स्थानीय तहको निर्वाचन सकिएको लगभग डेढ महिना भइसकेको छ । जनताको ब्यापक सहभागिताबाट जनप्रतिनिधि चुनिएका छन । स्थानीय समस्या र सम्भावनालाई जनचाहना अनूरुप जनप्रतिनिधिले कसरी सम्वोधन गर्छन् ब्यवहारतः हेर्न बाँकी नै छ । राजनैतिक पार्टीहरुले निर्वाचन अगाडि गरेका बाचाहरु जो प्रतिबद्धता पत्रमा उल्लेख थिए तिनीहरुलाई हल गर्ने र सफल कार्यान्वयन गर्ने चुनौती सवै जनप्रतिनिधीलाई छ नै । सबै एकै नासका मुद्दाहरु छैनन्, फरक ठाउँका फरक मुद्दाहरु भएकोले ठाउं विशेषको प्राथमिकीकरण के हो ? र कसरी सम्वोधन गर्ने भन्ने कुरा जनप्रतिनिधिको विवेकमा भर पर्दछ । स्थानीय जनप्रतिनिधि स्थानीय सरकार हो यसमा कसैको दुई मत छैन तर सरकारको कार्यशैली, योजना छनौट, कार्यान्वयन, अनुगमनको प्रकृया र समग्र प्रणाली कसरी तय गर्ने र काम सम्पन्न गर्ने भन्ने विषय जटिल छ र खरो रुपमा नउत्री सुख पनि छैन । सरकारमा सहभागी भइसकेपछि निश्चित कानुनी प्रकृया अवलम्वन गर्नै पर्दछ । कतिपय हाम्रा सामाजीक कुरितीहरु, विभेदहरु प्रगतिका बाधकका रुपमा खडा भएका छन । तिनलाई कसरी बैधानिक प्रकृयाबाटै लिकमा ल्याउने र अगाडि बढने ठुलो चुनौती छ । यिनै विविध विषयहरुलाई केन्द्र विन्दुमा राखेर यस सानो लेखमा हाम्रो आफनै स्थानीय सरकार खजुरा गाउँपालिका संग सम्वन्धित केहि विचारहरु राख्ने प्रयास गरिएको छ ।

१) जनप्रतिनिधि र जनसम्वन्ध विचको तालमेल ः प्रशस्त भौतिक पूर्वाधार, जनताको उच्च चेतनास्तर, शैक्षिक विकासमा सवल, निम्न मध्यमवर्गिय परिवारको बाहुल्य भएको यस खजुरा क्षेत्र वसोवासका हिसाबले सुगम नै मानिन्छ । लगभग बरावरी भागमा रहेको वडाहरुमा अधिकांश भुगोलमा बाटोघाटोको रुपरेखा पहिले नै कोरिएका छन् । केहि बांकी रहेका भौतिक पूर्वाधारका कामहरु विगतमा जनप्रतिनिधिहरुले सम्पन्न गरे तर पनि केही अधुरा योजनाहरु सम्पन्न गर्न बाँकी नै छ । विगतमा योजना छनौटको विधी र प्रक्रिया के थियो, कसरी सम्पन्न हुन्थे तिनी विषयमा समिक्षा गरौंला तर जनताको चाहना के हो ? र कसरी अगाडि बढने भन्ने विषय जनप्रतिनिधिले निस्कर्ष निकाल्ने विषय हो । योजना छनौटमा वैज्ञानिक विधि, पारदर्शी प्रकृया, चुस्त र फुर्तिलो प्रशासन, सफल कार्यान्वयनका लागि निरन्तर मुल्यांकन यिनी जनताका अपेक्षा हुन । खजुरा गा.पा.का जनप्रतिनिधिले गर्ने सार्वजनिक काम र सफल परिणामले नै उच्चतम स्तर मापन गर्दछ त्यसैले यस्ता कामगर्नको निम्ती जनतासंगको सम्वन्ध कस्तो राख्ने भन्ने विषयले विशेष महत्व राख्दछ । हिजोको सम्वन्ध र आजको सम्वन्धमा के बदलाव आएको छ र कसरी तालमेल मिलाउन सकिन्छ जनप्रतिनिधिहरुले विवेक पुर्याउन सके भने समुन्नत खजुरा पक्कै पनि बनाउन सकिन्छ । सरकारमा भएको पार्टी ब्यवहारतः केही रुखो हुने विशेष गरि जनप्रतिनिधिमा दम्भ बढ्ने र जनतासंग हिजो भएका बाचाहरु र सहमतिहरु विर्सने नेपालको सन्दर्भमा हुदै आएका विषयहरु हुन । माओबादी पार्टीका अधिकांश उम्मेदवारले जित हासिल गरेको यस पालीकामा माओवादी पार्टी फरक किसिमको पार्टी हो भन्ने अनुभूति पार्टीले टिकट दिएर जितेका जनप्रतिनिधिले दिलाउन सक्नु पर्दछ । हिजो आन्दोलनको समयमा पार्टीको नेतृत्वमा स्थानीय नेतृत्व जनताको समस्या बुझ्न, दुःखमा साथ दिन, गाउँघरका समस्या समाधान गर्न, कठिन काममा सघाउदै चेतना प्रदान गर्न जसरी एकाकार भयो त्यसै गरि जनतासंग उच्चतम सकारात्मक सहसम्वन्ध कायम गर्न सकेन भने फगत विकासको नाराले मात्र जनताको मन मस्तिष्क भन्दा टाढा गईन्छ भन्ने कुरा ब्यवहारतः पुष्टि भएकोले जनप्रतिनिधिले यस विषयमा बुझ्न जरुरी छ ।

२) स्थानीय जनता, जनप्रतिनिधि र प्रशासनिक कर्मचारी विचको सम्वन्धः सार्वजनिक सेवा प्रवाह गर्ने जो सुकैले पनि जनताको सेवालाई केन्द्र विन्दुमा राखेर सेवा प्रवाह गर्न सक्नु पर्दछ । समय सन्दर्भ र आवश्यकताका आधारमा जनताका समस्यालाई केन्द्र विन्दुमा राखी जनप्रतिनिधिले गरेका निर्णयहरुलाई कार्यान्वयन गर्ने काम कर्मचारी प्रशासनको हो । जनप्रतिनीधीले जनताबाट पाएको तागत र कर्मचारीको लामो समयको कार्य अनुभवलाई समायोजन गरेर एकिकृत रुपमा ब्यवहारमा कार्यान्वयन गर्ने हो भने जनताको सेवामा कुनै कमि आउँदैन ।

जनप्रतिनिधीले निर्णय गर्ने समयमा कर्मचारीले आफ्नो स्वार्थ अनुकुल प्रस्ताव तयार गरि निर्णयमा घुसाउने, निर्णय कार्यान्यन गराउने समयमा कानुनको छिद्र खोजी आफु अनुकुल ब्याख्या गर्ने, ‘र’ वा ‘तर’ जस्ता शब्द राखी निर्णय संशोधन गर्न सक्ने ठाउँ राख्ने, निर्णय पुस्तीकामा खाली ठाउँ राखी पछि निर्णय लेख्ने जस्ता कार्य कतिपय ठाउँहरुमा भइरहेका छन यस्तो कार्यले ठुलो तिक्तता पैदा गर्दछ । प्राविधिक कर्मचारीले उचित समय नदिई काममा अल्झाई राख्नु, जन प्रतिनिधिले योजना छनौट गर्दा कर्मचारीले प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप गरि प्राथमिकता बाहेकका योजनामा निर्णय गराउने जस्ता प्रवृतीले सार्वजनिक सेवा प्रदायमा कठिनाई उत्पन्न गर्दछ । कानुनी प्रकृयाका विषयमा अनभिज्ञ रहेका जनता, अनुभव नभएका जनप्रतिनिधिको कर्मचारीले फाइदा उठाउने प्रवृतिले जनताले दुःख पाउँछ । कर्मचारीले पनि पुरानो ढाँचा र प्रकृयामा सकारात्मक हस्तक्षेप गर्न सकेन भने सफलता प्राप्त गर्न सकिंदैन । कर्मचारी र जनता विचको सम्वन्ध जोडने पुल भनेकै सहजै सुचना सम्प्रेषण, पारदर्शी योजना, सरल प्रकृया र चुस्त कार्यान्वयन नै हो । जनप्रतिनिधिले सस्तो लोकप्रियता हासिल गर्न कानुनी प्रकृया भन्दा बाहिरको काम गर्न अनावश्यक रुपमा कर्मचारीलाई दवाव दिने र जनप्रतिनिधिले गरेका निर्णयहरुलाई कर्मचारीद्वारा कार्यान्वयन गर्न पन्छिने दुवै गलत प्रवृति हुन् । यस्ता गलत प्रवृतिले सेवाग्राहि पीडित बनेका छन् यस्तो कार्यलाई सचेत पक्षद्वारा रोक्न सक्नु पर्दछ । स्थानीय स्तरमा उच्च स्तरको संयन्त्र बनाई सुचना सम्प्रेषणको सन्दर्भमा, विकास निर्माणको सन्दर्भमा र सार्वजनिक सेवा प्रवाहको सन्दर्भमा निरन्तर अनुगमन र सहजीकरण गर्नु पर्दछ अनि मात्र सहज सेवा प्रदान गर्न सकिन्छ ।

३) राजनैतिक पार्टीको सुझाव र श्रोत साधनको सदुपयोगः राजनैतिक पार्टीको टिकट लिएर जनताको मत लिई जनप्रतिनिधि बनिसकेपछि सो प्रतिनिधि सबैको साझा प्रतिनिधि हो । पार्टीको नीति अनुरुप जनताको सेवा गर्नु जनप्रतिनिधिको कर्तब्य हो । पार्टीको चुनाव चिन्हमा चुनाव लडिसकेपछि स्वतन्त्र उम्मेदवार सरह पार्टी नेतृत्वलाई अवमुल्यन गर्नु, नेतृत्वलाई स्थापित गर्नुको सट्टा सर्वेसर्वा आफै हुनु, अनावश्यक भेटघाट गरि संशय पैदा गर्नु जस्ता कार्यले पार्टीको नेतृत्व र जनप्रतिनिधि विचको अन्र्तविरोध सतहमा नै देखिन पुग्छ । तर पनि सत्तामा पुगिसकेपछि पार्टी प्रति वेवास्ता गर्नु, अलिकत दम्भ बढ्नु, थोरै भएपनि निरंकुश बन्नु सार्वभौम चरित्र नै हो । सत्तामा वस्दा राज्यद्वारा जनताको सेवा गर्न सहज होस भनि प्रदान गरिएको सेवा सुविधामा सरकारको वरिपरि रहेका जनप्रतिनिधि बाहेकका ब्यक्तिले सत्ताधारी पार्टीको आवरणमा साधन र श्रोतको दुरुपयोग गर्ने परिपाटी बढ्दै जाने हुन्छ । यस्तो परिपाटीलाई सवै मिली रोक्न सक्नु पर्दछ विशेष गरि पार्टीले स्पष्ट नीति बनाउन सक्नु पर्दछ । महादेवलाई परिक्रमा गरि आर्शिवाद लिने गणेश प्रवृतिलाई जनप्रतिनिधिहरुले चिन्न सक्नु पर्दछ । साधन र श्रोतमा विगतको विरासत जोगाउन खोज्नु, कानुन अनुरुपको काम भन्दा भनसुनको आधारमा काम गर्नु, ठेक्कापट्टामा सिण्डीकेट लागु गरि निर्माणको काम गराउनु, प्रतिस्पर्धात्मक प्रणालीको सट्टा कोटेशन पास गरि काम जिम्मा लगाउनु र मिलेमतो गरि भुक्तानी दिने जस्तो परिपाटीले जनतामा निराशा पैदा गर्दछ यस्तो कार्यलाई जनप्रतिनिधिले रोक्न पार्टिको नीति अन्तर्गत रहन सक्नु पर्दछ । जनप्रतिनिधिमा रहेको अधिकार प्रयोग गर्दा स्पष्ट मापदण्ड बनाई सबैलाई मान्य हुने विधी निर्माण गर्न सक्नु पर्दछ । विगतमा भएका गलत प्रवृति के थिए तिनलाई सच्चाई अगाडि बढेमा पक्कै पनि सकारात्मक सन्देश जाने नै छ । विकास निर्माणको काम साधन र श्रोतले मात्र पनि सफल हुन सक्दैन ब्यापक जनसहभागिताको माध्यमबाट सुक्ष्म निगरानी, जनप्रतिनिधीको निरन्तर अनुगमनमा केन्द्रित रहेर गर्न सक्नु पर्दछ । सरकारी साधन श्रोतको परिचालनमा निरन्तर निगरानी हुन सकेन भने दुरुपयोग त हुने नै छ योजना पनि अलपत्र हुने छ ।

४) अधुरो काम सम्पन्न र नयाँ कामको थालनी ः सरकार जिम्मेवार अभिभावक भएको कारणले जनताले धेरै विषयमा आशा राख्नु स्वभाविक नै हो । स्थानीय सरकार जनताको घरमै पुगेर दुःख सुख बुझने संस्था भएकोले बढी अपेक्षा हुन्छ नै । पूर्वाग्रह सोचले राजनैतिक अभिष्ट त पुरा होला तर विकासमा पक्कै पनि पछि परिन्छ । त्यसैले पुराना गल्ती कोट्याउनु भन्दा तत्कालीन स्थानीय सरकारले अघि सारेका अधुरा कार्यहरुलाई पुरा गर्नु नै बुद्धिमानी मानिन्छ । राज्यका तर्फबाट लगानी गरिएका पूर्वाधारहरु कुनै जिर्ण छन्, कुनै मर्मत योग्य छन, धेरै योजनाहरु अपुरा छन्, संस्थागत रुपमा थुप्रै वेथिति छन् तिनी कार्यहरुलाई विवेकसम्मत ढंगले पुरा गर्न सकियो भने एउटा स्वरुप निर्माण हुने छ । विषयगत रुपमा सैद्धान्तिक आधार प्रदान गर्ने सहयोगी संस्थाहरुको सहयोगले योजना निर्माणमा सहजता प्रदान हुने नै छ । विगतमा स्थानीय सरकारको आयोजनामा भएको वृहत खजुरा सम्मेलनले घोषणा गरेको घोषणा पत्र सन्दर्भ सामाग्रीको रुपमा ग्रहण गर्न कन्जुस्याई गर्नुपर्ने कारण छैन । सवै राजनैतिक पार्टीका नेतागणको सुझाव, संघ तथा प्रदेशका माननिय सांसदहरु र स्थानीय बुद्धिजीवीको एकिकृत सुझावले योजना निर्माणमा स्पष्ट खाका दिन सक्दछ, सफल कार्यान्वयनको मार्ग प्रशस्त हुन्छ साथै नयाँ कामको थालनीमा उर्जा प्राप्त गर्दछ । सरकारको बैधानिक संस्थामा वसेर काम गर्न र जनताको सेवा गर्न प्राप्त भएको उपयुक्त र सही अवसरलाई समयमै चिन्न सकिएन भने भावी पुस्ताले धिक्कार्ने छ र समाजको अग्रगामी विकासको निम्ती गरिने प्रयासलाई केही समय पछाडि धकेलिने छ । त्यसैले महत्वाकांक्षी सोच र सम्पन्न गर्नै नसकिने योजना भन्दा समाजको आवश्यकता अनुरुपको योजना निर्माण, सफल कार्यान्वयन र सचेतना बृद्धि गर्नु नै उचित हुन्छ । त्यसैले खजुरा गाउँपालिकालाई सफल बनाउन सवैको उत्तिकै भूमिका हुन्छ नै जनताको अपेक्षा पनि यहि रहेको छ । (लेखक गैरे अडिटर्स एशोसियसन बांकेका अध्यक्ष हुनुहुन्छ ।)

प्रतिक्रिया

प्रतिक्रिया