निजी विद्यालय टिकाईराख्न पनि ‘प्राविधिक शिक्षा ’

विद्यालय शिक्षामा आत्मनिर्भर, उच्च शिक्षाका लागि २ खर्ब बाहिरिन्छ त्यसलाई रोक्न नेपालमा माग बमोजिमको शिक्षा आवश्यक छ

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का केन्द्रीय अध्यक्ष डिके ढुंगानाले बदलिदो परिस्थिति अनुसार शिक्षामा पनि परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । कुनै बेला अंग्रेजी माध्यममा पढाएकै भरमा निजी विद्यालय चलेपनि अब सामुदायिक, सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यममा पढाइ हुन थालेको भन्दै टिक्नकै लागि भएपनि निजी विद्यालयले प्राविधिक शिक्षा अध्यापन सुरु गर्न आवश्यक भएको औंल्याएका हुन् ।

प्याब्सन बाँकेको नेपालगन्जको राँझामा नवनिर्मित प्रशासनिक भवन शिक्षा मन्दिरको उद्घाटन कार्यक्रममा बोल्दै प्याब्सन केन्द्रीय अध्यक्ष ढुंगानाले निजी, संस्थागत विद्यालयले विद्यालय सञ्चालन गर्नुको उद्देश्य, आगामी दिनका चुनौति र त्यसको सम्बोधनका बारेमा आफुलाई समयानुकुल तयार राख्नुपर्ने धारणा राखेका थिए । ‘संस्थागत विद्यालय सञ्चालकले शिक्षा र स्वास्थ्य सामाजिक उद्योग हो भन्ने बुझ्नु पर्दछ’, उनले भने, ‘नत्र दीर्घकालीन रुपमा अगाडि बढ्न सक्दैन ।’ उनको धारणा थियो, बदलिदो परिस्थितिमा मनस्थिति नबल्ने हो भने निर्वाहमूखिमै सीमित हुनुपर्दछ ।

केन्द्रीय अध्यक्ष ढुंगानाले आफ्नो टिम नेतृत्वमा आएको सय दिन भएको भन्दै प्याब्सनलाई अगाडि बढाउनका लागि धेरै योजना बनाएको र त्यसको प्रभाव दीर्घकालीन रुपमा देखिने विश्वास दिलाए । उनले गुणस्तरीय शिक्षक उत्पादनमा केन्द्रीय प्याब्सनको ध्यान रहने स्पष्ट पारे ।

ढुंगानाले देशमा ५५ हजार शिक्षक आवश्यक रहेको उल्लेख गर्दै सरकारले शिक्षकको माग गरेमा धेरै शिक्षक निजीबाट सामुदायिकमा जाने भएकाले त्यसका लागि तयार रहन नयाँ शिक्षक उत्पादन आवश्यक रहेको बताएका थिए । ‘अभिभावकको चाहना छोराछोरी डाक्टर, इन्जिनियर, पाइलट बनुन् भन्ने हुन्छ, कसैले शिक्षक बनाउन चाहँदैनन्’ , उनले भने, ‘त्यसैले प्याब्सनले शिक्षक उत्पादन आवश्यक छ ।’

केन्द्रीय अध्यक्ष ढुंगानाले जनशक्ति उत्पादन गर्ने हो भने सरकारले गरेन भनेर भन्दा पनि गरिदेउ न भनेर भन्ने अवस्था आउने बताए । ‘संस्थागत, निजी विद्यालय स्थापना अघि पूर्वाधार भन्दा गतिला शिक्षकको समूह तयार गर्नुहोस्, पुस्तकालय तयार गर्नुस्’, उनले भने, ‘भवन र पूर्वाधार मात्रैले गुणस्तरीय शिक्षा हुँदैन ।’ अध्यक्ष ढुंगानाले सरकारले संस्थागत विद्यालयलाई विभेद गर्यो भन्नु भन्दा संस्थागत विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरेर सरकारलाई फोकसमा पार्नुपर्ने धारणा राखे ।

केन्द्रीय अध्यक्ष ढुंगानाले प्याब्सनकै कारण माध्यमक तहसम्मका शिक्षामा नेपाल आत्मनिर्भर भएको बताए । ‘माध्यमिक तहसम्मको अध्ययनका लागि विद्यार्थी विदेश जाने क्रम रोकिएको छ, अब उच्च माध्यमिक शिक्षामा पनि आत्मनिर्भर हुनुपर्दछ, प्याब्सनले माध्यमिकत तहसम्म र हिसानले उच्च माध्यमिकको शिक्षा हेर्ने हो’, उनले भने, ‘हिसानले उच्च शिक्षाका लागि बाहिरिने विद्यार्थीलाई रोक्नका लागि कदम अगाडि बढाउनु पर्दछ, त्यसका लागि प्याब्सनको साथ रहनेछ ।’

केन्द्रीय अध्यक्ष ढुंगानाले प्याब्सनले कोर्ष बदल्न खोजेको भन्दै त्यसका लागि तयार रहन विद्यालयहरुलाई आग्रह गरेका थिए । उनले मूल्यवृद्धिसँगै शुल्कमा पनि वृद्धि आवश्यक रहेको भन्दै त्यसका लागि लागि परेको बताए । अध्यक्ष ढुंगानाले २ खर्ब वैधानिक च्यानलबाट मात्रै उच्च शिक्षाका लागि बाहिरिने गरेको भन्दै सरकारको नीतिगत व्यवस्थामा प्रश्न उठाए । ‘माध्यमिक शिक्षामा आत्मनिर्भर हुँदा उच्च शिक्षामा किन आत्मनिर्भर हुन सकेनौं’, उनले भने, ‘विदेशिएको रकमको चिन्ता गर्नु पर्दैन ?’ विभिन्न नेपालमै उत्पादन हुने मालसामान पनि विदेशबाट अर्बौको आयात हुने गरेको तथ्य प्रस्तुत गर्दै अध्यक्ष ढुंगानाले त्यसलाई निरुत्साहित गर्ने खालको राज्य नीति हुनुपर्ने तर्फ ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष ढुंगानाले संस्थागत विद्यालयको आवश्यकता रहेकाले निर्धक्क लगानी गर्न सकिने भन्दै विद्यालय सञ्चालन गर्न संस्थागत रुपमै चलाउनु पर्ने बताएका थिए । ‘विद्यालय सञ्चालकले यसरी विद्यालय चलाउनु पर्दछ कि आफु नहुँदा पनि निर्धक्क रुपमा विद्यालय चलोस्, अनिमात्रै दीर्घकालसम्म विद्यालय चल्छ’, उनले भने, ‘विदेशमा तीन÷चार सय बर्ष अघि सञ्चालित विद्यालय पनि सञ्चालनमा हुन्छन्, हामीले पनि त्यसरी नै विद्यालय सञ्चालन हुने गरी संस्थागत विकास गर्न आवश्यक छ ।’

प्याब्सन लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष ऋषिकेस जिसीले सरकारी निकायबाट निजी, संस्थागत र सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई विभेद हुने गरेको बताए । उनले सामुदायिक विद्यालयका विद्यार्थीलाई खाजा, खेलकुद सामाग्रीको व्यवस्था गर्दा निजीमा अध्ययन गर्ने विद्यार्थीलाई भने नदिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । ‘हामीले पनि गरिब, जेहेन्दार विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्ति दिने गरेका छौं, कम्तिमा उनीहरुलाई त विभेद नहोस्’, उनले भने, ‘राज्यले शिक्षकलाई दिने तालिम तथा प्रशिक्षणमा पनि निजी र सरकारी भनेर विभेद गर्नु भएन ।’

हिसानका केन्द्रीय उपाध्यक्ष इश्वर पोखरेलले प्याब्सन र हिसानको समस्या एउटै रहेको बताएका थिए । उनले लगानीको सुरक्षा सबैको चिन्ता भएको बताएका थिए ।

प्याब्सन बाँकेका अध्यक्ष यम रावतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्याब्सन बाँकेका वरिष्ठ उपाध्यक्ष मनोज कुमार गिरीले स्वागत तथा सञ्चालन सचिव रोशन श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, धिरेन्द्र सिटौला, प्याब्सन लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष ऋषिकेस जिसी, हिसार केन्द्रीय उपाध्यक्ष इश्वर पोखरेल, प्याब्सन केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारी महासचिव आरती कटुवाल, कोषाध्यक्ष सन्तोषमणि न्यौपाने लगायतले बोलेका थिए ।

कार्यक्रममा प्याब्सनका पूर्व अध्यक्षहरुलाई सम्मान गर्नुका साथै बाँकेमा पहिलो निजी विद्यालय एञ्जल्सका संस्थापक विना मल्लाई कदरपत्रले सम्मान समेत गरिएको थियो । यद्यपि, सबैजना कार्यक्रममा उपस्थित भने थिएनन् । कार्यक्रममा प्याब्सन पूर्व अध्यक्ष राजेश कुमार आचार्य, डा. राजेश केशर खनाल, ऋषिकेश जिसी, जगत तिमिल्सिना लगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया