नेपालगन्ज नाकामा दैनिक भेटिंदैछन् कोरोना संक्रमित

असारको पाँच दिनमा ८ संक्रमित फेला परे

नेपालगन्जको जमुनाह नाकामा असारको ५ गतेसम्म ९ जना कोरोना संक्रमित फेला परेका छन् । जमुनाह हेल्थ डेस्क इन्चार्ज चिरञ्जीवि ज्ञवालीले असारयता भारतबाट भित्रिने ४ सय ३४ जनाको परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । गत जेठमा परीक्षण गरिएका मध्ये ९ जनामा कोरोना पोजेटिभ फेला परेको थियो ।
जमुनाह नाकामा हालसम्म ८५ हजारको एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ३ सय २ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये २० जनामा मात्रै लक्षण देखिएको थियो । नाकामा क्षयरोग, मलेरिया लगायतको परीक्षण हुने गरेको छ । सीमामा भारतबाट आउनेलाई पहिलो र दोस्रो खोप समेत लगाउने गरिएको छ ।

भारतमा कोरोना संक्रमित बढ्दै जाँदा नेपालमा पनि बढ्ने गरेको पछिल्ला उदाहरण छन् । भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८९९ जना संक्रमित भएका छन् । शनिबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना संक्रमति यो संख्या तीन महिनापछिको नै धेरै हो । भारतमा गत बुधबारबाट संक्रमितको संख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । यसैवर्षको फेबु्रअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ संक्रमित थपिएका थिए । भारतमा शनिबार १२ हजार ८९९ जना कोरोना संक्रमित थपिएपछि भारतमा सन् २०२० को मार्चबाट सुरु भएको कोरोना संक्रमितको कुल संख्या चार करोड ३२ लाख ९६ हजार ६९२ पुगेको छ । यसमध्ये ७२ हजार ४७४ सक्रिय संक्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय संक्रमितको यो संख्या कुल संक्रमितको ०.१७ प्रतिशत हो ।

प्रतिक्रिया

प्रतिक्रिया