन्सल्टेन्ट चिकित्सकले ५०% सम्म सहुलियतको निम्ति सिधै सिफारिस गर्न सक्ने व्यवस्था अस्पतालले गरेको छ । ‘सम्बन्धित विभागिय प्रमुखको सिफारिसमा नेपाल सरकारको मापदण्डमा रहि बिरामीको उपचारमा सतप्रतिशतसम्म सहुलियत दिन सकिनेछ’, अस्पताल जानकारी दिंदै भनेको छ, ‘सामाजिक सेवा इकाइ मार्फत प्रवाह गरिने सेवाहरूलाई सहज रुपमा सेवाग्राहीसम्म पु¥याउन बहिरंग सेवामा २ हजार ५ सय र अन्तरंग सेवातर्फ १० हजार रुपैया भन्दा बेसीको रकम स्वीकृत गर्नुपरेमा मेडिकल सुपरिन्टेन्डेन्टबाट गराउनु पर्ने तर मेसुको व्यस्तताले गर्दा उक्त बिल/भर्पाई स्विकृत गर्न समय लाग्नाले बिरामीहरूले दुःख पाइरहेकोले अब उपरान्त त्यो अधिकार नर्सिङ प्रशासकमा प्रत्यायोजन गरिएको छ ।’

‘उपचारमा संलग्न विशेषज्ञ चिकित्सक र विभागिय प्रमुखको सिफारिस भएमा सोहि अनुरुप छुट सदर हुनेछ भने सिफारिस नआएको खण्डमा सामाजिक सेवा इकाइ प्रमुख (नर्सिङ प्रशासक) ले नै सो निर्णय गर्न मिल्ने प्रावधान मिलाइएको छ’, भेरी अस्पतालले नयाँ निर्णय बारे जानकारी दिंदै भनेको छ ।

‘बीमा काउन्टर र नियमित ओपडी पर्चा काउन्टर अगलअलग ठाउँमा हुँदा बिरामीहरूले दुःख पाइरहेकोमा बीमा काउन्टरलाई पनि नियमित ओपिडी काउन्टरकै नजिक स्थानान्तरण गरि बिरामी कुर्नको लागि बेन्चको व्यवस्था गरिएको छ’, सेवा सहज बनाउने प्रयास उल्लेख गर्दै अस्पतालले भनेको छ, ‘बीमामा सेवा लिन आउने बिरामीहरूले बिमा सुविधा लिन काउन्टर र फार्मेसीमा औषधिको पुर्जा बुझाउनु पर्ने, त्यसको लागि अस्पताल बाहिर भौंतारिनु पर्ने र सोहि क्रममा दलालहरूको चंगुलमा फसेर निशुल्क पाइने औषधी समेत बाहिर किनाइदिने परिपाटी अन्त्य गरि बिरामी पक्षलाई सहज होस् भनि बिमा काउन्टरमै फोटोकपी राखि निःशुल्क फोटोकपी गरिदिने व्यवस्था मिलाइएको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया