नरैनापुर रंगशाला निर्माणमा विवाद

१५० जना कृषकको जग्गा अधिग्रहण गरेपछि काम रोकियो

संघीय सरकार र नरैनापुर गाउँपालिकाको आधा आधा लगानी निर्माण सुरु भएको रंगशला बारे विवाद उत्पन्न भएको छ ।

१८ महिना भित्र निर्माण पूरा गर्नका लागि पीएस कन्स्ट्रक्सनले ठेक्का स्वीकार गरेको रंगशाला निर्माण स्थानीय ब्यक्तिहरुले अवरोध गरेपछि रोकिएको हो । बाँके नरैनापुर गाउँपालिका वडा नं.४ दौलतपुर नजिक करिब ५ विघा जग्गामा निर्माण हुन लागेको रंगशालाले स्थानीयहरु जग्गा कब्जा भएको आरोप लगाउँदै निर्माण रोकिएको हरिराम बाहुनले बताए ।

हामी २०३५ साल अघि देखि वडा नं.४ख कित्ता नं.९४ को ऐलानी जग्गा जोतभोग गरि आएका छौं बाहुनले भने, हामीलाई विकल्प नदिएर रंगशाला निर्माण गर्न मिल्दैन । करिब १५० बढि किसानहरुको जग्गा रंगशालामा जाने भएपछि उत्पन्न विवादका कारण सोमवार देखि निर्माण कार्य रोकिएको छ ।
रंगशाला निर्माण बारे हामीलाई कुनै थाहा जानकारी दिई जबरजस्ती हाम्रो जग्गा कब्जा गर्न खोएिको हो, दैनिक नेपालगन्ज संग स्थानीय बासिन्दा धनविर चौधरीले भने, हाम्रो खेत मासेर रंगशाला बनाउन प्रयास गरे हामी अवरोध गर्छौं ।

कुनैपनि हालतमा हामी हाम्रो खेत जान दिन्नौं स्थानीय कृषक ज्ञान बहादुर दर्जीले भने, हामीहरुको जग्गा कब्जा गरेर जबरजस्ती हामीलाई आश्रय विहिन बनाउने प्रयास भइरहेको छ । रंगशाला बनाउने तयारी हुन लागेको ३ वर्ष भयो, नरैनापुर गाउँपालिकाका लेखापाल प्रकाश अधिकारीले दैनिक नेपालगन्ज संग भने, ऐलानी प्रति जग्गा भएका कारण नेपाल सरकारले पनि अधिग्रहण गर्ने निर्णय गरिसकेको छ ।
केहि ब्यक्तिहरुको जग्गा जाने त निश्चित नै छ, लेखापाल अधिकारीले भने, विकास गर्ने क्रममा केहि क्षति हुन्छ, त्यसको ब्यवस्थापन गरेर विकास निर्माणको कार्य अघि बढ्छ । उनले १८ महिना भित्र रंगशाला निर्माण सम्पन्न गर्ने हिसाबले विकास निर्माणको कार्य अघि बढाइएको बताए ।

नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले विकास निर्माणमा जनताले सहयोग गर्नु पर्ने बताए । हामी जनतालाई क्षति गर्न खोजेका छैनौं, तर विकास गर्दा केहि क्षति हुनु स्वभाविक हो । नरैनापुर गाउँपालिकाकै पहिचान स्थापित हुने हिसाबले रंगशाला निर्माण थालिएको हो, उनले भने, जनताको सहयोग र साथ विना विकास सम्भव छैन ।


प्रतिक्रिया

प्रतिक्रिया