बागेश्वरीमा जीर्ण पुल, निर्माणमा बेवास्ता

नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा रहेको खडेश्वर महादेव मन्दिरमा रहेको जीर्ण पुल पुनः निर्माणमा सरोकारवाला निकायहरुहरुबाट बेवास्ता भएको छ ।

शक्तिपिठको क्षेत्रभित्र रहेको महादेवको मन्दिरमा रहेको पुल पुननिर्माणमा बेवास्ता भएपछि तत्कालीन पुनरावेदन अदालत बाँकेले २०७३ असार २२ मा एउटा आदेशमा जुँगे महादेव जाने जीर्ण पुलको पुनःनिर्माण गर्न आदेश समेत जारी गरेको हो ।

बागेश्वरी मन्दिरको व्यवस्थापनका सन्दर्भमा अदालतमा रिट समेत दायर गरेका अधिवक्ता लोक बहादुर शाहले लामो समयसम्म पनि अदालतको फैसला कार्यान्वयन नहुनु दुर्भाग्यपूर्ण भएको बताउँछन् । ‘पटकपटक बागेश्वरी मन्दिरको व्यवस्थापनका सन्दर्भमा सरोकारवालाहरु बीच कुरा उठाएको छु, अदालतको फैसला बारेमा समेत जानकारी गराएको थिए’, अधिवक्ता शाह भन्छन्, ‘तर, अदालतको आदेशको कार्यान्वयन पक्ष फितलो हुनु दुःखद् हो । ‘सम्मानित अदालतले फैसला गरिसकेको विषयमा सरोकारवालाहरु गम्भीर हुनुपर्छ’, अधिवक्ता शाह भन्छन्, ‘पुल पुनः निर्माणको विषय दर्शनार्थीको सुरक्षा सँगै मन्दिरको सौन्दर्यकरणमा पनि जोडिएको विषय हो ।’

बागेश्वरी मन्दिर क्षेत्रमा रहेको खडेश्वर (जुंगे) महादेवको मन्दिर तलाउको बीचमा रहेकाले पुलबाट आवातजावत हुने गर्दछ । पुनः पुननिर्माणको विषय उठेको ६ बर्ष बितेको छ, तर त्यसतर्फ कुनै काम भने हुन सकेको छैन ।

संघ, प्रदेश र स्थानीय तहले बागेश्वरी मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको सूचिमा अग्र स्थानमा राख्छन् । मन्दिर नेपालगन्जको समृद्धिको एउटा आधार बन्न सक्ने पनि संघ, प्रदेशका मन्त्री देखि स्थानीय तहका जनप्रतिनिधि, पयर्टन व्यवसायी लगायतबाट औपचारिक कार्यक्रममा धारणा सार्वजनिक हुँदै आएको छ । संघीय सरकारले नेपाल भ्रमण बर्षमा सय गन्तव्यको सूचि जारी गर्दा नेपालगन्जको बागेश्वरी मन्दिरलाई पनि राखेको थियो । प्रदेश सरकारले पनि धार्मिक पर्यटक आकर्षित गर्न सकिने क्षेत्रका रुपमा बागेश्वरीलाई राखेको छ । तर, मन्दिरको विकासमा ठूला योजना न त संघ, न प्रदेश र न स्थानीय तहले ठोस ठूला योजना ल्याउन सकेका छैनन् ।

‘मन्दिरको विकासका लागि चर्चा निकै हुने गरेको छ, तर एउटा पुल बनाउनका लागि बजेट विनियोजन गरेको छैनन् तीन तहकै सरकारले’, दिनेश शाही भन्छन्, ‘कुनै पनि बेला पुल भत्किएर अप्रिय घटना हुनसक्छ ।’


पर्वका बेला मन्दिरमा घुइँचो लाग्ने गर्दछ । त्यसैले एकै पटक सबैलाई प्रवेश दिइँदैन । लाइनमा सीमित व्यक्ति पुल पार गरेर खडेश्वर महादेवको पुजाअर्चना गर्न दिइयो यसपटकको साउनको पहिलो सोमबारमा । २०७८ साउनमा त महादेवको प्रवेशद्वारमा नै पुजाआजाको व्यवस्था मिलाई सोमबार महादेवको मूर्तिसम्म पुग्नका लागि रोक नै लगाइएको थियो ।
पुल निर्माणका लागि चर्चा पटकपटक हुन्छ, अनि सेलाउँछ । चले पनि त्यसका लागि ठोस काम भने हुन सकेको छैन । जीर्ण पुल नबनाएको भन्दै भक्तजनहरुले आलोचना गर्दै आएका छन् ।


पुल निर्माणका २०७३ सालमा योजना अघि बढाएपनि कार्यान्वयन भने हुन सकेछ । २०७४ बैशाख १५ गते पुलको डिजाइनका सम्बन्धमा सर्वपक्षीय छलफलसमेत गरिएको थियो । तत्कालीन समयमा एरिना डेभलपमेन्ट कन्सल्ट प्रालिले तयार गरेको डिजाइनबारे छलफल गरिए पनि त्यसपछि काम भने अघि बढ्न सकेको थिए ।

आर्थिक वर्ष २०७५/०७५ मा जिल्ला समन्वय समितिले खडेश्वर महादेव मन्दिरमा जानका लागि पुन निर्माण गर्न भन्दै २० लाख बजेटसमेत विनियोजन गरेको थियो । जुँगे महादेवको मन्दिरलाई बागेश्वरी मन्दिरकै ढाँचामा र पुललाई दुई लेनको बनाउने मोडेल तयार पारिए पनि कार्यान्वयन नगरिएको हो ।

पुलको निकास एकैतर्फ राख्ने गरी एक तर्फबाट जाने र अर्को तर्फबाट आउने ब्यवस्थासहितको अत्याधुनिक मोडेलको पुल बनाउने तयारी गरिए पनि सो अनुसार काम भने अघि बढ्न नसकेको मन्दिर व्यवस्थापन समितिले बताउँदै आएको छ । मन्दिरमा दैनिकजसो लाग्ने भीडका कारण पनि पुलप्रति स्थानीयको चासो बढेको छ । मन्दिर व्यवस्थापन समितिले आफुसँग बजेट नभएका कारण पुल निर्माण गर्न नसकिएको बताउँदै आएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले यसअघि मन्दिर परिसरमा रहेका पसलहरुको भने व्यवस्थापन गरेको छ । मन्दिर सौन्र्दयीकरण भन्दै पार्कमा सभाहल बनाइएको छ । थप सटरहरु निर्माण गरी भाडामा लगाइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया