नेपालगन्जमा मधुमेह सेवा केन्द्र सञ्चालन

नेपालमा मधुमेहका बिरामीको संख्या बढ्दो रहेको छ । मधुमेहका बिरामीको एकिन तथ्यांक भने छैन । कुनै स्वास्थ्य समस्या लिएर अस्पताल पुग्दा मधुमेह पुष्टि हुने गरेको चिकित्सक बताउँछन् ।

‘पछिल्लो समय शंका लागेर अथवा शिविरहरुमा निःशुल्क परीक्षण हुने भएपछि मधुमेहको परीक्षण गराउनको संख्या बढ्दै गएको छ’, चिकित्सक भन्छन्, ‘परीक्षणसँगै मधुमेह पुष्टि हुने पनि बढिरहेका छन् ।’

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार, नेपालमा मधुमेहका बिरामीको संख्या ९.१ प्रतिशत रहेको छ । मधुमेहले अन्य स्वास्थ्य समस्या समेत निम्त्याउने गरेकाले यसको नियन्त्रणका लागि समयमै परीक्षण र उपलब्ध उपचार अवलम्वन गर्नुपर्ने चिकित्सक बताउँछन् ।

मधुमेहका बिरामी बढ्दै गएपछि उनीहरुका लागि त्यसैका लागि छुट्टै अस्पताल भने कमै मात्रामा स्थापना हुने गरेको छ । त्यसक्रममा बाँकेमा भने मधुमेह सेवा केन्द्र सञ्चालनमा आएको छ । सोमबार स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले लायन रामनारायण मधुमेह सेवा केन्द्रको उद्घाटन गरेका छन् ।

‘करिब २० लाखको लागतमा मधुमेह सेवा केन्द्र निर्माण गरिएको हो’, लायन्स पूर्व डिष्ट्रिक गभर्नर शेम शाक्यले भने, ‘लायन रामनारायणको परिवारबाट करिब १२ लाख बाँकी स्रोत लायन्स मेम्बर तथा क्लबहरुबाट जुटाइएको हो ।’

स्वास्थ्यकर्मी समेत रहेका लायन शाक्यले केन्द्रबाट बजारमा गरिने परीक्षण भन्दा ५० प्रतिशत कम शुल्कमा रक्त परीक्षण गर्ने जानकारी दिएका छन् । उनले सेवा केन्द्रबाट लिभर, किड्नीको फङ्सन परीक्षण पनि हुने बताएका छन् । केन्द्रमा २ जना कन्स्लटेन्ट चिकित्सकले सेवा समेत दिने उनले बताए ।

पछिल्लो समय परिर्वतित जीवनशैलीका कारण लाखौँ मानिसहरुमा मधुमेहको समस्या बढी देखिन थालेको चिकित्सकहरुले बताएका छन् । विश्वमा ४६ करोडभन्दा बढी मानिसमा मधुमेहको समस्या छ । पछिल्लो समय विकसित राष्ट्रहरुभन्दा पनि नेपाल जस्तो विकासोन्मुख राष्ट्रहरुका ८० प्रतिशत मानिसमा यो रोग डरलाग्दो तरिकाले देखिन थालेको छ । यसको मुख्य कारण मानिसहरुको परिर्वतनशील जीवनशैली नै हो । मधुमेह दुई प्रकारको हुने गरेको विज्ञहरुले बताएका छन् ।

नीहरुका अनुसार टाइप वान डायबेटिज र टाइप टु डायबेटिज गरी दुई प्रकारका हुन्छन् । प्यान्क्रियाजका कोषहरु भत्किएर इन्सुलिन उत्पादन हुन नसक्दा हुने मधुमेहलाई ‘टाइप वान डायबेटिज’ भनिन्छ ।

यो विशेषगरी बच्चाहरुमा देखिने चिकित्सक बताउँछन् । बच्चाहरुमा देखिने भन्दैमा यसको अर्थ अरु उमेर समूहका मानिसहरुमा हुँदैन भन्ने होइन । उनका अनुसार टाइप वानको उपचार इन्सुलिन दिनुमात्र हो । अर्को मधुमेह अहिले नेपालमा वा विश्वका मानिसहरुमा सबैभन्दा धेरै देखिने मधुमेह हो ।

जुनसुकै उमेर समूहका मानिसमा पनि यो मधुमेह देखिन सक्ने चिकित्सक बताउँछन् । जसलाई हामी टाइप टु डायबेटिज भनेर चिन्ने गर्छौँ । प्यान्क्रियाजले उत्पादन गर्ने इन्सुलिनलाई हाम्रो शरीरले सही प्रयोग नगर्दा यो डायबेटिज हुन्छ । उनका अनुसार उच्च रक्तचाप भएका र कोलेस्ट्रोरेल बढी हुँदा पनि मधुमेहको समस्या देखिएको छ ।

मधुमेह नियन्त्रणमा ल्याउनका लागि जंक फुड, धूमपान र मद्यपानको सेवन गर्न नहुने चिकित्सक बताउँछन् । यस्तै मिर्गौला, कलेजो, मुटु, आँखालगायतका महत्वपूर्ण अंगमा ठूलो असर गर्न सक्ने भएकाले मधुमेह हुनबाट जोगिन आवश्यक रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया