इस्लाम धर्मावलम्बीहरुको बकर ईद


इस्लामिक क्यालेन्डर अनुसार बकराईद (इदुलअजाहा) १२ महिना हो । यो महिना पछि इस्लामिक नयाँ वर्ष मोहर्रम शुरु हुन्छ । नेपालमा तराई देखि हिमाली जिल्लासम्म मुसलमानहरुको बसोबास छ । जनसंख्याको हिसाबले हिन्दु र बुद्ध धर्मपछि नेपालमा तेस्रो स्थानमा इस्लाम धर्मावलम्बी छन् । मुसलमानका दुईवटा महान् पर्व हुन्छन् । ती पर्वहरु हिजरी पात्रोअनुसार तय हुन्छन् ।

हिजरी पात्रोको नवौं रमजानल मुबारक महिनामा विश्वभरका मुसलमानले एक महिने ब्रत (रोजा) बस्छन् र त्यसको ३० औं दिनमा खुसीयाली पूर्वक इदउल फित्र मनाउँछन् । मुसलमानले दिनमा पाँच पटक मस्जिदमा गएर नमाज अर्थात प्राथना पढ्छन् । हरेक शुक्रबार विशेष नमाज हुन्छ । त्यही पात्रोको १२ औं महिना जिल्हिज्जा मा विश्वभरका सक्षम अर्थात धनाढय मुसलमान साउदी अरबको मक्का र मदिनामा तीर्थ गर्न जान्छन् । त्यसलाई हज भनिन्छ । गरिबलाई हज अनिवार्य छैन ।

हजकै बेला मुसलमानले अर्को पर्व इदउल अजहा मनाउँछन् । यी दुई पर्वलाई विश्वभरका मुसलमानले मनाउँछन् । यो बाहेक मुसलमानले हिजरी पात्रोकै रब्बिअव्वल महिनाको १२ तारिखमा इस्लामका हजरत मुहम्मद मुस्तफा सल्लल्लाहु अलैहिवस्सल्लमको जन्मजयन्ती मनाउँछन् । यस्तै, मोहर्रमलाई पनि मुसलमानले मनाउँछन् । भाषाका हिसाबले नेपालका तराईमा बस्ने मुसलमानहरुले स्थानीय ठाउमा प्रयोग हुने मैथिली, भोजपुरी, अवधीका अलावा उर्दु पनि बोल्छन् ।

पहाडमा चाहिँ धेरैजसोले नेपालीसँग मिल्दोजुल्दो भाषा बोल्छन् । त्यसलाई मियाँ भाषा भनिन्छ । त्यो पहाडका मुसलमानको मातृभाषा पनि हो । पहाडमा हिन्दु र बौद्ध धर्मका समुदायसँग मिश्रित भएर बस्ने भएकाले भेषभूषा, रहन सहन र खानपिन भने त्यति फरक पाइँदैन । धार्मिक संस्कारहरु भने तराईदेखि हिमालसम्म बस्ने मुसलमानहरुले उर्दु र अरबी भाषामा चलाउँछन् । त्यसका लागि गाउँगाउँमा मौलाना धर्मगुरुहरु हुन्छन् । तिनै मौलानाहरुले धार्मिक संस्कारलाई अघि बढाएका हुन्छन् ।

इस्लामका पाँच आधार स्तम्भमध्ये हजलाई मुख्य मानिन्छ । बकर इद मुस्लिम समुदायको हज तीर्थाटन र बलिदानको रुपमा मनाइन्छ । यो खुसीको महिना भएकाले यो पर्व तीन दिनसम्म मनाइन्छ तर यस पर्वमा रोजा व्रत बस्न पर्दैन । रमजान इदुलफित्रको ठीक दुई महिना दश दिनमा मनाइने यो पर्वमा हज गर्न जान चाहने हैसियत भएका मुसलमानहरु साउदी अरबको मक्का र मदिना जाने गर्छन् । बकर इदको दुईदिन अगाडि मक्कादेखि पाँच किमी पूर्वको मीना मैदानमा लाखौ मुसलमान भेला भएर इद (अल) अधा पर्व मनाउँछन् भने बाँकी दुई दिन मक्काको भव्य मदिना मस्जिदमा नमाज प्रार्थना गरी हज मनाउँछन् ।

हज गरेर आउने मुसलमानलाई हाजीको सम्मान दिइन्छ र उनीहरु यसलाई गौरव ठान्छन् । इदगाहमा नमाज पढिसकेपछि मुसलमानले आ–आफ्ना घरमा कुर्वानी बलि दिन्छन् । बलि केवल सम्पन्न र हैसियत भएका मानिसलाई अनिवार्य छ । बलि ठूलो जनावर भए सात जनाले मिलेर दिनुपर्ने हुन्छ भने सानो चौपाया एक जनाले मात्र दिनुपर्ने प्रचलन रहेको छ । बलि दिएको मासु कुरबानीको मासु तीन भागमा बाँडी एक भाग गरिब,गुरुवामा एक भाग आफन्तमा वितरण गरी एक भाग मासु आफ्नो परिवारमा राख्नुपर्ने हुन्छ ।

हजरत मोहमदको आगमन पूर्व चार हजार वर्ष अगाडि परमेश्वरका अल्लाह दूत इब्राहिम ८० वर्षको उमेरमा पत्नी हजराबाट इस्माइल जन्मिए । तिम्रो सबैभन्दा प्यारो चिजलाई कुरबानी देउ भन्ने अल्लाहको आदेशलाई पालन गर्दा दूत इब्राहिमले आफ्नो छोरा इस्माइललाई मरुभूमिमा लगेर कुरबानी दिन खोज्दा अल्लाह निकै खुसी भएर कुरबानीलाई स्वीकार गरेको विश्वास इस्लाम धर्मालम्वीहरुको छ ।

यही परम्परालाई निरन्तरता दिन बर्सेनी मुसलमानले लाखाँै सख्यामा बलि दिने गरेका छन् । बलि कुरबानी आफ्नो परिवारका जीवित पत्नी छोराछोरी बुबाआमा तथा मृत व्यक्तिको नाममा पनि दिने परम्परा रहेको छ । आजका दिन आफूभन्दा ठूलासँग आशिर्वाद लिने तथा सानालाई आशिर्वाद दिने एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । यो पर्वमा सेबई दूध केरा पुलाउ बिरायानीजस्ता परिकार खाने चलन छ ।

इस्लामका संस्थापक पैगम्बर मुहम्मदलाई अल्लाह (ईश्वर) का रसूल अर्थात सन्देष्टा÷दूत मानिन्छ । जसको जन्म इ.छैटौं शताब्दीमा मक्का भूमिमा भएको थियो । मुहम्मदका पिता अब्दुल्लाह र आमा अमिनाह थिइन् । भनिन्छ, मुहम्मद युवा अवस्थाको अन्त्यतिर मक्काको उत्तरस्थित हिरा पर्वतको गुफामा उपवाससाथ ध्यान–प्रार्थनामा बस्न पुगेका थिए । उनले यहाँ देवदूत गेब्रिएलको दुई पटकसम्म दर्शन पाएपछि धर्मोपदेशमा उन्मुख भएको बताइएको छ ।

एक परमेश्वर अर्थात एक अल्लाहलाई मात्र मान्ने धर्म हो मुस्लिम । यसमा अल्लाहलाई एक सर्वज्ञ, सर्वशक्तिमान परमेश्वरको रुपमा लिइएको छ । भनिन्छ, अल र इलाहको संयोगमा ‘इ’ कार लोप भएर ‘अल्लाह’ शब्द उदभव भएको हो । यसको अर्थ हुन्छ शक्तिशाली परमेश्वर । यसैगरी इस्लामको अर्थ ईश्वरको इच्छाको शरणमा जानु भनिएको छ ।

ईश्वर (अल्लाह) को शरणमा समाहितलाई मुसलमान भन्ने गरिएको छ । उता फेरी मुसलमानको अर्थ हुन्छ अल्लाहको शरणमा पर्ने भक्तजन । इस्लाम धर्मको सबभन्दा ठूलो पवित्र र प्रिय ग्रन्थ कुरान हो जसमा ११४ अध्याय (सुर) रहेका छन् । जुन मुहम्मदका उपदेशहरुको सकलित रुप हो । मुसलमानहरुको रमजान–फित्रपछिको दोस्रो ठूलो लोकप्रिय धार्मिक पर्व हो बकर–ईद । यस पर्वलाई स्थान विशेषका आधारमा कहीं ईद–उल–जुहा त कतै ईद–उल–अजहा, इदुल–अज्हा, इदे–कर्बा, बकरीद आदि नामबाट पनि सम्बोधन गरिन्छ ।

नेपालमा सदियौंदेखि मुस्लिम समुदायको बसोबास रहदै आएको पाइन्छ । बिभिन्न जिल्लामा रहेका पहाडिया मुसलमानहरुले आफ्नो धार्मिक मान्यता अनुसार रोजा, इद (उल) फितर, ईद (उल) जुहा (बकरीद), मुहर्रम (हाइदोश), शबबरात, ईद मिलादुनवि जस्ता चाडपर्वहरु मानि आएका छन् । विवाह निकाह पद्धति कडाईसँग पालना भएको पाइन्छ । हलाल र हराममा ठूलो आस्थाका साथ पालन गरिन्छ । नमाज पढ्ने र शुक्रबारको जुमामा निरन्तरता रहेको छ ।

पछिल्लो समय विभिन्न ठाउँमा पढ्न जाने अथवा साउदी र कतारमा काम गर्न जाने नेपाली मुसलमानहरु इस्लामको विशुद्ध मानिएको स्वरुपसित परिचित हुँदैछन् र आफ्नो आस्थालाई जोडदार रुपमा प्रस्तुत हुन थालेका छन् । जस्लेगर्दा पहाडिया मुसलमानहरु पहिलेभन्दा इस्लामिक नीति नियममा कट्टर हुँदै जानेक्रम जारी छ । मदरसाको स्थापना, मस्जिदहरुको व्यवस्था, सगंठन विस्तार जस्ता कामहरुमा सक्रियता देखिएको छ भने आफ्नो धरातलको पहिचान र स्पेसको खोजी गरिआएका छन् ।


पहाडिया मुसलमानले केही नेपाली, केही अरबी, केही फारसी, केही हिन्दी आदि शब्दहरुको समायोजन भएको असाधारण भाषा जस्को पुच्छारमा ’तोरे’, ’तन, ’होई’ जस्ता अक्षरहरु जथाभावी जोडेर एकआपसमा बोल्ने गर्दछन । त्यो चुरौटी भाषालाई जीवन्त राखेका छन् । त्यही कारणले जनगणनामा यो भाषालाई यिनीहरुको मातृभाषाको रुपमा सूचिकृत गरिएको छ । पहाडिया मुसलमानहरु नेपाल भित्रिएको पनि सदियौँ भइसकेको छ ।

त्यस कारण उनिहरुलाई स्थानीय परिवेशले प्रभाव पार्नु स्वभाविक नै हो । यिनीहरुको रीतिरिवाज, रहनसहनमा स्थानीयकरण हुनु पनि स्वभाविकै हो । केहीकेहीले दाह्री पाल्छन् भने धेरैजसोले काट्ने गर्दछन् । महिलाहरु पछ्यौराले आफ्नो शीर ढाक्न त्यत्ति वाध्य छैनन् ।

पहाडी मुसलमानहरु लवाईमा स्थानीय भेषभूषा नै अवलम्वन गरेको पाइन्छ । विवाहमा कलश राख्ने (विना पूजाको), शाहीपाटा, जन्ती पर्सने जस्ता कुराहरु थपिएका छन् । चाडपर्वहरु हिन्दूहरुले मानेका बखत जस्तै तिहारमा अरु टीका नलगाए पनि घरैमा रोटी पकाएर रमाइलो गर्ने चलन छ ।

अझ उल्लेख्य कुरा गाई तिहारका दिन गाईलाई पूजा नगरे पनि गाईको शरीरमा हिन्दूहरुको चलन झैँ चामलको पीठो, वेसार, अवीरमुछि वेओराको छाप बनाई गाईको शरीरमा सेतो पहेलो र रातो छाप लगाउने जसरी गरिन्छ, त्यसरी नै त्यो दिन शरीरमा छाप लगाउने, फूलको माला लगाइदिने, फर्सी मिसाएर कुडो पकाइ गाई गोरुलाई खुवाउने गर्दछन् । त्यसदिन गोरुलाई जोताउने पनि गर्दैनन । धेरै कुरामा पहाडिया मुसलमानहरुको रीतिरिवाज र रहनसहनमा स्थानीयकरण भए तापनि आफ्नो धर्म, संस्कृति र संस्कारमा उनिहरु अडिकनै छन ।

नेपाल आउने पहिलो मुसलमान काश्मिरका हुन् । कान्तिपुरका राजा रत्न मल्लले ब्यपार गर्नको लागि ल्याएका हुन । ती मुसलमानहरुले तिब्वतसँग पनि व्यापार गर्थे । लद्दाख हुँदै काश्मिरबाट उनीहरु काठमाडौँ आएका हुन । काठमाडौंमा चीनले तिब्बतलाई आफ्नो अधिनमा लिएपछि त्यहाँबाट भागी आएका मुसलमान पनि छन् । जे जसरी आए पनि उनिहरु अहिले नेपालीनै भएका छन । नेपाली मुसलमानले विविध क्षेत्रमा योगदान दिएका छन् ।

मल्लकालीन दरबारमा उनीहरु तान्त्रिक वैद्य थिए । पहिला तिब्बतसँगको व्यापार उनीहरुले सुरु गरेका हुन । उनीहरुको आगमनसँगै नेपालको सैनिक र हतियारका क्षेत्रले नयाँ आयाम पायो, उनीहरुले बारुद बनाए र बनाउन सिकाए,अनि सैनिकहरुलाई घोडचढी सिकाए ।


मुसलमानहरु शान्तिपूर्वक बसे र आफ्नो धर्म माने । सायद उनीहरुको विशेष गुणका कारणले होला, नेपालका राजाहरुले उनीहरुलाई धार्मिक स्वतन्त्रता मात्र दिएनन, धर्मको निमित्त सम्पत्ति र स्रोतसाधन पनि दिएको इतिहास छ । शाह मिस्किन र शाह गयासुद्यिन नामका दुईसुफी तन्त्र र औषधोपचारका लागि नेपालमा निम्त्याइएका मुसलमान थिए ।

इतिहासकार डा. रमेशकुमारढुंगेलका अनुसार प्रताप मल्लले उनीहरुलाई मस्जिद बनाउन र कब्रिस्तानका लागि घन्टाघर वरिपरि जग्गा दिएका थिए । यो ५०० वर्षअगाडिको कुरा हो । अहिले कास्मिरी जामे मस्जिद रहेकै ठाउँमा उनीहरुले मस्जिद बनाएका थिए । उनीहरुको चिहान आज कास्मिरी जामे मस्जिदभित्रै छन् । पछि जब शहर बढ्दै गयो, राणा प्रधानमन्त्री वीरशमशेरले यसलाई कब्रिस्थानको रुपमा प्रयोग गर्न निषेध गरी त्यसको लागि स्वयम्भूमा जग्गा दिएका हुन ।

पृथ्वी नारायण शाहले काठमाडौंमाथि विजय हासिल गरी राजधानी बनाएपछि क्रिश्चियनहरुलाई लखेटे तर मुसलमानहरुलाई बस्न दिएको इतिहास छ । पृथ्वीनारायण शाहले पनि उत्तर भारतका मुसलमानलाई व्यापारका लागि बोलाए । शाह उनीहरुलाई असली हिन्दुस्तानी मुसलमान मान्थे ।

काठमाडौंका मुसलमान सिया र सुन्नी मतको कुनै भेदभाव बिना आपसी सदभावका साथ रहेको पाइन्छ । जसको उधारण कास्मिरी जामे मस्जिद र नेपाली जामे मस्जिद क्रमशः सुन्नी र सिया मूलका मुसलमानका थिए । तर, आजभोली काठमाडौंमा अधिकाशं मुसलमान सुन्नी मूलका छन् ।

चुरा–पोतेको व्यापार गर्ने भएकाले चुरौटे भनेर चिनिने यहाँका व्यापारी मुसलमानहरुका पसल पाटन, भक्तपुर र कामाडौंका पुराना दरबार नजिकै छन् । मल्ल राजाका दरबार छेउ उनीहरुका पसल हुनुले मुसलमान व्यापारीहरुको स्थानीय नेवार समुदाय र तत्कालीन राजाहरुसँग राम्रो सम्बन्ध भएको प्रमाणित हुन्छ । काठमाडौं उपत्यकामा करिब २ सय ११ घरपरिवार नेवार मुसलमान परिवार छन् । तीनै मध्ये इन्द्रचोकका गहना व्यापारीहरु स्थानीय नेवारले जस्तै नेवारी भाषा बोल्छन् । नेपालीहरुले मान्ने चाड पर्वहरु विभिन्न धर्म र संस्कृति अनुसार फरक छन ।

नेपालमा १२५ जातिहरुमा हिन्दु, मुस्लिम, शिख र इसाई सबै मिलेरै रहेका छन । कतिपय देशमा फरक धार्मिक आस्था राख्नेहरुबीचको झगडा र हिंसा भै रहनछ । तर नेपालमा जुनसुकै धर्म माने पनि सबै नेपालीहरु भाइचाराका रुपले सबै धर्मको पर्वहरुलाई शुभकामना आदान प्रदान गर्ने र खुशियाली मनाउने गरिन्छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईदका अवसरमा आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । समस्त मुश्लिम समुदायको महान पर्व बकर इदको उपलक्ष्यमा शुभ–कामना ब्यक्त गर्दछु ।

प्रतिक्रिया

प्रतिक्रिया