धारा नेपालगन्ज म्याराथनः मंसिर तीनमै आठौं संस्करण

बढ्दै पुरस्कार राशी


धारा नेपालगन्ज म्याराथनको आठौं संस्करण मंसिर ३ गते शनिबार हुने भएको छ । हरेक मंसिरको पहिलो शनिबार हुँदै आएको म्याराथनको तयारी सुरु गरेको आयोजक क्रियटिभ ह्याण्ड्सले सोमवार प्रेस विज्ञप्तिमार्फत जनाएको हो ।


नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा आठौं धारा नेपालगन्ज म्याराथनका लागि आइतवारदेखि खेलाडी दर्ता खुला गरिएको हो । त्यसका लागि अनलाइनबाटै दर्ता खुला गरिएको आयोजकले जनाएको छ ।

‘गत बर्ष झैं यस बर्ष पनि बिभिन्न दश वटा विधामा स्पर्धा समावेश गरिनेछ,’ केही विधातर्फ नगद पुरस्कार राशीमा वृद्धि गरिने घोषणा गर्दै आयोजक क्रियटिभ ह्याण्ड्सका संस्थापक अध्यक्ष टिएस ठकुरीले भने, ‘केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ ।’ आठौं संस्करणमा कम्तीमा आठ देशका धावकलाई सहभागी गराउने तयारी भइरहेको उनले बताए ।

पुरुषतर्फ म्याराथन (४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन(२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ ।


नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए । त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र सातौंमा एपीएफकै किरणसिंह बोगटी विजेता बनेका थिए भने महिला हाफ म्याराथनतर्फ सातौंमा गत बर्ष गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन ।
त्यसैगरी पहिलो एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने एकमात्र खेलाडी कान्छीमाया कोजु हुन् ।

पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सुत्रमा बाँधिएको सदभावको शहर हो । देशको संघीय संरचनामा नेपालगन्ज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मिक एवं प्राकृतिक पर्यटकीय स्थलको मुख्य प्रवेश द्वार पनि हो ।

‘सामाजिक एकताको प्रतीक खेलकुद विधामार्फत शहरको चिनारी कायमै राख्न आठ बर्ष अघि नेपालगन्ज म्याराथनले यात्रा प्रारम्भ गरेको थियो,’ अध्यक्ष ठकुरी भन्छन्, ‘विश्व मानचित्रमा लामो दौड अर्थात म्याराथनको अलग महत्व हुने गर्दछ । यसले स्वस्थ रहन सन्देश दिन्छ, बालकदेखि वृद्धसम्मलाई समेट्छ ।’


विश्वका शीर्ष म्याराथनको प्रवद्र्धकको कार्य गर्दै आएको वल्र्ड्स म्याराथन्सले सुचिकृत गरी धारा नेपालगन्ज म्याराथनको अन्तर्राष्ट्रिय ब्रान्डिङमा मद्दत गरेको आयोजकले जनाएको छ । ‘यसले गर्दा यस बर्ष बिभिन्न देशका प्रतिष्ठित धावकहरुको सहभागिता रहने हामीले अपेक्षा गरेका छौं,’ धारा नेपालगन्ज म्याराथनमा सहभागी हुन चाहने जो सुकैले जहाँबाट पनि अब नेपालगन्जम्याराथनडटकम वेभसाइटबाटै आफ्नो नाम दर्ता गर्न सक्ने जानकारी दिंदै अध्यक्ष ठकुरीले भने, ‘सात वटै प्रदेशबाट सहभागी गराउने हाम्रो लक्ष्यमा बेभसाइटले मद्दत गर्ने विश्वास गरेका छौ ।’

प्रतिक्रिया

प्रतिक्रिया