लौरो लगाएर मात्रै काम गराउन गाह्रो

विकृतिका तमाम गुनासाहरुबीच चिकित्सकले एक हप्ताको अग्रीम हाजिरी गरेको विषय बाहिर आएको छ, अस्पतालमा यो संस्थागत नै छ कि ?

विकृतिलाई संस्थागत भन्न मिल्दैन । केही मान्छेहरुले जानाजान होस् वा नियतवश केही गल्तीहरु गर्न पुग्छन् । त्यसका लागि सम्पूर्ण मेडिकल फिल्ड, अस्पताल, सरकारी निकायलाई नै त्यसरी भिक्टिमाइज त गर्न मिल्दैन होला ।

अब जुन कुरा आएको छ, एक जना डाक्टर साबको बारेमा, यदी उहाँले नियतवश गर्नुभएको हो भने जघन्यखालकै गल्ती हो । तर, जनरली के हुन्छ भने विहान कार्यालयमा जाने, कार्यालय प्रमुखको कोठामा अथवा टेबुलमा गएर हाजिरी गर्ने, त्यसपछि आआफ्नो फाँटमा काम गर्ने सिष्टम हुन्छ ।

अब अस्पतालमा चाहीँ के हुन्छ भने २४सैं घण्टा विभिन्न खालका शाखाहरुमा विभिन्न खालका व्यक्तिहरुले काम गरिरहेका हुन्छन् । इभन ओपिडि बेशिसका डाक्टर साबहरु पनि विहानै आउनु हुन्छ, कहिले इमरजेन्सीमा कुनै केस हुन्छ, म हाजिर गरेर मात्रै त्यो केस हेर्छु भन्ने हुँदैन, जस्तो कुनै वार्डमा गाह्रो भैरहेको हुन्छ, पहिले वार्डमा गएर राउण्ड लिन सक्नुहुन्छ ।

कामैकामको प्रेसरका क्रममा त्यसपछि ओपिडि जान सक्नुहुन्छ । हाजिर गर्न भुल्ने पनि हुन्छ । काम गर्ने हो, हाजिरी भनेको फर्मालिटी नै हो भन्ने कतिपय डाक्टर साबमा छ । कहिलेकाही हामीबाटै पनि त्यस्तो भएको हुन्छ । सुरुमा ओपिडि गएर बस्यो, ओपिडिमै २÷३ बजिसकेको हुन्छ, त्यसपछि चाहीँ त्यस्तो हुनसक्छ ।

तलब सरकारी खाने काम निजीमा गर्ने, समानान्तर अस्पताल चलाउने, जिम्मेवारी निर्भाहमा बेवास्ता गर्ने गुनासा आइरहन्छन् । सरकारी अस्पतालमा चिकित्सक नियमनको समस्या छ की ?

कतिपय विवेकका कुरा पनि वाञ्छनिय हुन्छ । जस्तो क्लिनिकमा काम गर्न पाउने, नपाउने, कति काम गर्न पाउने भन्ने कुराहरु कानुनले नै गैर कानुनी भनेको छैन, आचरणमा भर पर्ने कुरा हो भनेको छ । अहिले विवादमा आएका कुराहरु व्यक्तिगत आचरणका कुराहरु हुन्, व्यवहारका कुराहरु हुन्, नैतिकताका कुराहरु हुन् ।

ऐन, नियमावली हेर्दा अग्रिम हाजिरी गरेमा के गर्ने भन्ने कुरा कानुनले पनि परिकल्पना गरेको छैन । प्रायः कतिपय अवस्थामा मान्छेहरुले १०÷१५ दिनको एकैपटक हाजिर गरिरहेका हुन्छन् । आज हाजिर गर्दै गर्दा जस्तो आज २१ गते हो भने हाजिर गर्दागर्दै बढी गएको पो हो कि ! उहाँको चाही नियतवश नै हाजिर गर्ने र त्यसपछि म ८÷१० दिन आउँदिन पो छ कि, एक पटक उहाँलाई कार्यालयमा बोलाएर बुझ्छौं । समितिले त कारवाहीका लागि नै सिफारिस गरेको छ ।

अस्पताल विकास समिति र कर्मचारी बीच सधैंजसो फरक मत रहि आएको देखिन्छ, नियतकै समस्या हो वा प्राविधिक विषय हो ?

डाक्टरहरु अलिकति स्वाभिमान भनौं वा अहं भनौं त्यो खालको कुराहरु हुन्छ । मैले मेरो काम गरे पुगिहाल्यो नि, अरु कुरामा अरुलाई किन टाउको दुखाई भयो भन्ने कतिपय डाक्टर साबहरुमा छ । काम गरेमात्र हुन्छ भन्ने एउटा व्यवहारिकताको पक्ष भयो । तर, सरकारी संयन्त्रमा काम गरिसकेपछि, सरकारको मानो खाइसकेपछि जुन दैनिक रुपमा गर्नुपर्ने क्रियाकलाप जस्तो आउँदादेखिको हाजिरीदेखि जाँदा खेरिको हाजिर, समयमा नआएमा कार्यालय प्रमुखले गयल गर्न सक्ने प्रावधानहरु कानुनबाट नै तोकिएका कुरा हुन् र त्यो सबैले मान्नुपर्छ भन्ने मेरो बुझाई हो ।

सरकारी अस्पताल सुधारको प्रयास भएको भन्ने बेलाबखत आउँछ, कहिले काहीँ समस्या पनि आउने गरेको छ । चिकित्सक सरकारी अस्पताल भन्दा आफ्नो निजी क्लिनिकमा इमान्दार बन्छन् भन्ने आम बुझाइ छ, यसमा के भन्नुहुन्छ ?

जुनसुकै कुरामा कुरामा कानुन मात्रै बनाएर, कानुनले मात्रै हान्छु भनेर हुँदैन रहेछ । व्यक्तिगत आचरण भनेको नितान्त व्यक्तिगत मानसिकतामा भर पर्ने कुरा हुन् । केही यस्ता घटना भए भने सकारात्मक रुपमा अन्य चिकित्सकले सिकेर उहाँहरु सरकारी संयन्त्रमा अलि टाइम दिनुपर्दछ, कमसेकम आफ्नो मानोमा इमान्दारिता देखाउनु पर्दछ भन्ने कुरामा सजग हुनुहोला भन्ने मैले अपेक्षा राखेको छु ।

कारवाही गरेर मात्रै कहाँ पुगिन्छ होला ? पहिलो पनि यी कुराहरु भैरहेका थिए होलान्, हामीले आँखा चिम्लिएका थियौं होला । कमसेकम अस्पताल विकास समितिको सक्रियता यी कुृराहरुलाई बाहिर ल्यायो भने कमसेकम आफ्नो इज्जतका लागि भएपनि केही थप अलिकति इमान्दार र नियमित बनिदिनुहुन्छ कि भन्ने अपेक्षा चाहीँ गर्न सकिन्छ ।

समाधानको बाटो के होला त यो अवस्थामा ?

म के कुरामा विश्वास गर्छु भने, जतिपनि सरकारी कर्मचारी छन् उनीहरुले आफुले कबोल गरेको क्वालिटी टाइम दिनुपर्दछ । उत्पादनशीलता हामीले काउन्ट गर्नुपर्यो । काम गर्ने मान्छेलाई कुनै न कुनै रुपमा प्रोत्साहित गर्नुपर्दछ । कामको परिमाण हेर्ने मापदण्ड बनाउने र त्यो मापदण्डको आधारमा दण्ड र पुरस्कार व्यवस्था हुने हो भने अलिकति केही सुध्रिन्छ जस्तो लाग्छ । लौरो लगाएर मात्रै काम गराउन भने गाह्रो हुन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया