विवादित अर्थमन्त्रीले दिए राजिनामा, छानबिनका लागि संसदीय समिति

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ। उहाँले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न आफूले राजीनामा गरेको घोषणा गर्नुभयो । आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताको प्रश्न उठेपछि संसदमा उहाँको राजीनामा मागिएको थियो । यस विषयमा छानबिन गर्न आजै संसदीय विशेष समिति गठन गरिएको छ ।

उक्त संसदीय समिति ११ सदस्यीय रहेको छ । संसदीय समिति गठनसम्बन्धी जानकारी सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई गराउनुभयो । समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्य हुनुहुन्छ । समितिले आवश्यकताका आधारमा सभापति चयन गर्नसक्ने व्यवस्था गरिएको छ । समितिलाई १० दिनको कार्यावधि दिइएको छ । समितिले आवश्यकताका आधारमा विभिन्न व्यक्तिसँग छलफल गर्न सक्नेछ । प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम उक्त समिति गठन गरिएको हो । करको दर हेरफेर भएका सन्दर्भमा सार्वजनिकरुपमा कुरा उठेपछि प्रतिनिधिसभाले समिति गठन गरेको सभामुखले जानकारी गराउनुभएको छ । त्यसअघि प्रतिनिधिसभाको आज ११ बजेका लागि तय भएको बैठक ढिला गरी सुरु भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया