नेपालगन्ज नगर उपप्रमुख राईले किन गरे तस्करको समर्थन

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले तस्करीलाई समर्थन हुने गरी उद्योग वाणिज्य संघको कार्यक्रममा धारणा राखेपछि व्यवसायीले तत्कालै विरोध जनाएका छन् । उपप्रमुख राईले तस्करीको पक्षमा स्थानीय तह नरहेको स्पष्ट पार्दै कतिपयको जनजीविका रुपैडिहाबाट सानो परिणाममा मालसामान ल्याएर बिक्री गरेर चलिरहेको भन्दै त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताएका थिए ।

ढिलो गरी कार्यक्रममा पुगेका उपप्रमुख राईले त्यसअघि व्यवसायीले पोखेको आक्रोश सुनेका थिएनन् । बोल्ने क्रममा उनले नेपालगन्जमा हालको अवस्थामा कतिपयले बिना भन्सारको मालसामान ल्याएर बिक्री गरी घर चलाइरहेको अवस्था उल्लेख गर्दै त्यसबाहेकको तस्करी रोक्नुपर्ने धारणा राखेका थिए । उनले कार्यक्रममा राज्यले सबैलाई रोजगारी दिन नसक्ने अवस्था रहेकाले मानवीय हिसाबले पनि हेर्नुपर्ने जिकिर गरे । ‘सामान ल्याएर घुम्ति पसलमा बेच्नेहरुलाई रोकिनु हुँदैन’, उनले भने ।
त्यसअघि सानो परिणाममै लाखौंको मालसामान भित्रिने गरेको र त्यसैका कारण पनि यहाँको व्यवसाय फष्टाउन नसकेको व्यवसायीले गुनासो गरेका थिए । उपप्रमुखले सानो परिणाममा आउने मालसामानलाई रोक्न नहुने धारणा राखेपछि उनलाई विरोध गर्दै होहल्ला गरेका थिए । ‘त्यसो भए हामी पनि भन्सार राजश्व र कर छलेर नै व्यवसाय गर्ने त ?’, व्यवसायीहरुले उपप्रमुखलाई भने, ‘उपप्रमुख जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले तस्करी प्रोत्साहित गर्ने खालको अभिव्यक्ति आपत्तिजनक छ ।’

त्यसपछि उपप्रमुख राईले उक्त सन्दर्भ छाडेर घरबारीटोलमा बर्षात्मा पानी जम्मा भई व्यवसायीको नोक्सानी भएको गुनासो सम्बोधन गर्दै तत्कालै नाली सफा गर्ने बताए । ‘नाली सफा हुन्छ तर सरसफाईमा व्यवसायीले पनि ध्यान दिनु पर्यो, नाली सफा गरेको एक महिनामै उस्तै हुन्छ, फोहोर नालीमा फालिदिंदा, कृपया फोहोर विहान आउने नगरपालिकाको ट्याक्टरमा फाल्न र नालीमा नफाल्न अनुरोध छ’, उनले भने ।

अन्त्यमा उपप्रमुख राईले आफ्नो भनाईबाट अन्यथा लागे ‘शब्द फिर्ता’ लिएको बताएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया