चार हजार बढीलाई सिकलसेल, २० जनाको सकियो उपचार अनुदान

पश्चिम नेपालमा थारु समुदायमा बढी पाइने गरेको सिकलसेलको उपचार गर्नुपर्ने बिरामीको संख्या ४ हजार बढी रहेको छ ।

थारु समुदायमा जनस्वास्थ्य समस्यामा रहेको सिकलसेल पहिचान, सचेतना र उपचारका लागि प्रभावित क्षेत्रका लागि तीन तहकै सरकारले बजेट विनियोजन गर्न थालेका छन् । कुनै बेला सिकलसेललाई महत्व नदिएको सरकारले पछिल्ला बर्षहरुमा स्वास्थ्य समस्या मान्दै अन्य जटिल रोगहरुमा जस्तै उपचारका लागि बजेट विनियोजन गर्न थालेको छ ।

सिलसेल, थालेसिमिया कार्यक्रमका स्रोत व्यक्ति समेत रहेका भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ड फिजिसियन एवं विभागीय प्रमुख डा. राजन पाण्डेले भेरी अस्पतालमा मात्रै ८ सय ८४ जनाको नियमित फलोअप उपचार भैरहेको जानकारी दिएका छन् । उनले परीक्षणका क्रममा सिकलसेल भएका अन्यलाई भने सम्बन्धित जिल्लाको सरकारी अस्पतालमा उपचारका लागि रेफर गर्दै आएको जानकारी दिएका छन् । ‘थारु समुदायका लाखौंमा सिकलसेल रहेको छ’, डा. पाण्डेले भने, ‘परीक्षणको दायरासँगै सचेतनाका कार्यक्रम व्यापक रुपमा सञ्चालन गर्न आवश्यक रहेको छ ।’

स्वास्थ्य कार्यालय बाँकेले सिकलसेल, थालेसीमीयाका सम्बन्धमा सोमबार नेपालगन्जमा आयोजना गरेको सञ्चारकर्मीहरुलाई अभिमूखिकरण कार्यक्रममा बोल्दै जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले विशेषगरी थारु समुदायमा देखिने सिकलसेल नियन्त्रणका लागि जनचेतना आवश्यक रहेको बताएका थिए । उनले त्यसका लागि भूमिका निर्वाह गर्न सञ्चारकर्मीसँग आग्रह गरे ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बाँकेमा सिकलसेल पहिचानका लागि स्क्रिनिङको काम भैरहेको जानकारी दिएका छन् । ‘राप्तीसोनारी गाउँपालिकाको वडा नं. ४, ५, ६ र ७ मा स्क्रिनिङ गरिएको हो’, उनले भने ।
जनस्वास्थ्य अधिकृत श्रेष्ठले राप्तीसोनारी गाउँपालिका वडा नं. ४ मा ३ सय ७३ जनाको नमूना परीक्षण गर्दा १७ जनामा सिकलसेल देखिएको बताए । त्यहाँ परीक्षण गरिएको १७ प्रतिशतमा सिकलसेल देखिएको हो ।

बाँकेको बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा २ हजार बढीको सिकलसेल परीक्षण गर्ने जनस्वास्थ्य कार्यालयले लक्ष्य लिएको छ ।


सरकारले सिकलसेलका बिरामीलाई उपचारका लागि बार्षिक १ लाख रुपैयाँ उपचारका लागि सहयोग गर्दै आएको छ । तर, कतिपय बिरामीलाई उक्त रकम अपुग हुने गरेको छ । भेरी अस्पताल नेपालगन्जमा उपचार गराइरहेका मध्ये २० जनाको सरकारले दिएको अनुदान रकम सकिएको छ ।

‘सिकलसेल उपचारका लागि प्रयोग हुने औषधी बीमामा नहुँदा पनि बिरामीलाई आर्थिक समस्या हुने गरेको हो’, डा. पाण्डे भन्छन्, ‘सरकारले आवश्यक औषधीको श्रेणीमा राखेपनि बीमामा सूचिकृत नगरेकाले बीमाबाट औषधीको लाभ तत्काल सिकलसेलका बिरामीले लिनसक्ने अवस्था छैन ।’ ‘नीतिगत समस्याका बारेमा ध्यानाकर्षण गराएको छु’, उनी भन्छन् ।

‘सिकलसेल/थालेसीमीया कुण्डली मिलाउनु नै विकल्प’

सिकलसेल सरुवा रोग नभएपछि वंशानुगत रुपमा यो सन्तानमा सर्ने गर्दछ । मानव रगतमा पाइने रातो गोलाकार रक्त कोषिकाको स्वरुप परिवर्तन भई हँसियाजस्तै आकारमा रुपान्तरण हुने रक्तअल्पता सम्बन्धी रोगलाई सिकलसेल रोग वा सिकलसेल एनिमिया भनिन्छ ।

यो रोग वंशाणुगत रोग हो र नेपालमा खासगरी पश्चिम तराईका थारु जातिमा बढी पाइन्छ ।
‘सिकलसेल र थालेसीमीया नियन्त्रणका लागि रक्तजाँच गरेर कुण्डली मिलाउनु नै उत्तम विकल्प हो’, नेपालमा सिकलसेलको पहिचान गरेको श्रेय पाएका डा. राजन पाण्डे भन्छन् । उनले लामो अध्ययन, अनुसन्धान पछि सिकलसेल/थालेसीमीयाको कुण्डली समेत बनाएका छन् । ‘कुण्डलीको पालना गर्ने, गराउने हो भने सिकलसेल बंशालुगत रुपमा फैलन रोकिन्छ’, उनी भन्छन् ।

सिकलसेल र थालेसीमीया नियन्त्रणका लागि रक्तजाँच गरेर कुण्डली मिलाउनु नै उत्तम विकल्प हो

डा. राजन पाण्डे


डा. पाण्डेले बनाएको कुण्डलीमा सिकलसेलको सामान्य, वाहक र बिरामी गरी तीन श्रेणीमा विभाजन गरेका छन् । ‘सिकलसेलका वाहकमा कुनै पनि स्वास्थ्य समस्या हुँदैन’, उनले भने, ‘तर, सिकलसेलका वाहक पुरुष र महिला बीच विवाह भई बच्चा जन्मदा २५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत वाहक हुने सम्भावना रहन्छ ।’ त्यसैले डा. पाण्डे सिकलसेलका वाहक महिला पुरुष बीच विवाहको सुझाव दिंदैनन् । ‘महिला र पुरुष दुवै सिकलसेलका वाहक छन् भने ७५ प्रतिशत सन्तानमा सिकलसेल वाहक वा बिरामी हुने जोखिम हुन्छ’, उनी भन्छन् ।


डा. पाण्डेले सिकलसेल वाहक भएका पुरुष र महिलाले सामान्य पुरुष र महिलासँग विवाह गर्दा बिरामी बच्चा नजन्मने बताउँछन् । ‘यद्यपि, जन्मने बच्चा सामान्य ५० प्रतिशत र ५० प्रतिशत वाहक हुनसक्छन्,’ उनले भने, ‘यस्तो विवाह उचित नै हुन्छ ।’


सिकलसेलका बिरामी पुरुष र बिरामी महिलाले सामान्य पुरुष र महिलासँग विवाह गर्दा जन्मने सबै बच्चा सिकलसेलका वाहक हुन्छन् । ‘वाहकमा स्वास्थ्य समस्या नहुने भएकाले यो विवाह पनि उचित हुन्छ’, उनले भने ।


सिकलसेलका बिरामी पुरुष र महिलाले सिकलसेल बिरामी महिला र पुरुष बीच सम्पर्क भई हुने बच्चा भने शतप्रतिशत सिकलसेलका बिरामी हुने गरेको डा. पाण्डे बताउँछन् । ‘सिकलसेलका वाहक तथा बिरामी पुरुष–महिलाले सिकलसेलका वाहक पुरुष र महिलासँग विवाह गर्दा जन्मने बच्चा ५० प्रतिशत वाहक र ५० प्रतिशत बिरामी जन्मन्छन्’, डा. पाण्डे भन्छन्, ‘यस्तो अवस्थामा विवाह नगर्नु उचित हुन्छ ।’

थालेसीमीया उपचारमा आर्थिक अभाव

सिकलसेल जस्तै थालेसीमीया पनि आनुवांशिक सर्ने रातो रक्तकोषको समस्या हो । यो माइनर टे«ट हुने गर्दछ । बाबु र आमा दुवैबाट सर्ने भएमा थालेसीमीया मेजर र कुनै लक्षण नदेखिने माइनर थालेसीमीया हो । ‘एक थालेसीमीया माइनर र अर्को थालेसीमीया माइनरसँग विवाह गरेमा सन्ततिमा मेजर थालेसीमीया देखिन्छ’, डा. राजन पाण्डेले भने ।


नेपालमा थालेसीमीयाका बिरामी बालबालिकालाई उपचारका लागि आर्थिक अभाव हुने गरेको छ । सरकारले सिकलसेलका बिरामीलाई एक लाख सहयोग गर्दा थालेसीमीयाका बिरामीलाई भने कुनै सहयोग गरेको छैन । जसका कारण परिवारलाई सन्तानको नियमित उपचार नै गर्न नसक्ने गरेको डा. पाण्डे बताउँछन् ।


थालेसीमीयाका बिरामी बच्चाको मृत्यु उपचारको अभावमा १०/१२ बर्षमा नै हुने गरेको छ । ‘थालेसीमीयाका बिरामी बच्चा २० बर्ष पनि बाँचेको पाइँदैन’, डा. पाण्डे भन्छन्, ‘यो थारु समुदाय बाहेक अन्य समुदायका बच्चामा पनि धरैनै पाइन्छ ।’
डा. पाण्डेका अनुसार सिकलसेल भेटिएका मध्ये ९९ प्रतिशत थारु समुदायका हुने गरेपछि थालेसीमीया भने भेटिएका मध्ये ३३ प्रतिशत थारु समुदायको र ६७ प्रतिशत अन्य समुदायको हुने गरेको बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया