भेरी अस्पताल: नयाँ सोंच, नयाँ दिशा

भेरी अस्पताल १५ सय शैय्याको विशिष्टिकृत अस्पताल हुनुपर्दछ । यो मेडिकल कलेज भन्दा पनि विशिष्टिकृत तालिम सञ्चालन गर्ने शैक्षिक केन्द्रका रुपमा यसको विकास गरिनु पर्दछ ।

तपाईंको नेतृत्व भेरीलाई विशिष्टिकृत अस्पताल बनाउनेतर्फ कत्तिको छ ? छ भने केही योजना बनाउनु भएको होला नि है !
नेपाल सरकारले बजेट भाषण मार्फत नै भेरी अस्पताललाई विशिष्टिकृत अस्पताल बनाउने भनेर नीति तथा कार्यक्रममा पनि समावेश गरिसकेको कुरा हो । कार्डियाक सेवाहरु हामीले तीन/चार बर्ष अघि नै सुरु गरिसकेका थियौं । क्याथल्याब सहितको अस्पताल हो । नेपाल सरकारको १/२ अस्पतालमा मात्रै क्याथल्याब सेवा हुन्छ । र, यसबाट सयौं बिरामीहरुको ज्यान बचिसकेको छ । एन्जियोग्राफी, एन्जियोप्लाष्टी, पेसमेकरको सेवा दिइरहेका छौं । हालसालै हामीले न्यूरो सर्जरी सेवा पनि सुरु गरेका छौं ।


अरु पनि सेवा बिस्तार गर्नका लागि स्थानको अभाव छ । हामीसँग शल्य चिकित्सकहरु आबद्ध हुन इच्छुक हुनुहुन्छ । तर, हामीले उहाँहरुलाई शल्यक्रिया कक्ष दिन नसक्ने भएर अहिले होल्ड गर्नु परेको अवस्था छ ।
भेरीमा नयाँ इन्डोर ब्लक निर्माणाधिन छ । त्यसको निर्माण सम्पन्न भएसँगै भेरी अस्पताल बिस्तारका केही गतिरोध जुन थुनिएर, बुझिएर बसेका थिए । त्यो गतिरोधहरु निकास भएर नयाँ दिशा र नयाँ गतिमा अघि बढ्छ भन्ने मैले विश्वास लिएको छु ।


भेरीमा भरपर्दो सेवाको सुनिश्चितता कहिले होला ? ताकि अन्य ठाउँमा रेफर भएर जानु नपरोस् !
यो सबै पहल र प्रयासनै त्यसैका लागि हो । अहिलेको लागि मेडिसिन, सर्जरी, छालारोग, अर्थोपेडिक, कार्डियोलोजीमा चाहिँ यो भेगका बिरामीहरु बाहिर जानु पर्छ जस्तो मलाई लाग्दैन । जुन कुरामा जटिलका खालका उपकरणहरु चाहिनसक्छन्, जहाँनेर हाम्रा डाक्टरहरुको पहुँच, अनुभव निखारिइ सकेको छैन, ती कुरामा अझै एकाध बर्ष बाहिर जानुपर्ने अवस्था रहेतापनि यसपाली जुन संगठनिक संरचना स्वीकृत गराएको छ, विशिष्ट मौलिक, रणनीतिक हिसाबले पनि अबको पाँच बर्षमा भेरी अस्पतालमा करिब करिब सबै विभागको, सबै रोगहरुको एउटा उपचार हुन्छ भन्ने कुरामा म विश्वस्त छ ।

एउटा कुरा त हो नि, भेरी अस्पतालको प्रगतिमा ढिलाई भैरहेको छ । अपेक्षित प्रगतिका लागि सरकारले कसरी सम्बोधन गर्दा राम्रो होला ?
भेरी अस्पताल वीर अस्पताल जत्तिकै पुरानो अस्पताल हो । साँच्चै भन्ने हो भने देशकै ठूलो र रेफरल केन्द्रीय अस्पतालका रुपमा खुशी हुनुपर्ने अवस्थामा छ र वीर अस्पताल अहिले ? म यसमा सहमत छैन । केन्द्रीय सत्ता प्रणालीले आफ्नो मुटुमै राखेको वीर अस्पताल त हामीले सोचे जति छैन ।

भेरी अस्पताल त केन्द्रीय सत्ता प्रणालीबाट ओझेलमा परेको ठाउँ नै हो । उमेरले हामी बिहीबार १३२औं बार्षिकोत्सव मनाइरहेपनि स्वास्थ्य प्रणालीले सुरुदेखि लय समातेको त होइन । २०४६ सालको परिवर्तन पछि बल्ल मानिसहरुलाई अस्पतालका बारेमा जानकारी भयो, सडक पहुँचले आउने क्रम बढ्यो । सेवा, सुविधा थपिंदै गयो । अस्पताल भयो भने उपचार पाइँदो रहेछ बाँचिदो रहेछ भन्ने भयो । पछिल्लो दुई बर्षपछि बल्ल अस्पतालहरु इम्प्रुभमेन्ट हुनुपर्दो रहेछ भन्ने मान्यता स्थापित भएको हो ।


