सामुदायिक विद्यालयसँग बागेश्वरी एकेडेमीको ‘हातेमालो’

कोहलपुर स्थित बागेश्वरी एकेडेमीले सामुदायिक विद्यालयसँग हातेमालो गर्न थालेको हो

बाँकेको कोहलपुर स्थित बागेश्वरी एकेडेमीले नजिकैको सामुदायिक विद्यालयसँग ‘हातेमालो’ सुरु गरेको छ । बागेश्वरीका अध्यक्ष किसन गुरुङ्गले मंगलबार आफ्नो विद्यालय नजिकै रहेको सामुदायिक विद्यालय श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय सुधारका लागि ‘हातेमालो’ सुरु गरिएको घोषणा गरेका हुन् ।

पहिलो चरणमा सामुदायिक विद्यालय परिसरमा स्वच्छ खानेपानीका लागि जडान गरिएको अत्याधुनिक खानेपानी धारा उद्घाटन गर्दै अध्यक्ष गुरुङ्गले भने, ‘हाम्रो उद्देश्य समाजमा असल शिक्षा प्रवाह गर्नु हो, त्यसका लागि सामुदायिक र संस्थागत विद्यालय बीचको सहकार्यले राम्रो परिणाम दिन्छ ।’

अध्यक्ष गुरुङ्गले बागेश्वरी एकेडेमीको सामाजिक उत्तरदायित्व अन्तर्गत आफुले १ लाख ७५ हजार बराबरको लागतमा स्वच्छ खानेपानी ट्यांकी जडान गरिएको जानकारी दिंदै साप्ताहिक सरसफाईका लागि कर्मचारी व्यवस्थापन गर्ने, उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई आधारभूत विद्यालयका कक्षामा शिक्षण सिकाईका लागि परिचालन गर्ने लगायतका योजना बनाइएको बताए । उनले संस्थागत र सामुदायिक भनेर विद्यालयहरु बीच विभेद गर्न नहुने धारणा राख्दै भने, ‘अझ सरकारले त विभेदकारी नीति ल्याउनै हुँदैन ।’

हातेमालो कार्यक्रमको उद्घाटनमा कोहलपुरका नगर शिक्षा प्रमुख रविलाल मिजारले तीन पीको अवधारणा अन्तर्गत संस्थागत विद्यालयले सामुदायिक विद्यालय सुधारका लागि सहकार्यको शुभारम्भ गरेको सन्तोष व्यक्त गरे । ‘कोहलपुरमा ५७ वटा संस्थागत विद्यालय छन्, ३० वटा सामुदायिक यसरी नै एउटा विद्यालयले अर्को विद्यालय गर्दै अगाडि बढ्ने हो भने शैक्षिक क्षेत्रमा व्यापक सुधार सम्भव छ’, नगर शिक्षा प्रमुख मिजारले भने, ‘ल्याब, पुस्तकालय, खेल सामाग्री, कम्प्युटर लगायतका विषयमा संस्थागतले सामुदायिकलाई सहयोग गर्न सक्छन् ।’

कार्यक्रम शुभारम्भमा पुगेका नेपाली सेना बज्रदल गणका प्रमुख, महासेनानी श्याम आत्रेय पौडेलले संस्थागत र सामुदायिक विद्यालय बीच हातेमालोको अभियानले हरेक संस्थागत विद्यालयलाई सामाजिक उत्तरदायित्वको बोध गराउने बताए ।

आधारभूत विद्यालयका प्रधानाध्यापक पुरन थारुले कक्षा १ देखि ८ सम्मका ३ सय ५० विद्यार्थीलाई स्वच्छ खानेपानी उपलब्ध भएकोमा खुशी व्यक्त गरे । ‘संस्थागत विद्यालयले सामुदायिकसँग गरेको हातेमालोले सकारात्मक प्रभाव ल्याउनेमा विश्वस्त छौं’, प्रधानाध्यापक थारुले भने, ‘भौतिक पूर्वाधार पर्याप्त छैनन्, सरकारी सहयोगले पुगेन ।’ उनले विद्यार्थीहरुलाई निःशुल्क भनिएपनि आर्थिक स्तर कमजोर भएका बालबालिकाहरुका लागि पोशाक, खाजा, शैक्षिक सामाग्रीको सहयोग अपेक्षित भएको बताए ।

बागेश्वरी एकेडेमीका प्रिन्सिपल श्रीधर गोराथोकीले शैक्षिक वातावरण सुधारका लागि ‘हातेमालो’ले सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे । ‘सामुदायिक विद्यालय राम्रो भयो भने शैक्षिक वातावरण राम्रो बन्छ’, गोराथोकीले भने, ‘संस्थागत र सामुदायिक विद्यालय भनेर विभेद गर्ने अवस्था पनि क्रमशः अन्त हुँदै जान्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया