बाँकेको कोहलपुर–१४ पार्वतिपुरमा दुई जनाको हत्या घटनामा प्रहरी अनुसन्धानले तिब्रता पाएको छ । मंगलबार एकाविहानै दुई जना मृत्यु भएको खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको टोली घटना स्थल पुगेर अनुसन्धान सुरु गर्यो ।
हत्याको आशंका पछि सुक्ष्म अनुसन्धानका क्रममा मृतक कृष्णका दाजु विजयलाई केरकार गर्दा हत्याको योजना बनाई सुपारी समेत दिई मार्न लगाएको खुलेको हो ।
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक ऐन बहादुर मल्लले घटना अनुसन्धानमा आफैले कमाण्ड गरे । घटनाको जानकारी पाएको ६ घण्टामै प्रहरीले घटनाका मुख्य अभियुक्त किटान गर्यो, साँझ ४ बजे पत्रकार सम्मेलन गरी हत्या घटनाको बिस्तृत रुपमा जानकारी गरायो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख मल्लले अन्दाजी २५ बर्षीय कृष्ण कुमार गडरिया र उनकी श्रीमति अञ्जली गडरिया मृत रहेको सूचना पाएपछि प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान सुरु गरेको बताउँछन् । उनी भन्छन्, ‘घटनास्थल पुग्दा घटना आत्महत्या नभई हत्या जस्तो देखिएपछि सम्भावित दोषीको खोजी सुरु गरेका थियौं ।’
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, हत्याको आशंका पछि सुक्ष्म अनुसन्धानका क्रममा मृतक कृष्णका दाजु विजयलाई केरकार गर्दा हत्याको योजना बनाई सुपारी समेत दिई मार्न लगाएको खुलेको हो ।
प्रहरी स्रोतका अनुसार, पहिले भारतीय नागरिकलाई नानपारा पुगेर सुपारी दिएको बताउने मृतकका दाईले नेपाली दुई जना ‘किलर’लाई बोलाएर कृष्ण र उनकी श्रीमति मारेको खुलेको छ । त्यसकार्यमा संलग्न लग्दहवाका साविर अलीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
‘उनको टाउकोमा लागेको चोटले पनि मृतकको संघर्षको निशानी देखिन्छ,’ अनुसन्धानमा खटिएका प्रहरीले दैनिक नेपालगन्जसँग भने । यद्यपि, प्रहरी नियन्त्रणमा रहेका विजयले आफ्नो बयान पटकपटक बदलिरहेकाले हत्यामा संलग्न अन्य व्यक्ति मंगलबार पक्राउ गर्न प्रहरीलाई सकस भएको थियो । प्रहरीले घटनामा तीन/चार जना संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।
‘मृतकका दाजु, भाउजु र मार्नका लागि खटाइएका एक व्यक्ति पक्राउ गरेका छौं’, प्रहरी नायब उपरीक्षक मल्लले भने, ‘मंगलबार अबेर नियन्त्रणमा लिइएका व्यक्तिको हत्यामा रहेको भूमिका बारे अनुसन्धान गरिरहेका छौं ।’ प्रहरी स्रोतले नियन्त्रणमा परेका तेस्रो व्यक्तिको शरीरमा चोट समेत देखिएकाले हत्याका क्रममा मृतकले संघर्ष गरेको र सोही क्रममा चोट लागेको हुनसक्ने अनुमान गरेको छ ।
‘प्रारम्भिक बयानमा खुलेका व्यक्तिको खोजि गरिरहेका छौं’, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख मल्लले भने, ‘अभियुक्त सबै पक्राउ गर्न प्रहरी टोली खटिएको छ ।’ प्रहरीले हत्याको सुपारी दिएको भने पुष्टि गरेको छ । ‘हत्याका लागि पैसा दिनेको खुलेको छ, प्रारम्भिक बयानमा दुई लाख भन्ने आएको छ, थप केही अनुसन्धान पछि खुल्दै जानेछ’, प्रहरी नायब उपरीक्षक मल्लले भने । हत्यामा नेपालीनै संलग्न भएको चाहिं प्रष्ट देखिएको छ, प्रहरीको भनाइ छ । ‘बाँकी अझै अनुसन्धानबाट खुल्दै जान्छ,’ डिएसपी मल्लले अबेर राती भने ।