सुरुसुरुमा भेरीले आफ्ना व्यवस्थापक डायनामिक पायो होला, कोही कार्यकाल मात्रै बिताउने, विभागमा आउन नचाहने पनि पायो होला । त्यसकारण धेरै ठूलो प्रगति भएन । तर, पछिल्ला पाँच/सात बर्षमा जति प्रगति भयो त्यो उत्साहप्रद लाग्छ मलाई ।


तपाईंको उत्साहप्रद अवस्था जोगाई राख्न राजनीतिक वृत्तसँगका अपेक्षा के छन् ?
नेपालगन्जको राजनीतिक वृत्त मलाई चाहिँ पोजेटिभ नै लागिरहेको छ । बन्दै गरेको बिल्डिङ पनि नेपालगन्जबाटै माननीय इस्तियाक राईज्यू भौतिक योजना मन्त्री हुँदा उहाँको विशेष पहलमा एकदमै दु्रत गतिमा सुरु भएको प्रोजेक्ट हो ।

त्यसबाहेक पनि सत्ता र विपक्षी पार्टीमा रहनुभएका सबैले अस्पताललाई सुधार गर्यो भनेमात्रै पब्लिकले सेवा पाउने हो भन्ने कुराहरु स्थापित भैसकेको छ । हामीले कोभिडमा गरेको कामबाट पनि यो कुरालाई थप बल पुगेको छ । यसकारण सबैले सहयोग गरिरहनु भएको छ । यो माहोल बिग्रेन भने भेरी अस्पतालले अझै नयाँ उचाई चुम्नसक्छ भन्ने मलाई लाग्छ ।

भेरीलाई मेडिकल कलेज बनाउने कुरा बेलाबेला सतहमा आउँछ, तपाईंका दृष्टिमा भेरीको भविष्य कस्तो हुनपर्ला ?
भेरी अस्पताल एउटा विशिष्ट हुनुपर्छ । बेड ५ सय पनि कम हो, १ हजार बढी भयो भने पनि हाम्रो आवश्यकता पूरा होलान् बल्ल । र, यसलाई मेडिकल कलेज बनाउने वा के बनाउने भन्ने मोडालिटीका कुरा हुन् । पक्कै पनि शैक्षिक गतिविधि लागु भयो भने बिरामीले पाउने सेवामा उल्लेख्य सुधार हुन्छ ।


डाक्टरको टे«निङ भयो भने नयाँ डाक्टर उत्पादन हुन्छन् । म यो भन्दै गर्दा के भन्छु भने निजी र सरकारी अस्पतालले यथेष्ट रुपमा एमबीबीएस उत्पादन गर्न थालिसकेको अवस्थामा हामी फेरि एमबीबीएस उत्पादन तर्फ लाग्नु हुँदैन । हामीले एमबीबीएस पढाई हुने खालको मेडिकल कलेजको कल्पना हिजो अस्पतालको अध्यक्ष हुँदा पनि र अहिले मेसु हुँदा पनि होइन ।


एमडी, एमएस, बिएम र एमसीएस यस्तो खालको विषयगत रुपमा विशेषज्ञता हासिल गर्ने तालिम केन्द्रको रुपमा भेरी अस्पतालले आफुले आफुलाई विकास गर्नुपर्दछ । विशेषज्ञ अस्पताल उत्पादन गर्ने क्रममा हामीले एक हिसाबले जनशक्ति पनि पाइरहेका हुन्छौं भने तीनले बिरामीको उपचारमा गुणात्मक सुधार ल्याउँछ ।


भेरी अस्पताल १ हजारदेखि १५ सय शैय्याको विशिष्टिकृत अस्पताल हुनुपर्दछ । यो मेडिकल कलेज भन्दा पनि विशिष्टिकृत तालिम सञ्चालन गर्ने शैक्षिक केन्द्रका रुपमा यसको विकास गरिनु पर्दछ । नकी एमबीबीएस पढाउने मेडिकल कलेज ।

आज वार्षिकोत्सव, तपाई अस्पताल प्रमुखका हैसियतमा दैनिक नेपालगन्ज मार्फत बाहिर जाओस् भन्ने केही कुरा छन् ?
धेरै बर्ष यहाँहरुले धैर्य गरेर कुर्नु भयो । अब एकाध बर्ष अझै धैर्य गरौं । रचनात्मक सुझाव छन् भने दिन न हिच्किचाउँ । सरकार पनि अस्पताल सुधार गर्न लागि परेको छ । त्यसकारण सबैजना मिलेर एक प्रकारको पारस्परिक रुपमा सबै अगाडि बढ्यो भने भेरी अस्पतालले फड्को मार्न सक्छ । त्यही नै अहिलेको कार्यदिशा हो । त्यही नै नयाँ सोंच, नयाँ दिशाको एउटा थीम हो । (सान्दर्भिक भएकाले आजको dainiknepalgunjबाट लिइएको)

प्रतिक्रिया

प्रतिक्रिया