बाँके काँग्रेसमा अर्काे तनाव

जिल्ला पार्टी सभापति गौडेलले गुटको राजनीति गरेको भन्दै सहसचिव बिनोद थारुले गरे पत्रकार सम्मेलन

गुट–उपगुटको राजनीतिमा अल्झिएको नेपाली काँग्रेस बाँकेमा अर्काे तनाव शुरु भएको छ । स्थानीय तहको निर्वाचनमा भएका घातअन्तर्घातलाई लिएर कारबाही प्रक्रिया थालिएपछि बाँके काँग्रेसभित्र तनाव शुरु भएको हो ।

पार्टी जिल्ला सहसचिव बिनोद थारुले आइतवार पत्रकार सम्मेलननै गरि जिल्ला सभापति नारायण प्रसाद गौडेलले गुटगत राजनीति गरिरहेको आरोप लगाएका छन् । उनले आफुलाई पार्टी सभापतिले पूर्वाग्राही तरिकाले स्पष्टिकरण सोधेको आरोप लगाएका हुन् ।

सहसचिव थारु संस्थापन पक्षका हुन् । पाटी सभापतिले आफुखुसी मनोमानी तरिकाले जिल्ला कोषाध्यक्ष, जिल्ला सदस्य, कार्यसम्पादन समिति, अनुशासन समिति, जिल्ला संसदिय समिति, प्रेस सल्लाहकार मनोमानी नियुक्ती तथा गठन गर्दा आफुले उक्त कुरामा असहमति जनाएकै कारण आफु गुटको सिकार भएको थारुको दावी छ ।

‘हचुवाको भरमा टुंगो नै नलागेको अनुशासन समितिको नाममा स्पष्टिकरण सोध्ने निर्णय नै बैधानिक छैन,’ स्पष्टिकरण नदिने मनःस्थितिमा रहेको सहसचिव थारुले पत्रकासँग भने, ‘आफु सहसचिवमा निर्वाचित भैसकेपछि अब पार्टीमा गुट उपगुटको राजनीति गर्नु हुदैन भनेर लागियो, सभापति त गुटभन्दा माथि उठ्नै सक्नु भएन ।’

बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा सहसचिव थारुलाई पार्टीले क्षेत्र नम्बर ३ को प्रचारप्रसार समिति र अनुगमन समितिको संयोजकको जिम्मेबारी दिएको थियो । उक्त जिम्मेबारी बहनमा इमान्दारिताप्रति पार्टी सभापतिको शंका छ । तर, थारु भन्छन्, ‘आफुले रातदिन नभनि जिम्मेबारी निर्वाह गरेरै क्षेत्र नम्बर ३ को तीनवटै पालिका जिताउँदा पनि के को स्पष्टिकरण ?’

बैजनाथमा काँग्रेस जित्दा सहसचिव थारु माथि आप्mनो वडा हराएको आरोप छ । ‘वडा ठुलो कि गाउँपालिका ठुलो हो ?’ बैजनाथ वडा नम्बर ७ पेडारीका थारुले प्रतिप्रश्न गरे, ‘जिल्ला सभापति नारायण प्रसाद गौडेलको वडामा पनि काँग्रेस हारेको छ, कारबाही गर्नेनै हो भने त्यहीबाट शुरु गरौं ?’ गौडेलको वडा कोहलपुर नगरपालिका वडा नम्बर ३ हो । उक्त वडामा काँग्रेस ६ सय बढी मतान्तरले हारेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया