रुन पनि नपाउनु त ?

यो संसारमा रहेका सबैखाले जीवहरुमध्ये मानव मात्रै यस्तो जीव हो जसले आफ्नो सुख दुःख, हाँसो र पीडा सार्वजनिक गर्छ । अरुसँग साटासाट गर्छ । वास्तविक सुख र दुःखको भोगाइसँग सरोकार नभएता पनि त्यसलाई कृत्रिम बनाएरै भएपनि देखाउन सक्छ, देखाउँछ । बेलाबेलामा नाटक गरेर अरुको समवेदनामा मज्जाले खेल्छ । खुशीलाई आफ्नो उपलब्धिसँग जोड्न खोज्छ । पीडालाई नैराश्यताको पराकाष्ठा देखाउन खोज्छ । नभएको सुख पस्केर अरुलाई जलाउने प्रयास गर्छ । आफु भित्रभित्रै पीडित छ भनेपनि बाहिर कृत्रिम हाँसो देखाउँछ । भित्र कुनै पीडा नहुँदा नहुँदै पनि कतिपय अवस्थामा त मानिसले दुःख देखाएरै बाँच्ने आधार बनाउँछ । अरुबाट दया र करुणाको अपेक्षा राख्छ । यसैको बैसाखीमा टेकेर आफ्नो नैतिकताको तिलाञ्जली दिन्छ । आफ्नो अस्वभाविक स्वार्थ पूरा गर्छ । तर अरु कुनैपनि प्राणीमा यस्तो नौटङ्की देखिँदैन । यो मानिसमा मात्रै सम्भव छ यसैले मानिसलाई सबै नाटक नौटङ्की गर्न सक्ने क्षमता, दिमाग, समवेदना रहेकोले सर्वश्रेष्ठ प्राणी भनिएको हो । अरुको समवेदनामा खेल्ने सर्वश्रेष्ठताको लीला बुझिनसक्नु छ मानिसको ।


पछिल्लो दिनमा नेपालका बिभिन्न समाचारहरु देखि समाजिक सञ्जालमा एकजना मन्त्रीको रुवाई र आँसुको निकै भाइरल चर्चा भयो । बिभिन्न खाले हाँसो र उल्लीबिल्लीका कथाहरु बनाएर लाखौं मानिसहरुले मजालिए । कतिले आक्रोश पोखे । कतिले तथानाम गालीगलौच गरे । यसलाई पदलोलुपता, लालच, भ्रष्टाचारका अपुरा कामहरु पूर्ण गर्न र पूरा कमिशन पकाउन नपाएको पीडाको रुपमा पनि अथ्र्याए । ती मन्त्री आबद्ध रहेको पहिलाको पार्टीका नेताकार्यकर्ताहले ‘त्यै नपाएर गएकी बल्ल खाइस’ भन्दै खुशी मनाए । ती मन्त्री आबद्ध पार्टीभित्र मन्त्री पदको छिनाझप्टी र ठस्काङ ठुस्काङका चर्चा पनि समाजिक सञ्जालमा निकै रोचक तरिकाले प्रस्तुत भए । लगभग एकहप्तासम्म मन्त्रीको रुवाई र आँसुले भने समाजिक सञ्जाल प्रयोगकर्ताहरुमा निकै रोचकता थपिदियो । यहाँ धेरै मानिसहरुले आफ्नो चरित्र सञ्जाल मार्फत प्रष्टाए । मानिस कसैको आँसुमा कतिसम्म आनन्द लिनसक्छ भन्नेपनि देखियो । हुनसक्छ ती मन्त्रीलाई अरुकुनै भावुकताका कारण आँसु आएको । तर विगतको कामकर्तूत हेरेर यो रुवाई नाटक हो भन्ने धेरैले अनुमान लगाए ।


यो सत्ता भनेको यस्तो नशा हो कि त्यो नशालाई कुनै अन्य नशाले छुनैसक्दैन । त्यहाँभित्र आनन्द नै आनन्द छ । जनताको सम्पत्तिमा मोज छ । राज्यको ढुकुटीमा शान छ । घरदेखि कार्यालय,सिँहदरबारदेखि गाउँका चोकचौराहसम्म मान माथि मान छ । जनता कै घाँटी रेट्ने गरि र देशै बेच्नेगरि हस्ताक्षर गर्ने कलम छ उठेदेखि नसुतेसम्म सलाम छ । सत्य बोल्नै नपर्ने बोली छ, यताउता कुरा गर्यो कि ठोक्ने गोली छ । कार्यालयको सीसीटीभी बन्द गरेर भ्रष्टाचार गर्ने र फुटेज मागे मुसाले खायो रिर्कड छैन भन्दिए हुन्छ । सत्तामा भागीदारी छ सबको कसले छुन्छ ? चौबिसै घण्टा धन कसरी कमाउने भन्ने जाली छ, हिड्न परे बाटो पनि खाली छ । पदमा नपुग्दा भित्र पसेका गालाहरु त्यहाँ पुग्नासाथ पुटुस्स परेर आउँने भिटामिन छ । जनताको घाउलाई देखावटी उपचार गरेको भन्ने देखाउने बेटाडीन छ । झण्डा छ, डण्डा छ, देश र जनतालाई आँखामा छारोहाल्ने अनेक किसिमका फण्डा छ । संसद देखि जनतालाई ढाँट्न पाउने लाइसेन्स छ । यति धेरै कुराहरु र जनताको करमा बुर्कुसी गर्ने छूट भएपछि सत्ताको नशा कसरी नहुनु ? मन्त्रीको कुर्सी खुस्किँदा किन नरुनु ?


हुन त सत्तामा पुग्दा कतिपय मान्छेहरु रुने गर्छन् । कोहि हर्षले रुन्छ, कोहि अर्काको डाहले रुन्छन् । कसैलाई त्यहाँ आफ्नो दाउ नलागेकोले आँसु आउँछ । त्यहाँको चास्नीमा डुबिसकेकालाई चास्नी सम्झेर आँसु आउँछ । नेपालको सत्ता भनेको त झन चास्नीको कढाई मात्रै होइन यो त चास्नीको ट्याङ्कर नै हो अझ भन्नुपर्दा चास्नीको फ्याक्ट्री हो भन्ने नेपाली वर्तमान सत्ता राजनीतिले सिद्ध गरेकोे छ । बिगत तीन दशकमा जो जो पनि सत्तामा पुगे तिनीहरुमा एकाध अपवाद बाहेक, कोहि पनि गरिब छैन, कसैको सम्पत्तिमा कमी छैन । कसैका छोराछोरी विदेश नघुमेका छैनन् । कसैको काठमाण्डौंमा घर नभएको र घरमा चारपाङ्ग्रे नभएको छैन । कसैको पनि सत्ताभित्र वा बाहिर हुँदा उनीहरुको पूख्र्यौली सम्पत्तिले नै एकदिन थेग्न नसक्ने खर्च छ । कुनै शानसौकतमा कमी छैन । सत्तामा नपुगुञ्जेल जेजति बिपन्न भएता पनि आज उनीहरुमा कुनै बिपन्नता छैन । नेपाल भनेको सत्ता र समृद्धि भनेको त्यहि सत्ताको चास्नीमा डुब्नेहरु भन्ने कुरा जगजाहेर भएको छ । सत्ताधारीहरुको जतिसुकै आर्थिक समृद्धि भएतापनि नेपाली सत्ता राजनीतिका यस्ता पात्रहरुमा सधैं दरिद्रता मात्रै बढेको छ ।


एकपटक सत्तामा पुगेपछि राज्य नै बिर्ता बनाउने, कुर्सीलाई पेवा बनाउने प्रबृति नेपाली राजनीतिको मुख्य बिषेशता भएको छ । २०४६ सालपछिका सबैखाले सबै पाटापार्टीका सत्तावालहरुको कमोबेस चलन नै यहि रह्यो । यहाँ प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, जनता सार्वभौम जे जे भनेता पनि जनताको अधिकार भनेको पाँच बर्षमा एकदिन भोट हाल्ने र बाँकी १८२४ दिनसम्म आफैले आफैलाई धिक्कार्नेसम्म मात्रै हो । हिन्दीमा एउटा उखान छ ‘भैंस के आगे वीन बजाना’ बडो गज्जब उखान छ यो । सर्पका अगाडी बजाउनुपने वीन भैंसीको अगाडी बजाएर हुन्छ के ? नेपाली राजनीतिमा ठ्याक्कै त्यस्तै भएको छ । १८२४ दिन जनताले लेखेर बोलेर आफैले आफैलाई कोसेर चिथोरेर पुन्पुरोमा हात राखेर के हुन्छ ? जे हुनुपर्ने हो त्यो एक दिनको ठप्पाले भैसक्यो । यसरी जनता रोएर गर्ने के ? सत्ताको सास्नी भण्डारबाट अचानक बाहिर आउँन पर्दाको पीडामा मन्त्रीले रुनपनि नपाउनु त ?


सत्तासँग बसुञ्जेल लगाव हुनुपर्छ । त्यो कुर्सीमा बसुञ्जेल जुन जिम्मेवारी र उत्तरदायित्व निर्वहन गर्नुपर्ने हो गर्नसक्नुपर्छ । शासकले सत्ता होइन शासन प्रशासनलाई सर्पोपरि मान्नुपर्छ । जनहीतका काममा कहिँ कतै चुक भयो भने शासकले रुनसक्नुपर्छ । राष्ट्रको पीडामा रुनसक्ने शासक मात्रै वास्तविक शासक हो । नेपालमा यस्ता कुरा गर्यो भने अपवाद नै हुनेगर्छ । सत्ता मात्रै कहाँ हो र यहाँ त पार्टीको कुर्सी पनि त्यतिकै महत्वपूर्ण छ । सत्ताको चास्नीको मार्ग पार्टीको कुर्सीहुँदै जान्छ । त्यहि कुर्सीपोलोमा लागेका झिमौरीहरु नै भोली सत्ताको चास्नीमा पुग्ने ग्यारेन्टी छ । यसैले त यहाँ पार्टी फोडिन्छ, कुर्सी नपाए तोडिन्छ । अनि गुट, उपगुट, महागुट बनाएर हुन्छ कि ‘ओल्लो घरको नरे पल्लो घर सर’े गरेर हुन्छ सत्ताको बाटो सुनिश्चित गरिन्छ । सत्ताको चास्नीमा पुग्ने बाटो पक्का हुन्छ भने यहाँ कुनै मानमर्यादा चाहिँदैन । राष्ट्र, राष्ट्रियता, मौलिक धर्मसभ्यता, भाषा सँस्कृति, राष्ट्रपति, राष्ट्रीयस्वार्थ सबैलाई जतिसक्यो गाली गलौच गरिन्छ । त्यहि गालीगलौचको सर्टिफिकेट लिएर सत्ताको चास्नीमा पुगिन्छ । अनि त्यहि गलाी गरेको झण्डामुनी पुग्नासाथ बत्तिसी देखाएर हाँसिन्छ । यहि नेपाली सत्ता राजनीतिको नियती बनेको छ । सत्तामा पुग्नका लागि न नीति चाहिन्छ न नैतिकता । न कुनै योजना चाहिन्छ न राष्ट्र र जनताको लागि कामगर्ने इमान्दारिता चाहिन्छ । यसरी पुगेको सत्ताबाट बाहिर आउँदा आँसु आउँदैनन् त ?बेलाबेलामा यदाकदा आँसु आउँदैमा यति सारो बाफ रे बाफ गर्नु पर्छ त जनताले ? आँसु त आउँछन् । मिठो निद्रामा देखेको राम्रो सपनाबाट बिउँझिँदा त मानिसलाई आँसु आउँछ भने वास्तविक जीवनमा पाएको शानबाट एकाएक बाहिर हुँदा आँसु नआउने त कुरै भएन । शायद जनतालाई कति काम गरौंला पो थियो कि ? नभएकै भएता पनि मन्त्री पनि त मानिस हो,उनका पनि आफ्ना समवेदनाहरु ह्ुनछन् । तर यहाँ पार्टीका अध्यक्ष रुँदा होस या मन्त्री रुँदा किन यत्रो हल्ला ? त्यत्रो सपना भत्किँदा मन्त्रीले रुन पनि नपाउनु त ?

प्रतिक्रिया

प्रतिक्रिया