शंकास्पद खनिजसहित मानिस पक्राउ

जाँचका लागि पठाइयो भू–गर्भ विभाग

भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको नेपालमा युरेनियम खोजी गर्न सक्रिय रहेको समाचार आइरहँदा बाँके प्रहरीले एउटा रहस्यमा हात हालेको छ ।

इन्टरनेटबाट लिइएको सांकेतिक तस्विर


बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीको प्रत्यक्ष सक्रियतामा बाँकेको दक्षिण पश्चिम सीमामा चार जनालाई पक्राउ गरेको हो । दुई दिनदेखि गरेको अपरेशनबाट प्राप्त परिणामबारे प्रहरीले घटना पुष्टिसम्म गर्न चाहेन ।

शनिवार अपरान्ह खजुरा गाउँपालिका–१ को सैनिकगाउँ सेरोफेरोमा भएको उक्त घटनाबारे बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अधिकारी केही बोल्न चाहेनन् । ‘त्यस्तो तपाईहरुलाई जानकारी गराइहाल्ने खालको केही घटना छैन,’ प्रहरी उपरीक्षक अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘केही भए भनिहालिन्छ नि !’


भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली डेढ सातादेखि नेपालमा सक्रिय रहेको समाचार यसअघिनै प्रकाशमा आएको थियो ।
समाचारमा उल्लेख स्रोतका अनुसार, भारतीय सुरक्षाकर्मीको टोली नेपालमा एउटा गिरोहसँग रहेको भनिएको २७ किलो युरेनियमको खोजीमा छ ।

‘भारत छिर्न ठिक्क परेका चारजनालाई केही सामान सहित शनिवार सादा पोशाकका प्रहरीले समातेर नेपालगन्जतिर लगेका छन्,’ स्थानीय स्रोतले दैनिक नेपालगन्जसँग भन्यो । पक्राउ परेका भारतीय हुनसक्ने अनुमान छ । तर, प्रहरी स्रोतले भने ‘भरिया जस्ता देखिएकाले पनि शंकास्पद खनिज पदार्थ युरेनियम हुनेमा शंका गरिएको’ तर्क गर्यो ।


सार्वजनिक भएको समाचार अनुसार, सुरुमा भारतीय अधिकारीले काठमाडौँमै युरेनियम भएको सूचना पाएको भन्दै त्यसको जानकारी नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई दिएको थियो । यी निकायबाट केही जानकारी नआएपछि भारतीय प्रहरीले सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोलाई पनि यसबारे सूचना दिएको समाचार केही दिनअघिमात्रै नागरिक दैनिकलाई उद्धृत गर्दै रातोपाटी अनलाइनले प्रकाशित गरेको थियो ।


सशस्त्रको इन्टेलिजेन्स ब्युरोले काठमाडौंमा यसको कारोबार हुन सक्ने भन्दै खोजी गरिरहेका बेला भारतीय टोली नेपालको सुरक्षा निकायसँग समन्वय गर्दै यहाँ आएको स्रोतको दाबीसहित समाचार प्रकाशित छ । तर, अबैध नाका हुँदै भारततर्फ जाँदै गरेका चार जनालाई शंकास्पद बस्तुसहित पक्राउ गरेको बाँके प्रहरीले सत्य जाँचका लागि बस्तु खानी तथा भू–गर्भ विभाग पठाएको छ ।

‘शंकास्पद खनिज बस्तुको परिक्षणपछिमात्रै केही भन्न सकिन्छ,’ घटनामा सत्यता संकेत गर्दै प्रहरी स्रोतले दैनिक नेपालगन्जसँग भन्यो, ‘शंकास्पद खनिज परीक्षणका लागि खानी तथा भू–गर्भ विभागमा पठाइसकिएको छ, आइतवारसम्म नतिजा आइसक्छ ।’


सम्बद्ध जानकारहरुका अनुसार, बरामद गरिएको शंकास्पद खनिज युरेनियम हो भने यसले निकै ठुलो अर्थ राख्छ । युरेनियम एउटा धातु हो । जुन धातु भू–गर्भ तथा समुद्रमा पनि पाइन्छ । रसायनशास्त्रीहरूले यसलाई ’हेभी मेटल’को वर्गमा राखेका छन् । यो ११३२ डिग्री सेल्सियस तापक्रम पुगेपछि मात्र पग्लिन्छ ।


यो धातुबाट विकिरण उत्पन्न हुने भएकाले ऊर्जा उत्पादन गर्न तथा आणविक अस्त्र बनाउन प्रयोग हुने गरेको छ । चिकित्साक्षेत्रमा पनि यो प्रयोग हुन्छ । बाँके प्रहरीले घटना किन बाहिर ल्याउन चाहेन ? प्रहरी स्रोत भन्छ, ‘निकै ठुलो विषय भएकाले यसलाई पहिलो कुरा परीक्षणबाट पुष्टि गर्नुपर्ने हुन्छ, दोस्रो कुरा प्रहरी हेडक्वाटरले यसमा विशेष चासो राखेर आफै ह्याण्डिल गर्न सक्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया