
१० लाख वृक्षारोपण गर्ने अभियान अन्तर्गत शुक्रबार बाँकेको नेपालगन्जमा एकै दिन ५ सय बिरुवा रोपिएको छ । लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा जिल्ला स्थित विभिन्न संघ, संस्थासँगको सहकार्यबाट आदर्श मावि राँझा परिसरमा ५ सय बिरुवा रोपिएको हो ।
कार्यक्रमको शुभारम्भ नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन र मञ्चका अध्यक्ष बासु गौतमले गरेका थिए ।
कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरणका साथै नेपालगन्जका हरित अभियन्ता हेमन्तराज काफ्ले लगायतलाई सम्मान पनि गरिएको थियो । काफ्ले लामो समयदेखि हरित अभियान अन्तर्गत बिरुवा लगाउन तथा उत्प्रेरित गर्न सक्रिय छन् ।
‘सन् २०१७ बाट अनौपचारिक रुपमा हाम्रो अभियानले २०१९ को बुद्ध जयन्तीबाट मूर्त रुप पाएको हो’, मञ्चका अध्यक्ष बासु गौतमले अभियानबारे जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, ‘कोभिड महामारीका कारण दुई बर्ष पछि निरन्तरता दिन लागेका छौं ।’

हालसम्म १४ हजार बिरुवा रोपिसकेको लुम्बिनी विश्व शान्ति मञ्चले विश्वका आठ मुलुकमा बुद्धको महत्व र बुद्धत्वका बारेमा चर्चा बहस चलाएको अध्यक्ष गौतमले बताए । ‘सिद्धार्थ गौतमले रुख मूनि बुद्धत्व प्राप्त गरी बुद्ध स्वरुप ग्रहण गरेकाले रुख र बुद्धलाई सँगसँगै अगाडि बढाउने हाम्रो अभियान हो’, अध्यक्ष गौतमले भने, ‘वृक्षारोपण गरिएका ९ हजार बिरुवा हुर्किएका छन् ।’

नेपालगन्ज–२० राँझामा रोपिने बिरुवाको संरक्षणको दायित्व आदर्श माविले लिएको छ । ‘हामी स्थानीय स्तरमा सहकार्य गरेर संरक्षणको सुनिश्चितता गर्ने गरेका छौं’, १० लाख बिरुवा हुर्किदा जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान पुर्याउने विश्वास गरेको मञ्चले यसक्रममा स्थानीय स्रोत र साधनको उपयोग गरिरहेको जानकारी दिंदै अध्यक्ष गौतमले भने, ‘यसका लागि विदेशी सहयोग भन्दा स्थानीय स्रोत साधनलाई प्राथमिकतामा राखेका छौं ।’