मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा

सरकारले प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो।

निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सरकारसँग परामर्श गरेको थियोे।


मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति घोषणा गरेको एक मन्त्रीलाई उदधृत गर्दै विभिन्न राष्ट्रिय सञ्चारमाधययमले जनाएका छन् ।

‘२०७९ मंसिर ४ गते आइतबार प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय भएको छ’, ती मन्त्रीले सञ्चारकर्मीसँग भनेका छन्,‘एकै चरणमा निर्वाचन सम्पन्न हुनेछ।’


हिजो सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचन आयोगले दिएको भन्दा २ दिनपछि चुनाव गर्ने सहमति गरेको हो।

यसअघि निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन एकै चरणमा गर्न सरकारसँग परामर्श गरेको थियोे। सरकारले यसअघि गत वैशाख ३० मा स्थानीय तह निर्वाचन एकै चरणमा सम्पन्न गरेको थियो।

यसैबीच, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली संकलन कार्य स्थगित हुने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल प्रेससँग कुरा गर्दै शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने बताए । चुनाव घोषणापछि मतदाता नामावली संकलन स्थगित हुने कानूनी व्यवस्था छ ।

स्थानीय तह निर्वाचनपछि खुलेको नामावली संकलन आज भने जारी रहनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया