१३२औं वर्षमा भेरी अस्पताल : विशिष्टिकरण पथ

वि.सं. १९४७ सालमा पृथ्वी–वीर डिस्पेन्सरीको रुपमा स्थापना भएको भेरी अस्पताल नेपालगन्ज अस्पताल २०१६ सालमा पृथ्वी–वीर अस्पताल रत्नराज्य लक्ष्मीदेवी प्रसूति गृह हुँदै २०२२ सालमा भेरी अञ्चल अस्पतालका रुपमा परिणत भएको थियो । आज बिहीबार भेरी अस्पताल १३२ औं स्थापना दिवस मनाउँदैछ ।

समयसँगै अस्पतालमा बिरामी बढ्दै गएपनि अपेक्षित रुपमा सेवा थप्न नसकेको अस्पतालले विगत ५/७ बर्षमा भने योजनाबद्ध ढंगले योजना बढाएर अघि बढेको छ । चाहे त्यो अस्पतालबाट उपलब्ध हुने सेवा होस् वा पूर्वाधार, उपकरण र जनशक्ति । अस्पतालले आम नागरिकको विश्वास मात्रै जित्दै गएको छैन त्यसलाई बढाउन र कायम राख्नका लागि स्तरोन्नती पनि गर्दै आएको छ ।


पश्चिम नेपालको केन्द्र मानिने सहर नेपालगन्जमा निजी अस्पताल थपिंदै र सेवाहरु थप्दै गर्दा भेरी अस्पताल त्यो गतिमा हालसम्म प्रगति भने गर्न सकेको छैन । केन्द्रीय सरकारको प्राथमिकतामा नपरेका कारण अस्पतालले चाहे जति प्रगति गर्न नसकेको सम्बद्ध बताउँछन् ।

काठमाडौंको वीर अस्पताल र भेरी एकै बर्षमा स्थापना भएका अस्पताल हुन् । तर, वीरको सेवा र भेरीको सेवामा तुलना गर्न मिल्ने अवस्था नै छैन । त्यसको कारण सरकारमा दल फेरिंदै गए तर भेरी अस्पतालको स्तरोन्नतीमा ध्यान नै दिइएन । उसो त वीर अस्पताल पनि नेपालका अन्य अस्पतालबाट रेफर गरिने अस्पताल चाही होइन । त्यसो नभएपनि वीर यति अगाडि छ कि भेरीसँग तुलना नै गर्न मिल्दैन ।


भेरी अस्पतालले विगत ५/७ बर्षमा स्वास्थ्य सेवामा तुलनात्मक प्रगति गर्दै छ । सरकारी अस्पतालको आवश्यकता कोरोनाका लहरमा पुष्टि भयो । किन सरकारी अस्पताल आवश्यक पर्दछ, सरकारी अस्पतालको भर नै पर्नु पर्दछ भन्ने कोरोनाका बेलामा भेरीले गरेको कामबाट पुष्टि भएको छ । महामारीको संकटका बेला निजी क्षेत्रले स्वास्थ्य सेवा ठप्प पार्दा भेरी अस्पतालले भने एक कदम अगाडि बढेर सेवा दिन उद्दत भयो । त्यतिखेर अस्पताल व्यवस्थापन, प्रशासन, स्वास्थ्यकर्मीले सेवा अब्बल बनाउनका लागि निकै प्रयास गरेका थिए ।


सरकारी अस्पतालको आवश्यकता सँगै त्यसको स्तरोन्नती तर्फ सबैको ध्यान केन्द्रित गरेको छ । अस्पतालका सवालमा स्थानीय राजनीतिक दल, जनप्रतिनिधिको सपोर्टपूर्ण प्रयासले अहिले अस्पताल विशिष्टिकरण पथमा रहेको छ । ‘गर्नुपर्ने काम धेरै छन्, अस्पतालले स्तरोन्नतीको लय समातेको छ’, अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले भने, ‘अस्पताल अहिले योजनाबद्ध ढंगले अगाडि बढेको छ ।’


तीन प्रदेशबाट भेरी अस्पतालमा बिरामी उपचारका लागि आउने गर्दछन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १ लाख बढी बिरामी बार्षिक रुपमा भेरी अस्पतालको सेवा लिन आउने गरेका छन् ।


‘विगत दुई बर्षमा अस्पतालले गरेका कार्यका कारण न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा देशभरमै संघीय अस्पतालहरुमा सबैभन्दा उत्कृष्ट बनेको छ’, अस्पतालका पूर्व मेसु समेत रहेका डा. प्रकाश बहादुर थापाले भने, ‘अघिल्लो बर्ष मूल्यांकनमा ६१ प्रतिशत अंक सहित संघीय अस्पतालहरुमा प्रथम स्थान पुगेको भेरी अस्पतालले यस बर्ष पनि ६७ प्रतिशत अंक सहित प्रथम स्थान कायम राखिरहन सफल भएको छ ।’


सरकारले २०७७÷७८ को बजेटका क्रममा भेरी अस्पताललाई ५ सय बेडको पूर्वाधार तयार गरेर विशिष्टिकृत सेवा प्रदान गर्ने अस्पतालको रूपमा विकास गर्ने भनेर सम्बोधन गरेको थियो । ‘त्यसै अनुसार २ सय ५० बेड क्षमताको एउटा भवन अन्तिममा छ, अर्को भवन योजनामा छ’, व्यवस्थापन समितिका सदस्य श्रेष्ठले भने ।


अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले अस्पतालले पाँच सय शैयाको ७ तले भवन निर्माणको योजना रहेको उल्लेख गर्दै हेलिप्याड र अन्डरग्राउण्ड पार्किङसहितको अर्को अत्याधुनिक भवन निर्माणका लागि प्रक्रिया सुरु गरेको बताउँछन् । त्यसका लागि १ सय ९२ करोडको लागत इस्टिमेट तयार भैसकेको अध्यक्ष धिताल बताउँछन् ।


तीन वटा प्रदेशबाट बिरामी आउने भेरी अस्पताललाई त्यसै अनुसार बिरामीको चाप धान्न सक्ने मात्रै होइन महंगो शुल्क तिरेर निजी अस्पतालमा जानु पर्ने बाध्यताको अन्त्य गर्न स्तरवृद्धि हालको आवश्यकता भएको अस्पताल व्यवस्थापन समितिका सदस्य श्रेष्ठ बताउँछन् । ‘स्वास्थ्य सेवा सरकारको दायित्व हो, त्यसैले भेरीको स्तरवृद्धिमा सरकार गम्भीर हुनुपर्छ’, उनले भने, ‘अहिले पनि बिरामी भारत जाने गर्दछन्, हामीले यही आफ्ना नागरिकलाई सेवा दिएर मुद्रा विदेशिन समेत रोक्न सक्छौं ।’ त्यसका लागि स्वास्थ्यमा लगानी बढाउनु पर्ने श्रेष्ठ बताउँछन् ।


सेवा थपिंदै जाँदा बिरामीहरु काठमाडौं र भारतका विभिन्न सहर जानुपर्ने बाध्यता भने कम हुँदै गएको छ । ‘अस्पतालले कोरोनाका बेला काम गरेर धेरै विश्वास आर्जन नगरेको छ’, अस्पताल व्यवस्थापन समितिका सदस्य श्रेष्ठ भन्छन्, ‘सेवा र त्यसका लागि उपकरण समेत थपिएको छ, कतिपय रोगका बिरामी अहिले भेरीमा आएर फर्किनु पर्ने बाध्यता हटेको छ ।’

भेरी अस्पतालबाट राज्यले विभिन्न रोगको सहुलियत उपचारको सेवा पनि दिंदै आएको छ । सरकारको कार्यक्रम अनुसार कतिपय सेवा निःशुल्क रहेको छ । हालै निजी स्वास्थ्य संस्थाले पैसा नपाएकै कारण बीमा कार्यक्रम बन्द गर्दा भेरी अस्पतालले पैसा नपाएपनि सेवा बन्द गरेको छैन ।

अहिले बीमा कार्यक्रम मार्फत उपचार गराउने चाप भेरीमा बढिरहेको अस्पताल विकास समितिका अध्यक्ष धिताल बताउँछन् । भेरीमा पैसाकै अभाव उपलब्ध सेवाबाट वञ्चित हुनु नपर्ने अवस्था छ । सरकारको कुनै न कुनै स्वास्थ्य कार्यक्रमबाट विपन्नले सहुलियत पाउने व्यवस्था भेरी अस्पतालमा कार्यान्वयनमा छ ।


अस्पताल व्यवस्थापन समितिका सदस्य श्रेष्ठ अस्पताल विशिष्टिकृत अस्पतालका रुपमा अगाडि बढाउने सरकारको घोषणासँगै माष्टर प्लान बनाएर अगाडि बढेको बताउँछन् । उनी एमडीको अध्यापन गराउने गरी अस्पतालले आफ्ना योजना बनाएको बताउँदै अस्पतालको स्तरोन्नतीमा सबैको साथ आवश्यक रहेको बताउँछन् ।


भेरी अस्पतालसँग हाल ९ विगाह जग्गा रहेकाले अस्पतालका योजना कार्यान्वयनका लागि जग्गाकै अभाव भने नहुने अवस्था छ । ‘अपुग भए सरकारले त्यसको व्यवस्था गर्न सक्छ’, सदस्य श्रेष्ठ भन्छन्, ‘अस्पताल परिसरमा नै करिब ६ विगाह जग्गा छ, क्याम्पस अगाडि १ विगाह, भृकुटीनगरमा २१ कठ्ठा गरी करिब ९ विगाह जग्गा अस्पतालको नाममा छ ।’ सदस्य श्रेष्ठ अस्पतालको सौन्र्दयीकरणको काम समेत भैरहेको उल्लेख गर्दै त्यसका लागि विकास समितिले योजना अनुसार काम गर्ने जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया