नेपालगन्जमा लू को प्रभावबारे अध्ययन

नेपालगन्जको तापक्रम र तातो हावा (लु) बारे अध्ययन थालिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले बढ्दो तापक्रम तथा लु न्यूनिकरणका लागि आवश्यक कदम चाल्न त्यसको प्रभाव अध्ययन थालेको हो ।

नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले नेपालकै सबैभन्दा बढी गर्मी हुने नेपालगन्ज शहरलाई हिटवेभ सम्बन्धी अध्ययन भइरहेको र अध्ययन प्रतिवेदनको आधारमा योजनाबद्ध तरिकाले काम आगाडी बढाउने बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा लू (तातो हावा) सम्बन्धी ज्ञान आदान प्रदान कार्यशाला विहीवार नेपालगन्जमा नगर प्रमुख विष्टले लूको प्रभाव कम गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए ।

कार्यशालामा नेरेसोले नेपालगंजलाई केन्द्रित गरी लू सम्बन्धमा गत वर्ष गरेको अनुसन्धानात्मक अध्ययनको निष्कर्षहरु प्रस्तुत गरिएको थियो । अनुसन्धानमा नेपालगन्जका उच्च तापक्रम भएका वडाहरु, लू को कारण संकटासन्न वडा एवं समूह, यसले पारेको असर तथा प्रभाव न्यनिकरणका लागि गरिएका गतिविधिहरु र आगामी दिनमा गर्न सकिने पहलहरुको बारेमा विस्तृत प्रस्तुतिकरण गरिएको थियो ।

कार्यशालामा सहभागी अधिकाँश व्यक्तिहरुले हिटवेभको प्रभावलाई कम गर्न स्थानीय तहले सक्रियता देखाउनु पर्ने, जलसंचय हुने पोखरी र तालहरु संरक्षण गर्नुपर्ने र खुला स्थानमा बृक्षारोपण गरी हरियाली गर्नुपर्ने कुरामा जोड दिए ।

नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले हिटवेभ र सुपर कार्यक्रमको बारेमा चर्चा गर्दै समुदायको क्षमता विकासमा रेडक्रसले सहयोग गर्ने बताए ।

नेपाल रेडक्रस सोसाइटी विपद् तथा संकट व्यस्थापन विभागका निर्देशक विपुल न्यौपानेले हिटवेभ सम्बन्धी नेपालगन्ज बासीहरुसंग गरिएको छलफल र नेपाल सरकारको निकायले दिएको तथ्यांकको आधारमा हिटवेभको रिर्पोट तयार भएको जानकारी दिए ।

फिनिस रेडक्रसका शुष्मा श्रेष्ठले हिटवेभ अरु विपद् जस्तो तत्काल क्षति नदेखिएतापनि मानव स्वास्थ्यमा बढी असर पर्ने गरेको बताउदै विभिन्न देशमा त्यहाँका सरकारसंग मिलेर रेडक्रसले हिटवेभ सम्बन्धी कार्यक्रम संचालन गरिरहेकोे जानकारी दिइन् ।

नेपाल रेडक्रसले नमुनाका रुपमा नेपालगन्जमा संचालन गरिरहेको हिटवेभ प्रतिकार्य कार्यक्रमबाट जनचेतनामुलक गतिविधि संचालन भएको बताइएको छ ।

कार्यक्रममा परामर्शकर्ता आश्मा सुवेदीले अध्ययन प्रतिवेदन र युनिसेफका नरेश निदालले शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाको समुुदाय स्तरको अध्ययन प्रतिवेदन र हाइड्रोलोजिकल सम्बन्धी प्रस्तुति गरे । कार्यक्रम सहजीकरण सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले गरेका थिए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका विपद् संयोजक समीर प्रताप सिंह, कार्यपालिका सदस्य बन्सत कनौजिया, नेरेसो बाँकेका उपनिर्देशक दोलखबहादुर डाँगी लगायतले पनि धारणा राखेका थिए । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुखसँगै कार्यपालिका सदस्य, वडाअध्यक्ष र नेरेसो शाखा तथा उपशाखाका पदाधिकारीहरुको कार्यक्रममा सहभागिता रहेको रेडक्रस अधिकृत प्रहलाद विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया