स्थापनासँगै साप्ताहिक रुपमा निःशुल्क स्वास्थ सेवा प्रदान गर्दै आएको लाइफलाइन जनरल हस्पिटलले जिल्ला कारागार कार्यालय नेपालगन्जमा शनिवार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
लाइफलाइनका प्रमुख डा.पारस श्रेष्ठले कैदीबन्दीहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउन हस्पिटलले निःशुल्क शिविर सञ्चालन गरिएको जानकारी दिए । ‘कैदीबन्दीहरुमा विभिन्न खाले स्वास्थ्य समस्या देखिएको गुनासो आएपछि हस्पिटलले आफ्नो दायित्व सम्झेर शिविर सञ्चालन गरेको हो,’ डा.श्रेष्ठले भने ।
कारागार प्रमुख रामकुमार सोनकरले कारागारमै निःशुल्क शिविर आयोजना गरिएपछि कैदीबन्दीहरुलाई धेरै राहत मिलेको प्रतिक्रिया दिंदै नेपालगन्ज कारागार कार्यालयको संयोजनमा भएको शिविरमा चेकजाँच गरिएका अधिकांश कैदीबन्दीमा छाला सम्बन्धि समस्या देखिएको बताए ।
उपचारमा संलग्न चिकित्सकका अनुुसार, नाक, कान र घाँटीसँग सम्वन्धित समस्या पनि केहीमा देखिएको छ । उनीहरुलाई आवश्यक औषधि समेत निःशुल्क प्रदान गरिएको छ । शिविरमा फिजिसियन, दन्त, ईएनटीलगायतको सेवा दिइएको थियो ।
स्वास्थ शिविरमा फिजिसियन डा.पारस श्रेष्ठ, फिजिसियन डा.क्रिस्टिन श्रेष्ठ, नाक, कान तथा घाँटी रोगका चिकित्सक डा. अजय बैश्य, दन्त रोग विशेषज्ञ डा.प्रतिक श्रेष्ठ, नर्सिङ सुजाता कँडेल, सिर्जना बुढाथोकी, श्रीम श्रेष्ठ, इनायत अलि, रंजीतराम काँदु, क्षमता गोसाइँलगायतको टोलीले योगदान गरेको लाइफलाइनले जनाएको छ ।
तीनसय क्षमताको नेपालगन्ज कारागारमा दोब्बर भन्दा बढी साढे ७ सय कैदीबन्दी रहेकाले पनि रोगको प्रकोप छ । ‘कैदीबन्दीहरुलाई स्वास्थ्य समस्याबाट जोगिने तवरतरिकाबारे समेत सचेत पार्ने काम गरिएको छ,’ शिविरमा २५० जना कैदीबन्दीको स्वास्थ्य चेकजाँच तथा औषधि वितरण गरिएको जानकारी दिंदै अस्पताल प्रमुख डा.श्रेष्ठले भने, ‘आगामी दिनमा पनि यस्ता निःशुल्क स्वास्थ्य शिविर बालसुधार केन्द्र लगायतका अन्य ठाउँमा पनि गर्ने योजनामा छौं ।’
कोभिडको संक्रमण उत्कर्षमा रहँदा डा. पारस श्रेष्ठ घरघरमैं पुगेर स्वास्थ्य सेवाका लागि परिचालित थिए । ‘गुरुद्वारा र विभिन्न मस्जिदमा पुगेर पनि स्वास्थ्य सेवा प्रदान गरेका छौं,’ डा. श्रेष्ठले भने ।