किसान रोएको नदेख्ने कृषिप्रधान देश

सानो छ खेत, सानो छ बारी, सानै छ जहान
नगरी काम, पुग्दैन खान, साँझ र बिहान ।।
…किसान बनी जहान पाल्ने यो मेरो रहर ।।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको यो मार्मिक कविता “किसानको रहर” अब आम नेपालीको रहर हुन छाडिसकेको छ । यो देश वास्तविक रुपमा कृषिप्रधान रहुञ्जेल यस्ता कविताहरुको महत्व निकै हुन्थ्यो । किसानका भावनाहरु साहित्यले यथार्थपरक रुपमा पस्किन सक्थ्यो । देशको अभिभावकत्व लिएको सरकारको कानसम्म किसानका भावनाहरु पुग्थे । किसानकासमस्यामा साझेदारी गर्ने ल्याकत मात्रै होइन तनमन वचन र कर्मले सरकार भ्याएसम्म लागिपथ्र्यो । अन्नदाताको चाहनामा बहाना खोज्ने कुत्सित नियत राख्ने अमिलेजस्तो चलन थिएन । देशको आर्थिक क्यालेण्डर देखि चाडपर्वहरु, सरकारी बिदाहरु सबैलाई अन्नदाताको कर्म, देशकालको मौसम र खेतीसँग जोडेर बनाइन्थ्यो, मनाइन्थ्यो । अब ती दिनहरु र त्यस्ता सोंचहरु किम्बदन्ती भैसक्न लागे । यद्दपि देशले आजपनि आफ्नो पेशा परिवर्तन गरेको भने छनक छैन ।

संसारका तेश्रो मुलुक भनिने देशहरुमा राजनीतिक ऐजेण्डा नै गरीब, किसान, मजदूरवर्ग, गरिखाने वर्ग आदि कै नामबाट गरिन्छ । आजपनि एशियाका नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अफ्गानिस्तान लगायतका देशमा राजनीतिक नेताको भाषणको केन्द्रबिन्दूमा यिनै वर्ग परेको पाइन्छ । तर दूर्भाग्य नै भन्नुपर्छ कि यो वर्ग नेताले सत्ताको ताज पहिरिने माध्यम मात्रै बनेको छ । पाँच बर्षमा एकपटक आउने किसान, गरिब प्रतिका गोहिका आँसु सत्ताको भर्याङ् उक्लिनासाथ ओझेल पर्ने गरेका छन् ।

सत्तासँगै आजको पुस्ताले कृषिलाई ‘एडभेन्चर’ मान्न थालेको छ । कृषिकर्म भनेको नितान्त शैरसपाटाको क्षेत्र, गीत गाउने, तरुणी जिस्काउने, हिलोछ्याप्ने र दहिचिउरा मात्रै खाने क्षेत्रको रुपमा बुझ्न थालिएकोे छ । यस्तो सोंच आउनुमा यो देशको शिक्षा पद्धति र कृषिलाई गैर पढेलेखेकाहरुले गर्ने पेशाको रुपमा भाष्यित गरिनु हो । राज्यले कृषिलाई ईश्वरीय कर्म, पालनहारको कर्म, मानवजातिको कल्याणको कर्मको रुपमा कहिल्यै भरिभाषित गर्न खोजेन । देशका अधिकाशं जमीन बाँझो राखेर विदेशीका आँगनमा कामखोज्ने सम्झौतामा राज्य उत्साहित हुँदै गयो । यसैलाई राज्यले जनताप्रतिको, देशप्रतिको ठूलो उपलब्धि र उत्तरदायित्व मान्न थाल्यो ।

वर्तमान अवस्थामा यो कविताका पङ्तिले न त राज्यको मन छुन्छ, न कुनै नेपालीको । पहाडतिरका पाखा पखेरा र बेंसीका उब्जाउ फाँटहरुमा समेत घाँस र झाडी पलाएको र खेतीयोग्य जमीनमा घडेरी काटेको देख्दा त झन यो कविताका ती मनछुने पङ्क्तिहरु अहिलेको पुस्ताले कुनै फिल्मको संवादका लागि मात्रै लेखिएको भनेमा अतिशोक्ति मान्नु पर्दैन ।
यो देश त कृषिप्रधान नै थियो र आज पनि सरकारको तथ्यांकले त्यहि भन्छ । देशको कुल जनसंख्याको ६६ प्रतिशत जनता कृषिमा निर्भर छन । राज्यको सकल घरेलु उत्पादनमा २७प्रतिशत लगभग कृषिको योगदान छ । तरपनि आजको पुस्ताको रहर कृषि बन्न सकेन । राज्यको दायित्व कृषि बन्न सकेको छैन । आज दालचामल मात्रै झण्डै एक खर्बको आयात गर्दै गर्दा पनि राज्य किसानप्रति उदासीन छ । पाकृतिक चपेटाले किसानको खेत बाँझो रहँदा या सरकारको अकर्मण्यताका कारण सिँहदरबारको बाटो छेकेर गाडीहरुमा मल छ कि भनेर छामछुम गर्दा राज्यको निद्रा खुल्दैन । मल नपाएर खेतमा उब्जनी नहुँदापनि राज्यको सिँहासनमा कुनै आत्मग्लानीको भाव छैन ।

आफ्नो लागि आवश्यक पर्ने कृषिजन्य बस्तुहरु आफै उत्पादन गर्ने परिपाटी र परम्परा रहिआएकै कारण हिजो राज्यको सकल घरेलु उत्पादको आँकडा नलिँदा पनि देश कृषिप्रधान भएको थियो । आफ्नो जहानपरिवारको संख्याको आधारमा के कति अन्नबाली, दुधघीउ, दालतरकारी, आलुप्याज अदुवाबेसार के कति आवश्यकता पर्छ त्यसको आँकलन गरेर आफै लगाउने र बर्षभरिको जोहो गर्ने हाम्रो आफ्नो मौलिक परम्परामा आज विकास र आधुनिकताको बाझिँटाले पिरोलकोे छ । पानीका मुहानहरु भत्काएर गरिएका भनिएका विकासले विदेशबाट आर्जेको रकम तिरेर विदेशबाटै भित्र्याएको दालचामल घरघर पुर्याउन सजिलो मात्रै भएको छ । त्यो विकासले न त किसानलाई समयमा मल दिन सकेको छ न समयमा बिउ नै दिन सकेको छ । यतिसम्म कि जनतन उब्जाएको खेतीलाई बजार पाउनसमेत दिएको छैन । किसानको जमीन मासेर, किसानको पानीको मुहान सुकाएर ल्याएको विकासको नमूनाले त्यहि किसानको अनुहारमा उज्यालो ल्याउन सक्दैन भने त्यस्तो विकासको कम्तीमा पनि नेपालको लागि अपरिहार्यता पक्कै होइन ।

गाउँका पाखापखेरामा जडीबुटी खाएर हुर्केका खसीबाख्रा र पाखापखेराका किराफटेङ्ग्रा र मकै खाएर हुर्केका स्थानीय कुखुराहरु मासेर त्यहि विकासको बाटोबाट एन्टीबायोटिक र भिटामीनले हुर्काएका आलुभन्दा कमसल कुखुराको मासु पुगेको छ । कोदो, फापर, मौआ, चुत्रो, भट्टे र पहेंले धान जस्ता शुद्ध उत्पादित मौलिक पेय पदार्थलाई प्रतिबन्ध गरेर विदेशीका भट्टिको रस त्यो किसानको आँगनमा पुगेको छ । दुघ बेचेर त्यहि विदेशी भट्टिको रसपिउने जमात तयार गर्ने विकासले नेपालको कृषिप्रधानतालाई खिल्ली उडाएको छ ।

आज असार ३१ भैसक्दा समेत देशका अधिकांशं ठाउँमा पानी परेको छैन । यनकेन जमाएको धानको ब्याड सुकेको छ । हिजो बीउ नदिने राज्यले मलपनि दिन सकेको छैन । किसानको आफ्नै पहलमा जसोतसो तयार गरेको धानको बिरुवा रोप्न नपाएर रोएको किसानका सामुन्ने अनिकाल नै पर्ला भन्ने अर्को पिरलो छ । हिजो‘हुलमुलमा जीउ जोगाउनु अनिकालमा बीऊ जोगाउनु ’ भन्ने कृषिको आर्दश थेगो बनाउने किसान राज्यको विकासको झाँसामा लागेर आफ्नो लागि बीउ जोगाउन नसक्ने भएको छ । आज किसानको घरमा बिउ हुँदैन, बिउ त व्यापारीसँग हुन्छ जुन उम्रीन्छ या उम्रीन्न फल्छ या फल्दैन थाह हुँदैन । यो किसानको अर्को रुवाई हो ।

भनिन्छ जिवन त ईश्वरको बरदान हो । यो संसारमा जे जतिपनि श्रृष्टि धर्ति,आकाश, पानी, बनजंगल, पशुपंक्षी, हावा आदि इत्यादी छ त्यो सबै । तर यो सबथोक ईश्वरले रचेर प्रकृतिले मानवलाई दिँदैमा मान्छे त्यतिकै बाँचिहाल्छ भन्ने त छैन । जुनसुकै विकास र आधुनिकतालाई पनि बाँच्न चाहिने त अन्न नै हो । यसैले संसारका विकासका नमूना फेरिन्छन् । बाटाघाटा गगनचुम्बी भवनहरु फेरिन्छन् । मानिसका पहिरन फेरिन्छन् । अर्थतन्त्रका ओंठेगफहरु फेरिन्छन् । यी फेराइले यो संसार र मानवजातिलाई खासै तात्विक रुपमा असर गर्दैन । तर किसानको कर्म फेरियो भने संसारको अनुहार नै फेरिन्छ । मानिसका चरित्र फेरिन्छन् । देशका नक्शा फेरिन्छन् । यो सत्यलाई हाम्रो राज्यले कहिले बुझ्ने ?

नेपाली सँस्कृति र यहाँको सभ्यता हमेशा नै कृषिकर्म कै सेरोफेरो मै रहेको छ । यसैले यहाँका मानिसहरुले प्रकृतिको पूजा गर्छन् । वायु, अग्नी, बनजङ्गल, ढुङ्गा माटो, पानीको मुहान, वरपिपल, भज्याङ् चौतारी, पोखरी, सर्प बिच्छु, कौवा, गाइ, कुकुर, नदि, कुलो, सबैको पूजा गर्छन् । यहि हाम्रो पद्धति हो । यसैमा मानव जीवन निहित रहेकोले यसको महत्व हाम्रा पूर्खाले बुझे र यसलाई शक्तिको रुपमा मान्यता दिए । यहि शक्तिबाट आर्जेको कृषिफललाई पहिलो पटक यसैपति कृतज्ञता अर्पण गरेर ग्रहण गरे । यसलाई सँस्कृति बनाए, यहि सभ्यतामा रमाए । यसैलाई जीवन पद्धति बनाउँदै जीवन बाँचे र अरुलाई पनि बचाए ।

अहिलेको राज्यको सोंचमा यसको न कुनै अनुसन्धान भयो न यसको कारण खोजियो । किसानलाई आधुनिकताका नाममा आफैले आफैलाई आफ्नै पद्धतिलाई गाली गरेर क्रान्तिकारी बनाइयो । पहिला साधुले मागेर खान्थे । खानैका लागि चोर्न पर्दैन्थ्यो । आज जमाना त्यो रहेन । बाँच्नका लागि कर्म होइन चोर्न र ढाँट्नै पर्ने बनाइयो । नेपाललाई अन्नदाताको आँखा भिजेको नदेख्ने मोतियाबिन्दु लागेको राज्यसत्ता भएको देश बनाइयो ।

आज किसानको परिभाषामा आफन्त भाइभारदार शहरीया ब्यापारी र कपटी, अन्धो राजनीतिको मतियारहरुलाईसमेट्ने काम भएको छ । किसानको नाउँमा राज्यको चौकामा बसेर अनुदान घिच्नेहरुको यहाँ बिगबिगी नै छ । माटोसँगको नाता नै नभएकाहरुले किसान बनेर लूट मचाउने धन्दा मौलाएको छ । तर एकाध रोपनी या दुईचार कठ्ठा जमीन लिएर त्यहि पनि बीऊ, पानी, मलको लागि गुहार नपाएको वास्तविक किसान रोएको कुनै तन्त्र, व्यवस्था या सत्ताले न सुन्न सक्छ न देख्न सकेको छ । तै पनि यो देश हिजो पनि कृषि प्रधान देश थियो, आजपनि कृषि प्रधान देश नै हो र भोलि पनि रहिरहने छ ।

प्रतिक्रिया

प्रतिक्रिया