क्षणभरकै झरीले जलमग्न सडक

दण्डनीय नहुँदा नालामा सोझै फोहोर फ्याँकिने क्रम उस्तै छ, जसले वर्षात् हुनासाथ नेपालगन्जका सडक जलमग्न हुने गरेका छन् । बेलाबेला उपमहानगरपालिकाका नाला सफा गर्दै आएपनि केही समयमा उस्तै हुने गरेको छ ।

चर्काे गर्मीले आहत नेपालगन्जमा बुधवार विहान परेको मुसलधारे झरीले निकै राहत दियो । त्यो राहतको अनुभूतिमा रमाएको केही बेरमैं सहरका सडक जलमग्न भए, घर पसलमा नालाको फोहर पानी पसेर हारगुहार शुरु भयो । पहिलो एक घण्टामैं ८६ मिलिमिटर पानी पर्दा नेपालगन्जका सबैजसो सडक जलमग्न भए, नालाले वर्षात्को पानीलाई स्वाभाविक निकास किन दिन सकेन ?

नालामा जथाभावी प्लाष्टिकजन्य सँगै अन्य फोहोर आम नागरिकले बिसर्जन गर्दै आएपनि दण्डनीय नहुँदा नालामा फोहोर फाल्ने कार्य निरुत्साहित हुन सकेको छैन । नालामा फोहोर फाल्नेलाई कारवाही गर्ने अधिकार स्थानीय तहसँग रहेपनि कडाईका साथ निषेध नगर्दा समस्या घट्ने भन्दा बढ्दो रहेको छ ।

केही बेरको झरीमा नगरका विभिन्न भाग जलाम्मे हुनुको एउटा प्रमुख कारण नालामा प्लाष्टिकजन्य फोहोर फालिनु पनि हो । अर्को कारण ठुलो झरीको पानी थेग्न नसक्ने गरी बनाइएका साना नाली हुन् । ‘जबसम्म नालामा फोहर, प्लाष्टिक फाल्ने बानी छुटाउन सकिन्न, कुनै दातृ निकायले लाना बनाइदिएपनि यस्तै अवस्था हो,’ एडीबीको सडक नाला निर्माणताका परियोजनामै रहेर प्राविधिक परामर्शमा सक्रिय भूमिका खेलेका इन्जिनियर शैलेन्द्र कुमार महर्जन भन्छन्, ‘नालामा फोहर फाल्ने बानी सुधार गर्न सकेमात्र पारलाग्छ, अन्यथा जति गरेपनि केही हुन्न ।’

सडक तथा नाला बनाउने क्रममा विभिन्न ठाउँमा घरधनीले आवश्यक क्षेत्रफल नछाड्दा पनि नाली निकै सानो बनेको पाइन्छ । जसका कारण ठूलो झरी पर्दा होचो ठाउँमा रहेका बजारकै केही क्षेत्र जलाम्मे हुने गरेका छन् । नेपालगन्जको घरबारीटोलमा नाली निकै सानो छ । जसका कारण ठूलो झरी पर्दा पसलमा भित्रै पानी तालिने गरेको र व्यवसायीको नोक्सानी समेत हुने गरेको छ । ‘यो समस्या समाधान नहुनुमा गुरुयोजना भन्दा भोटबैंक हेरेर काम गरेजस्तो लाग्छ,’ कतिपय ठाउँको उदाहरण राख्दै शुभ क्षेत्रीले दैनिक नेपालगन्जको फेसबुक ग्रुपमा लेख्छन्, ‘नाला मिचेर बनेका धेरै संरचना (घर)ले राजनीतिक संरक्षण पाएका छन्, गुरुयोजना अनुसार ढल बन्योभने नेपालगन्जले डुबान भोग्नु पर्दैन ।’ उनको तर्क छ, सडकको पानीमात्रै बग्ने हिसाबले बनेको नालाले बर्षात्को पानी थेग्दैन ।

यसअघिको जनप्रतिनिधिको कार्यकालमा सडकमा जथाभावी फोहोर फाल्ने र नाली पुरिने गरेर फोहोर फालेको फेला परेपछि जरिवाना गरिएको समाचार प्रकाशमा आएको थियो । तर, केही समयको निगरानीपछि चासो दिन छाडिएपछि अवस्था उस्तै भएको छ । खड्ग बहादुर बोहराको भनाइ भने, समयमै नालीको सफाइ नहुनुलाई यो अवस्थाको कारक मान्छन् । ‘दोस्रोपटक ३५ एमएमको वर्षा भयो भने डुबान पक्का छ,’ बिकास भट्टराई लेख्छन्, ‘पहिलो चरणको पानी जमिनले सोसेको छ ।’

लामो समयपछि नेपालगन्जमा बुधबार ठूलो झरी पर्यो । यसअघि परेको झरीका कारण घरबारीटोल जलाम्मे भएको भन्दै नाला सरसफाई गर्नका लागि स्थानीयले हालै सम्पन्न नेपालगन्ज उपमहानगरपालिकाको सार्वजनिक सुनुवाईमा ध्यानाकर्षण पनि गराएका थिए । त्यसक्रममा नेपालगन्ज उपप्रमुख कमरुद्दिन राईले नाला सफाई भैरहेको र नालामा प्लाष्टिकजन्य फोहोर नफाल्न अनुरोध गरेका थिए । उनले नालामा फोहोर फल्दा जति सफा गरेपनि अवस्था उस्तै हुने भन्दै तोकिएको ठाउँमा फोहोर फाल्न तथा फोहोर उठाउने ट्याक्टरमा राखिदिन आग्रह गरेका थिए ।

उपप्रमुख राई मात्रै होइन यसअघिका जनप्रतिनिधिले पनि नालामा फोहार नफालिदिन आग्रह गर्दै आएका थिए । जनप्रतिनिधिको आग्रहमा अटेरी हुँदा पनि कारवाही तर्फ भने उपमहानगरपालिका अगाडि बढेको छैन । ‘नालामा फोहोर फाल्ने कार्य दण्डनीय नहुँदासम्म अवस्थामा परिवर्तन आउने देखिंदैन’, नेपालगन्ज फुल्टेक्राका अनन्त शर्मा भन्छन्, ‘त्यसका लागि स्थानीयले पनि निगरानी गरेर फोहोर फाल्नेलाई रोक्नु पर्दछ, निरुत्साहित गर्नुपर्दछ ।’ नेपालगन्ज–१८ का किरणराज रेग्मी पनि नेपालगन्ज जलमग्न हुनुका तमाम कारण उल्लेख गर्दै, नालामा प्लाष्टिकजन्य फोहर फालिंदा समस्या सिर्जना भएको कुरालाई उजागर गरेका छन् ।

नेपालगन्जका नाला हरेक बर्षात्का बेला सफा गरिएको हुन्छ । बर्षात्का बेला पानी तालिंदा डोजरको समेत प्रयोग गरिन्छ । तर, सफा गरेको केही समयपछि नै नालाको अवस्था उस्तै हुन्छ ।

‘नेपालगन्जका नालाहरुमा स्थानीयबासीले फोहोर फालिंदिदा नाला पुरिने गरेको हो । जसका कारण बर्षातमा पानीको निकास सहजै हुँदैन र डुबान हुन्छ’, रामचन्द्र आरसीले भने, ‘ उपमहानगरपालिकाले पनि बर्षात् अघि नाला सरसफाईमा त्यति चासो लिएको पाइँदैन । उपमहानगरपालिकाले बर्षात्कै समयमा ढल तथा नाला सरसफाई गर्दै आएको छ ।’ ‘नालामा प्लाष्टिकका झोला र बोलत तैरिएको ठाउँठाउँमा देखिन्छ’, उनी भन्छन् ।

घर, पसल र होटलमा निस्केका फोहोर नालामा फालिएको पाइएपनि रोक्नका लागि ठोस पहल भएको पाइँदैन । नियमित एउटै समयमा फोहोर उठाउने व्यवस्था उपमहानगरपालिकाले गरे प्रभावकारी हुने स्थानीय बताउँछन् । ‘फोहोर फाल्ने निश्चित ठाउँ नहुँदा घर र व्यवसायबाट निस्कने फोहोर व्यवस्थापनका लागि सजिलो स्थान नाली बनेको छ’, स्थानीय भन्छन्, ‘कही थुपार्दा अवरोध गर्ने तर नालीमा फाल्दा कसैले बोल्दैनन् ।’ नेपालगन्जको फोहर व्यवस्थापनसँगै नाला सुधारका लागि डा. प्रचण्ड गौतमको सुझाव पनि सरोकारवालाका लागि मननीय छ । ‘नाला बुझिन नदिन पान गुट्काको मार्केट अलग बनाउने’, डा. गौतम भन्छन्, ‘निर्माण सामाग्री बाटोमा राख्न नदिने ।’

बुधबार नेपालगन्जका विभिन्न ठाउँ जलाम्मे भएपछि सामाजिक सञ्जालमा तस्विर पोष्ट गर्दै उपमहानगरपालिकाको आलोचना गरिएको छ । उपमहानगरपालिकाले गरेको विकासमा समेत स्थानीयले सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रश्न उठाएका छन् । यद्यपि, नालामा फालिने फोहोरका कारण हुने अवरोधले डुबान भएको तर्फ भने स्थानीयले खासै चासो राखेको पाइँदैन ।
बुधबारको झरीका क्रममा सेतुविक चोक, घरबारीटोल, न्यूरोड, त्रिवेणीमोड, इदगाह रोड लगायतका क्षेत्रका सडकमा नै पानी तालिएको थियो । उपमहानगरपालिकाले बुधबार नै नेपालगन्जका ठाउँठाउँमा नाला सफा गरेर निकास सहज बनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया