१ सय ८५ किलो गाँजा भण्डारण गर्ने दुई पक्राउ

बाँकेको नरैनापुर गाउँपालिकामा १ सय ८५ किलो लागुपदार्थ गाँजा भण्डारण गरेको फेला परेको छ । इलाका प्रहरी कार्यालयले भगवानपुरले दुई जनालाई भण्डारण गरेको गाँजा सहित नियन्त्रणमा लिएको प्रहरी निरीक्षक वीर बहादुर सुनारले जानकारी दिएका छन् ।

ईलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेका अनुसार, बिशेष सुराकीका आधारमा मंगलबार दिउँसो नरैनापुर गाउँपालिका वडा नं. ६ स्थित चौबिस बिगाह र दोन्द्रा गरी दुई स्थानमा प्रहरी निरीक्षक विर बहादुर सुनार सहितको २० जनाको प्रहरी टोलीले छापा मारेको थियो । त्यसक्रममा अनिता मौर्या, चिम्मन अहिर र मङ्ते भन्ने रामदास मौर्या समेतका घरहरुमा छापा मार्दा घर र गहुँको भुस भित्र लुकाई छिपाई राखेको अवस्थामा अबैध लागु औषध गाँजा १८ बोरा (कबिर १ सय ८५ केजी) बरामद भएको हो ।

‘गाँजा सहित बरामद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको छ’, प्रहरी निरीक्षक सुनारले भने । ‘हाल अनुसन्धानमा ४ जना व्यक्तिहरु संलग्न रहेको खुल्न आएको छ’, प्रहरी निरीक्षक सुनारले भने, ‘२ जना पक्राउ परेका छन्, फरार दुई जनाको खोजी भैरहेको छ ।’ प्रहरीले ५० बर्षीया अनिता मौर्या र ३१ बर्षी पारस मौर्यालाई पक्राउ गरेको हो ।

खेतमै हुन्छ उब्जनी

बाँकेको नरैनापुर गाउँपालिका पुग्ने हो भने खेतमा प्रशस्त गाँजा र भाङ उब्जिएको देखिन्छ । ‘गाँजा आफै उम्रन्छ’, स्थानीय किसानले भने, ‘मौसम अनुकुल भयो भने फाँडेर खेती गर्छौ, नत्र त्यस्तै रहन्छ, खानेले लैजान्छन् ।’

गाँजा आफै पनि उम्रने गरेको बताउने किसानले कारोबारीहरुले भने व्यवस्थित रुपमा लगाउने गरेको बताउँछन् । किसान खेतमा गाँजा उब्जदा फँडानी तर्फ भने प्रहरीको ध्यान नजाने गरेको बताउँछन् ।

नरैनापुरमा उत्पादन हुने गाँजा खासगरी भारत तर्फ तस्करी हुने गरेको छ । नेपालकै पनि बजार क्षेत्रसम्म गाँजा नरैनापुरबाट आउने गरेको स्थानीय एक किसानले बताए ।

नेपालको धेरै क्षेत्रमा गाँजा प्राकृतिक रूपमा नै उम्रिन्छ । औषधीय गुण भएको प्रमाणित भइसकेको यो वनस्पतिलाई परम्परागत रूपमा औषधिमा पनि प्रयोग गरिन्छ । कतैकतै यसको दाना भुटेर त्यसको छोप वा अचार बनाएर खाने चलन पनि छ ।
वैज्ञानिकहरूले गाँजामा हुने विभिन्न यौगिकबारे अनुसन्धान गरेर क्यान्सर एवम् अरू रोगमा उपचार गर्ने औषधि बनाएका छन् । त्यसका लागि केही देशमा गाँजा खेतीलाई कानुनी मान्यता पनि दिइएको छ ।

प्रतिबन्ध हटाउन हुने गर्छ बहस

नेपालमा गाँजाका सम्बन्धमा रहेको प्रतिबन्ध हटाउनका लागि बेला बखत बहस हुने गरेको छ । सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घले गाँजालाई औषधीय गुण भएको वनस्पति मान्दै ’हानिकारक’ समूहबाट हटाएपछि नेपालमा पनि गाँजा माथिको प्रतिबन्ध हटाउन बहस हुँदै आएको छ । सामाजिक सञ्जालदेखि प्रतिनिधिसभा सम्म गाँजामाथिको प्रतिबन्ध हटाउन बहस हुने गरेको छ ।

तीन बर्ष अघि नै सांसदमा गाँजालाई मान्यता दिनुपर्ने भन्दै सांसद विरोध खतिवडाले कुरा उठाएका थिए ।
सन् १९७० को पूर्वार्धसम्म नेपालमा गाँजा खेती र व्यापार वैधानिक थियो । नेपालबाट ठूलो परिमाणमा गाँजा र चरेस निर्यात हुन्थ्यो । त्यसमा साना व्यापारी मात्र हैन समाजका गन्यमान्य व्यक्ति र ठूला व्यापारी पनि संलग्न हुन्थे । नेपालले प्रत्यक्ष र परोक्ष दुवै रूपमा केही न केही फाइदा पाएकै थियो ।

प्रतिनिधि सभामा गाँजा खेतीलाई बैध बनाउने सम्बन्धी गैर सरकारी विधेयक (गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६) २०७६ मा पेश भएको थियो । नेपालमा औषधीय प्रयोजन लागि गाँजा खेती गर्न पाइने गरी कार्यविधि ल्याउने तयारी समेत गत बर्ष भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया