नागरिकता विधेयकमाथि पुनर्विचार गर्ने कि ?

पृष्ठभूमि
बुर्काभित्र/बुर्काबाहिर स्तम्भमा आज समसामायिक विषयवस्तु ‘नागरिकता विधेयकमाथि पुर्नविचार गर्ने कि ?’ । हरेक व्यक्ति जन्मिदा पृथ्वीभित्र रहेकोले १९५ राष्ट्रहरु मध्येको सरहद अर्थात सीमा भित्र नै जन्मिन्छ । कुनै पनि मानिस अन्य कुनै ग्रहमा जन्मेको हुँदैन । यसकारण जन्मकै आधारमा पनि कुनै न कुनै राष्ट्रको नागरिक हुन जान्छ र उसलाई नागरिकता चाहिन्छ । अर्को अवस्थामा वैवाहिक नाताका आधारमा पनि एक देशका नागरिक अर्को देशमा विवाह गरेर गइसकेपछि कानूनी मापदण्ड पुरा गरी नागरिक हुन सक्छन् । यसका साथै विशिष्ट व्यक्तित्व आधारमा पनि नागरिक बन्न सक्छन् । व्यापारका कारण पनि मानिसले नागरिकता लिन सक्छन् । गृहमन्त्रालयको तथ्यांक अनुसार हिमाल, पहाड तराई र काठमाडौं बसोबास गर्ने जन्मसिद्ध नागरिकता लिएका छन् । हाल नेपालमा करिब १ लाख ९० हजार जना जन्मसिद्ध नागरिक रहेकाछन् । तर वैवाहिक अंगिकृत नागरिकता हुनेहरुको तथ्यांक बारे कुनै जिकिर छैन । हाल हाम्रो देश नेपालमा नागरिकता विधयकको विषयमा बहस चलिरहेको छ ।

नागरिकता विधेयकमाथि यो बहस चलिरहदा सर्वप्रथम त महिलाका लागि सबभन्दा उदार मानिने देश अमेरिकी कानूनी प्रावधान हेर्न अति आवश्यक छ । त्यसपछि सार्क मुलुक र अन्य देशका प्रावधान पनि । अमेरिकामा अंगिकृत नागरिकताको हकमा महत्वपूर्ण कुराः अमेरिकी नागरिकसँग विवाहले नागरिकताका लागि होइन, ग्रीन कार्डको लागि योग्य बनाउँछ । एउटा निश्चित समय र वर्षको लागि ग्रीन कार्ड पाएको व्यक्तिले अमेरिकी नागरिकताको लागि योग्य बन्न सक्छ । अर्थात विवाह पश्चात अमेरिकी नागरिक हुनका लागि यो कम्तीमा दुई–चरणको प्रक्रिया हो । अर्को शब्दमा भन्दा यद्यपि पति अमेरिकी नागरिक भए पनि उसले आप्रवासीलाई तुरुन्तै अमेरिकी नागरिकमा परिणत गराउन सक्दैन् ।

कुनै पनि देशको नागरिक हुनुको पहिचान नै नागरिकता हो । कुनै व्यक्ति जो आफ्नो ईच्छा अनुसार कुनै देशमा रहन बस्न र सेवा लिन दिन चाहन्छ । भने उसले त्यस देशको कानूनी शर्त र मापदण्ड बमोजिम नागरिकता पाउनु पर्छ ।
यो कसैको पैतृक सम्पति होइन कि आफ्नो इच्छा अनुसार भाग लगाइदिने । यथार्थमा नेपालको सन्दर्भमा हेर्ने हो भने नागरिकता नहुँदा धेरैले शिक्षा स्वास्थ्य रोजगार र बैंक कारोबार गर्न सक्दैन् । सो नागरिकलाई यी अधिकारबाट वन्चित बनाउनु हँुदैन । वैवाहिक अंगिकृत नागरिकता दिंदा संसारको नभए नि सार्क राष्ट्रहरुको प्रावधान हेर्नुपर्छ । सार्क राष्ट्रहरुमा नेपाल एक मात्र त्यस्तो राष्ट्र हो जहाँ बिहेको भोलिपल्ट नै विदेशी बुहारीले नागरिकता पाउन सक्छिन् । नागरिकता पाउन साथ उनले राज्यका अन्य नागरिक सरह सेवासुविधा र पद पनि भोलिपल्ट नै पाउने भइहाल्छिन् । यहाँसम्म कि परिवारमा राजनीतिक दलको शीर्ष नेता छन् भने संसदमा समेत पस्न पाउने सहजता छ । जबकी छिमेकी मुलुक भारतमा बिहेको सात (७) वर्ष पछि मात्र विदेशी बुहारीले नागरिकता पाउन्छिन् । विदेशी नागरिक भएकै कारण आज सम्म सोनिया गांधी प्रधानमन्त्री हुन पाएकी छैनिन् । जबकि उनको सारा उमेर र लगानी भारतमा नै खर्चिएका छन् । यसै गरी सार्क मुलुक बंगलादेशमा पाँच वर्ष पछि र बंगलादेशी नागरिकको हकमा दुई (२) वर्ष पछि मात्र, पाकिस्तान मा पाँच(५) वर्षपछि, श्रीलंकामा सात(७) वर्ष पछि, अफ्गानिस्तानमा सात(७) वर्षपछि, माल्दिभसमा बाह्र(१२) वर्षपछि, भुटानमा बिहे गरीसकेपछि जन्मिएको बच्चाले नागरिकता पाइसकेपछि मात्र नागरिकता पाउने प्रावधान रहेको छ । बेलायतमा कानुनी प्रावधान अनुसार यदि बेलायती नागरिकसँग विवाह गरे पाँच (५) पछि मात्र । विवाहमा आधारित ग्रीन कार्डको लागि हालको कुल पर्खाइको समय ११ देखि ३८ महिना अर्थात तीन (३) वर्षको बीचमा हुन्छ । कतारमा अंगीकृत व्यक्तिको पत्नीले इमिरी निर्णयद्वारा पतिको आधारमा कतारको नागरिकता प्रदान गर्न सक्छ, तर उनको पतिले कतारी नागरिकता प्राप्त गरेको मितिबाट कम्तिमा पाँच वर्षसम्म कतारमा बस्न सक्नेछ ।

त्यहीँ नेपालमा बिहे गरेको भोलिपल्ट नै विदेशी बुहारीलाई नागरिकता दिइने प्रावधान छ । सार्क लगायत विश्वका अन्य देशले विदेशी बुहारीलाई नागरिकता दिन्छ तर तोकिएको समय र मापदण्ड पुरा गरिसकेपछि मात्र । यसै गरी जन्मसिद्ध नागरिकता हुने आमाबुवाको सन्तानलाई वंशजको नागरिकता दिने निर्णय पारित गरिएकोछ । सदियौंदेखि वा कम्ती तीन पुस्ताको बसोबास रहेका आमाबुवाको सन्तानले वंशजको नागरिकता पाउँछ । अनि जन्मसिद्ध नागरिकता हुने आमाबुवाको सन्तानले पनि वंशजको नागरिकता पाउँछ भने न्यायोचित हुदैँन् । जसका बाबु बाजे बराज्येले यही माटोमा आफ्ना सीप, आफ्नो आर्थिक लगानी आफ्नो क्षमता दक्षताका अनुसार योगदान पुर्याए यहाँसम्म की जीवन समेत अर्पण गरे । उनको तुलना जन्मसिद्ध नागरिकको योगदान र समर्पण रहेको हँुदैन । यसर्थ यदि यी दुबैका सन्तानलाई समान रुपले वंशजको नागरिकता दिइयो भने योगदान दिने पुर्वज र तिनका सन्तानसंग अन्याय हुन जानेछ । त्यही कुरा हाम्रो देशमा राज्य सत्तामा बसेकाले बुझ्न नसक्नु वा बुझ्न नखोज्नुको कारण खोई के हो । यही विषयको सेरोफेरोमा रहेर हेर्न जरूरी छ। मधेशमा पुस्तौं देखि बसोबास गर्दै आइरहेका मुस्लिम, मधेशी, दलित, आदिवासी र पछाडि पारिएका समुदायलाई अहिलेसम्म समान नागरिकको दर्जा दिलाउन नसक्नु दुखद हो ।

नागरिकता बिहीनहरुका लागि चुनौती हाल अवस्था यो छ कि जुन महिलाहरुको पुर्वज नेपालका रहे पनि उनको विवाह विदेशीसंग भएको छ । अथवा रोटीबेटीको सम्बन्ध रहेको छिमेकी मुलुक भारतमा भएको छ । तर उनका पति रोजगारका लागि विवाह भए देखि यतै बसेकाछन् । ती महिलाहरुसंग न नेपालको नागरिकता छ न भारतको । उनीहरुको बारेमा यही दैनिक नेपालगन्ज पत्रिकामा लेखिएको लेख कसरी बाँच्ने भुगोल बिहीन महिला र गुमनाम जीवनगाथा मा पढ्न सकिन्छ । अहिले पनि कति सर्वसाधारण यस्ता व्यक्ति छन् जो बुढेसकाल सम्म आइसक्दा पनि उनीहरुसंग नागरिकता छैन् । आमाबुवा र पतिको मृत्यु पश्चात काकाहरु र ससुरा देवर जुठाजुले नागरिकता बनाउन सनाखत नगर्दिनले धेरै युवायुवती र बालबालिकाहरु पढ्न, राज्यले दिने सेवासुविधा र आफ्नो अधिकारबाट वन्चित हुनु परेकोछ । जसले गर्दा ती महिलाहरुको जीवन निकै कष्टकर र चुनौतीपूर्ण रहेको छ ।

गर्नु पर्ने पहल
हरेक व्यक्तिलाई सम्मानित नागरिक स्वरूप बाँच्नका लागि नागरिकता अति आवश्यक हुन्छ । यस कारण विवाह भएर आउने विदेशी बुहारीका हकमा भन्नुपर्दा उसलाई सरकारी कामकाज, बच्चाहरु स्कुल भर्ना, बैंक खाता खोल्ने जस्ता काममा सहजता प्रदान गर्न ग्रीन कार्ड सरह पहिचान हुने खालको कार्ड दिइनुपर्छ । नागरिकता दिनका लागि सार्क लगायत अन्य मुलुकका प्रावधानहरुको अध्ययन गरी निश्चित समयावधी तोकिनुपर्छ । विदेशी बुहारीका हकमा कानूनी मापदण्ड र समयावधी पुरा गरिसकेपछि मात्र नागरिकता दिइनुपर्छ । समयावधी कति तोकिने बरु यस विषयमा बृहत छलफल र बहस हुन आवश्यक छ । यसैगरी जन्मसिद्ध नागरिकता लिने आमाबुवाको सन्तानको हकमा पनि केही प्रावधान लागु गरिनुपर्छ । नेपाल भरी करिब ५ लाख भन्दा बढी जना यस्ता छन् । जोसँग नागरिकता छैन् । त्यहीँ मध्ये नेपालमा रहेका जन्मसिद्ध नागरिकहरुको संख्या हाल १ लाख ९० हजार जति रहेको छ । जसले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन् । जन्मसिद्ध नागरिकता पाउनेहरुको तथ्यांक सरह वैवाहिक अंगिकृत नागरिकता हुनेहरुको पनि यसै गरी तथ्यांक अपडेट गरिनुपर्छ । जन्मसिद्ध नागरिकता हुने र पुस्तौं देखि बसोबास गर्ने बीच पहिचानका लागि एक पहल जरूरी छ । यसका लागि नागरिकता दिदाँ पहिलो पुस्ता अर्थात जन्मसिद्ध नागरिकता, तिनका सन्तानलाई जन्मसिद्धको दोस्रो पुस्ता भनी नागरिकता दिने । दोस्रो पुस्ताको सन्तान तेस्रो पुस्तालाई वंशजको नागरिकता दिंदा अनि मात्र न्यायोचित हुनेछ । कम्तीमा तीन पुस्ता नेपालमा बसोबास गर्नेलाई वंशजको नागरिकता दिंदा उनीहरुको पनि आर्थिक लगानी, योगदान र समय आदि दिएको हुनेछन् । जन्मसिद्ध नागरिकता हुनेलाई र उनका सन्तानलाई अन्य सबै सेवासुविधा दिइनुपर्छ । तर राजनीतिमा आबद्ध भइ निर्वाचित भएर सार्वजनिक पद धारण गर्नका लागि कम्तीमा दोस्रो पुस्ता पश्चात वंशजसम्म पुग्नु पर्ने प्रावधान राखिनुपर्छ । यसो गर्दा नेपालमा पुस्तौंदेखि बसोबास रहेकाहरुसँग पनि न्याय हुन जान्छ । परिकल्पना नागरिकतामाथि राजनीति गर्नु देश र जनताको लागि दुर्भाग्यपूर्ण हो ।

नागरिकता भनेको निकै संवेदनशील र गहन विषय हो । तसर्थ पुस्तौं देखि बसोबास रहेका र जन्मसिद्ध नागरिकता हुनेहरुका सन्तानलाई नागरिकता वितरण हुँदा विधिवत रुपमा वर्गीकरण गरिएको हुनेछ । यसै गरी वैवाहिक अंगिकृत नागरिकता हुनेहरुको तथ्यांक व्यवस्थित हुनेछ । जन्मसिद्ध नागरिकता हुनेका तेस्रो पुस्ता, कानूनी मापदण्ड र समयावधी पुरा गरी वैवाहिक अंगिकृत नागरिकता लिनेहरु र नेपालमा वर्षौंदेखि बसोबास गर्ने ती व्यक्तिहरुले नागरिकता प्राप्त गरिसकेपछि राज्यले दिने सेवासुविधा प्राप्त गर्नुका साथै सामाजिक, सांस्कृतिक, शैक्षिक, आर्थिक र राजनीतिक लगायतका अधिकार उपभोग गर्न सक्नेछन् । जसले गर्दा उनीहरुको जीवन सहज हुनेछ । वंशज, वैवाहिक अंगिकृत र जन्मसिद्ध आदि जस्ता कुनै पनि नेपाली नागरिक नागरिकताबाट वन्चित हुनु पर्दैन् । यसर्थ माथिको कुराहरुलाई मध्येनजर गरी नागरिकता विधेयकमाथि पुर्नविचार गर्ने कि ?

प्रतिक्रिया

प्रतिक्रिया