बाँकेमा २५ पुग्यो बाघको संख्या, नेपालमा ३ सय ५५

नेपालमा वयश्क बाघको संख्या ३ सय ५५ पुगेको छ । सन् २०१० मा बाघ पाइने १३ देशले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य राखेको थियो । नेपालले उक्त लक्ष्य निर्धारित समयमा पूरा गरेको छ । देशभरको तथ्यांक अनुसार बाघको संख्या वृद्धि हुँदा बाँकेमा पनि ४ वटा बाघ थपिएका छन् । यसअघि बाँकेमा २१ वटा वयस्क बाघ रहेका थिए ।

विश्व बाघ दिवस २०२२ को अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत राष्ट्रिय बाघ तथा आहार प्रजाति सर्वेक्षण प्रतिवेदन २०२२ का अनुसार बाघको संख्यामा चार वर्षमा ५१ प्रतिशत बृद्धि भएको सो अवसरमा जानकारी दिइयो ।

प्रतिवेदनअनुसार पर्सा राष्ट्रिय निकुञ्ज तथा वरपरको वन क्षेत्रमा ४१, चितवन राष्ट्रिय निकुञ्ज तथा वरपरको वन क्षेत्रमा १२८, बाँके राष्ट्रिय निकुञ्ज र वरपरको वन क्षेत्रमा २५, बर्दिया राष्ट्रिय निकुञ्ज र वरपरको क्षेत्रमा १२५ र शुक्लाफाँटा लालझाडी जोगबुढाक्षेत्रमा ३६ गरी जम्मा ३५५ बाघ रहेको उल्लेख गरीएको छ ।

बाघको संख्या एकिन गर्न तराई आर्क ल्याण्डस्केप अन्तर्गतका १५ जिल्लामा अकुपेन्सी सर्वेक्षण गरिएको वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बाघको संख्या एकिन गर्न बाघको बसोबास रहेको क्षेत्र चितवन, पर्सा, बाँके बर्दिया र शुक्लाफाँटा लालझाडी जोगबुढा तीन क्षेत्र विभाजन गरी क्यामेरा ट्रयाप विधी प्रयोग गरी सर्वेक्षण गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया