बाँकेमा यस्तो छ हत्याको तथ्यांक

क्षणिक रिस, आवेश, आपसी दुस्मनीका कारण हुने हत्याका घटनामा कमी आउन सकेको छैन । जसका कारण अनाहक बर्र्षेनी मानिसहरुको ज्यान जाने गरेको छ । बाँकेमा पनि हत्या सम्बन्धी मुद्दा उल्लेख्य रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी तथ्यांकले सार्वजनिक अपराध, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, फुटकर ज्यान, साधारण चोरी, डाँका चोरी, सवारी चोरी, बहु विवाह, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, लागुऔषध सम्बन्धी घटनामा वृद्धि भएको देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा फाँटको तथ्यांक हेर्ने हो भने गम्भीर प्रकृतिका अपराधिक घटनामा कमी आउन नसकेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक हेर्ने हो भने ३ बर्ष १० महिनामा धेरैले अनाहक ज्यान गुमाएका छन् ।
जिल्लामा हत्या सम्बन्धी मुद्दा उल्लेख्य छन् । बाँकेमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा आ.व. ०७५/०७६ मा २१, गत आ.व. ०७६/०७७ मा ७ तथा २०७७/७८ मा १४ मुद्दा दर्ता भएका छन् । चालु आ.व.को बैशाखसम्म कर्तव्य ज्यानका ८ मुद्दा दर्ता भएका छन् ।

ज्यान मार्ने उद्योगका मुद्दा पनि बढ्दै गएका छन् । आ.व.०७५/०७६ मा ३६, आ.व. ०७६/०७७ मा ३०, आ.व. ०७७÷०७८ मा ४५ मुद्दा ज्यान मार्ने उद्योगका दर्ता भएका छन् । चालु आ.व.को बैशाखसम्म २३ वटा ज्यान मार्ने उद्योगका मुद्दा दर्ता भएका छन् ।

जिल्लामा भवितव्य र फुटकर ज्यान सम्बन्धी घटना भने तुलनात्मक रुपमा कम भएको पाइन्छ । आ.व. ०७५÷०७६ मा ३७, आ.व. ०७६÷०७७ मा २५ मुद्दा र आ.व. २०७७÷०७८ मा १३ वटा भवितव्य ज्यानका मुद्दा दर्ता भएका छन् । चालु आ.व.का. १० महिनामा १५ वटा मुद्दा दर्ता भएका छन् । फुटकर ज्यान सम्बन्धी मुद्दा उक्त आ.व.मा क्रमशः १७, १०, ६ वटा रहेका छन् । फुटकर ज्यान सम्बन्धी मुद्दामा चालु आ.व.को ६ महिनामा १० वटा मुद्दा दर्ता भएका छन् ।

कुटपिटबाट घाइते खड्काको मृत्यु
चार अभियुक्त पक्राउ
समाचारदाता
दैनिक नेपालगन्ज
सडकमा सोमबार अँध्यारोमा भएको कुटपिट पछिको हत्याका घटनामा संलग्नहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरले तत्कालै पक्राउ गर्न सफल भएको छ । सडकमा कुटपिट गरी मरणासन्न अवस्थामा छाडिएका दीक्षित खड्कालाई प्रहरीले अस्पताल भर्ना गरेपनि उनी बाँच्न सकेनन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, सोमबार अँध्यारै करिब २ बजे भएको घटनामा दीक्षित खड्कालाई गम्भीर घाइते अवस्थामा सडकमा फेला पारिएको थियो । ‘खड्का के कति कारणले घाइते भए भन्ने तत्काल छानबिन सुरु गर्यौं, दोषीलाई पक्राउ गर्न सफल भयौं’, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, ऐन मल्लले भने, ‘अनुसन्धानका लागि सुरुमा कुकुरको समेत सहयोग लिएर ८ जनालाई पक्राउ गरेका थियौं, दोषी चार जनालाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेका छौं ।’
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार, बैजनाथ गाउँपालिकाका खड्का बैजनाथ गाउँपालिका वडा नं. ४ मा गम्भीर घाइते फेला परेपछि मेडिकल कलेज कोहलपुरमा उपचारका लागि लगिएको उपचार सम्भव नभएपछि काठमाडौं लगिएको थियो । खड्काको काठमाडौं स्थित विर अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, सुन्दर शाही, पूर्ण बुढा, गोविन्द विक र खगेन्द्र थापा मगर बैजनाथ ३ स्थित पदम सुनारको घरमा बर्थ डे पार्टीमा सहभागी थिए । तत् पश्चान उनीहरु एउटा कटेजमा गएर मादक पदार्थ सेवन गरे । कजेटमा साढे १ बजेसम्म नाचगान चलेको थियो । नाचगान पश्चात उनीहरु हातमा भाटा लिएर एलबिचोकमा पुगे । सोही समयमा चिसापानीबाट पैदलै कोहलपुर तर्फ आउँदै गरेका मिलन दीक्षित भेट भए । दीक्षितले उनीहरुलाई बसपार्क जाने बाटो सोधे । सोही क्रममा विवाद भयो । ‘प्रारम्भिक अनुसन्धानबाट मगर, शाही, विक र बुढाले मरणासन्न हुने गरी दीक्षितलाई कुटेर छाडे’, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख मल्लले भने, ‘प्रहरीले घाइतेलाई उद्दार गरेर काठमाडौं पठाएपनि ज्यान बच्न सकेन, अनुसन्धान गर्दै जाँदा दोषी एकिन भए, चारैजना हिरासतमा छन् ।’

लुटपाट गर्ने तीन भारतीय पक्राउ
समाचारदाता
कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे भन्ने स्थानमा नेपाली नागरिक लुटपाट गर्ने तीनजना भारतीय नागरिकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणाका २१ वर्षीय भगत सिंह, १७ वर्षीय साहिल बादलिसे र २० वर्षीय सन्नी जेट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । उनीहरूलाई गोदावरी नगरपालिका–१ स्थित ऐश्वर्य सामुदायिक वनबाट पक्राउ गरेको हो ।
प्रनाउ जोशीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट डडेलधुराको आलितालतर्फ जाँदै गरेको वेदकोट नगरपालिका–३ बस्ने आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटरका रूपमा कार्यरत लोकेन्द्रसिंह भण्डारीले चलाइरहेको प्रदेश ०३–०१–०२३ च ८७२१ नंको सिल्भर रङ्गको सुजुकी कारलाई भीमदत्तबाटै सोही कारमा खानिडाँडासम्मका लागि लिफ्ट मागी सवार तीनजना भारतीयले निज भण्डारीलाई कुटपिट गरी लुटपाट गरेका थिए ।
निज भण्डारीलाई फोटो खिच्ने बहानामा सडकदेखि ५० मिटर तल लगी कुटपिट गरी आफूले प्रयोग गरेको गम्छा (कपडा) ले हातखुट्टा र मुख बाँधी निजका साथमा रहेको एक थान मोबाइल, एक थान पर्स र कारसमेत लगी भारतीय नागरिक फरार भएको बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया