मौलाकाली गण्डकी प्रदेश पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका वाडनं १ मा पर्दछ । मानिस प्रकृतिको पुजारी हो । प्रकृतिसंग जो कोही पनि रमाउछ । मौलाकाली केवल तीर्थाटनका लागि मात्र नभएर प्रकृति प्रेमी पर्यटकहरुका लागि पनि पुग्नै पर्नेे स्थल हो । महाभारत पर्वत श्रृखलामा रहेको मौलाकाली परिशरबाट सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । पर्यटकहरुले एकै स्थानबाट नारायणघाट बजार, गैडाकोट, नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गर्न पाउदा रमाउने गर्दछन् । मौलाकालिका मन्दिर, धार्मिक, साँस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले अति नै महत्वपूर्ण मानिन्छ । समुद्र सतह देखि ५६१ मिटरको उचाईमा रहेको मौलाकाली सामुदायिक वन र मौलाकालिका धार्मिक वनभित्र निकै रमणीय हरियाली वातावरण प्राकृतिक सौन्दर्यले श्रृगारिएको छ ।

नारायणगढबाट नारायणी नदीको पुल पार गर्ने बित्तिकै अथवा बुटवलबाट नारायणघाट जादा नारायणीको पुल नपुग्दै दाहिनेतिर सवारी साधनबाट चार किलोमिटर यात्रा पछि मौलाकाली मन्दिरको प्रवेशद्वारमा पुगिन्छ । गैडाकोटको समतल वस्ती किनारको महाभारत श्रृखलाको फेदीबाट सुरु हुन्छ मौलाकालीको यात्रा । मौलाकाली जान प्रवेशद्वारदेखि पैदल यात्राको लागि ढुङ्गा बिछाइएको सिढी मार्ग निर्माण भएको छ । मौलाकाली परिशरको क्षेत्रलाई जवडाडा भनिन्छ । पर्यटकहरुले मन्दिर सम्म पुग्न १ हजार ८ सय ८२ वटा सिंढी पदयात्रा गर्नु पर्दछ । पर्यटकहरुले मौलाकाली जादा सिँढीमार्गको दायाँबायाँ अहिले मूर्तिकारहरुले बिभिन्न देवी देवताहरुका मूर्ति बनाइ दिएका छन् । सिँढीमार्गमा सिद्धि विनायक गणेश, श्रीकृष्ण भगवान तथा देउराली देवीको पूजा–अर्चना र दर्शन गरी आत्म सन्तुष्टि लिन पाउछन् । मौलाकाली जाने तीर्थाटनका पर्यटकहरुलाई उकालो चढदा पनि कठिनताको महसुस हुदैन । ठाउठाउमा निर्माण भएको चौतारीमा विश्रामगरी चिसो पानी पिउँदै,सुन्दर प्राकृतिक दृश्यावलोकन गर्दै करिब एक घण्टाको पैदल यात्रामा मौलाकाली मन्दिरमा पुग्न सकिन्छ । सिढीको उकालो बाटोमा चारैतर्फको मनमोहक दृश्यले तीर्थाटनका पर्यटकहरुलाई उकालो चढेको पत्तै हुदैन ।

उकालो पार गरे पछि जव डाँडाको टुप्पामा अर्थात मौलाकालिकाको मन्दिरमा पुगिन्छ तव पर्यटकहरुलाई रमणीय पर्यटकीय छटाले मोहनी लगाउँछ । मौलाकालिकाबाट देखिने पवित्र देवघाट धाम, नारायणी नदी, नारायणगढ बजार र अर्कोतर्फ गैंडाकोटको बार्है महिना मकैफल्ने उर्वर भूमिले पर्यटकहरुको मन लोभ्याउने गर्दछ । जुन कारणले आजभोली मौलाकालिका मन्दिर आन्तरिक र वाह्य पर्यटकहरुका लागि महत्वपूर्ण गन्तब्य बनेको छ । दक्षिणतर्फ नजिकै देखिने नारायणगढ बजारका साथै त्रिशूली र कालीको संगम देवघाटधाम पछि नारायणी नामबाट बग्ने नदीले त्यहाँ पुग्ने हरेक पर्यटकहरुको मन लोभ्याउ छ । मौलाकाली परिशरबाट नवलपरासी, चितवन, तनहुँ एवं गोरखा जिल्लामा पर्ने अग्ला अग्ला पहाड, डाँडा, भञ्ज्याङ, भीरपाखा र हिम श्रृंखलाहरुको साथै देवघाटधाम, चितवनको समथर भूमि र राष्ट्रिय निकुञ्जको जंगल अवलोकन गर्न सकिन्छ । मन्दिर परिसरमा महाकाली, महालक्ष्मी, महासरस्वती, शिव र गणेशका सुन्दर मूर्र्तिका साथै तुलसीमठ, शिवलिङगहरु बनाइएका छन । अर्को तर्फ भान्छा घर, भजन किर्तन एवं अतिथि भवन, परेवाको लागि पक्की घर, प्राङणमा टायल बिच्छाइएको छ भने स्वागतद्वार, अतिथी सत्कार गृह, आदि मौलाकालिकामा निर्माण भएका छन् ।

मौलाकाली जाँदा हरियाली वातावरण, चराचुरुङीको आवाज गैडाकोट र नारायणघाटको घना शहरी बस्ती, नारायणी नदी दाया, वायाका मैदानी भागको दृष्यले पर्यटकहरुलाई छुट्टै आनन्दको अनुभूति हुन्छ । अहिले ऐतिहासिक मौलाकाली जादा सिँढीमार्गको दायाँबायाँमा रहेका ढुङ्गामा कलाकारले कलात्मक शिव, गणेश, काली, वनदेवी, कछुवा, हात्ती, गुप्तेश्वर शिवलिङ्गलगायतका मूर्ति निर्माण गरेका छन् । सिँढीमार्गको दायाँबायाँ निर्माण गरिएका आकर्षक मूर्तिले मौलाकाली जाने तीर्थाटनका पर्यटकहरुलाई थप भावनात्मक सोचलाई आकर्षण गराएको छ । मौलाकाली जानको लागि सामुदायिक वनले निर्माण गरेको कच्ची मोटर मार्ग पनि छ । तर माल सामान लैजानको लागि मात्र सडक प्रयोग हुदै आएको छ । धेरै तीर्थाटनका पर्यटकहरु सिढीँमार्गनै प्रयोग गर्दछन् । अहिले आएर केवलकार सञ्चालनको लागि पनि आवश्यक प्रक्रिया शुरु गरिएको छ । मौलाकालीको फेदी धारापानिमा तल्लो स्टेशन र मौलाकालीको हेलिप्याड रहेको स्थानमा माथिल्लो स्टेशन निमार्ण हुने भएको छ ।

मौलाकाली मन्दिर करिब ५०० वर्ष पहिला पन्ध्रौँ शताब्दीतिर पाल्पाका राजा मणिमुकुन्द सेनले बनाएका हुन् । यो मन्दिर बि.स.१९९० सालको भुकम्पले पुरानो मन्दिर ध्वस्त भएपछि प्यागोडा शैलीमा फेरि बनाइएको हो । पाल्पा राजा मणिमुकुन्द सेनको सैनिक टुकुटीले मौला राखेर शक्तिपिठको पूजा गरेको हुनाले मन्दिरको नाम मौलाकाली राखिएको हो । मौलाकालीको पूजा गरे मनको इच्छा पूरा हुने जनविश्वास रहेको छ । पछिल्लो समय मन्दिरमा भौतिक संरचना र पर्यटन विकासको लागि पुर्वाधार थपिदै गएपछि तीर्थाटनका पर्यटकहरु बढन थालेका छन् । विशेषतः शनिबार, मगंलवार र बिदाका दिन मौलाकालीमा तीर्थाटनका पर्यटकको घुइँचो लाग्ने गर्दछ । मौलाकालीको मन्दिर परिसरमा महाकाली, महालक्ष्मी, महासरस्वती, शिव र गणेशका मूर्ति,तुलसीमठ,शिवलिङ्ग,भजन किर्तन एवं अतिथि भवन समेत रहेको छ । वि.स.१९९० साल सम्म मौलाकालीमा पुजागर्ने ठूलो सालको रुख थियो । त्यो रुख अहिले नभए पनि ऐतिहासिक ढुङगाको पर्खाल,पुराना खुडा,तरवार जस्ता पुराना हतियारलाई समेत संरक्षण गरिएको छ ।

मौलाकालीको घुमफिर पछि घुमफिरको समय लम्वाउन सके देवघाट जान पनि सकिन्छ । कालीगण्डकी किनारमा रहेको देवघाटधाम र काली पश्चिम महाभारत पर्वत श्रृखलामा रहेको मौलाकाली देखि १ घन्टाको पैदल यात्रामा पुग्न सकिन्छ । यी दुबै सम्पदाको इतिहास मुकुन्द सेनसंग जोडिएको छ । देवघाटधामको परिसरमा गलेश्वर आश्रम चक्रेश्वरशिला, सीता गुफा, वशिष्ट गुफा, हरिहर मन्दिर, महेश सन्यास–आश्रम, राम मन्दिर यज्ञशाला, कठस्तुप, सिद्धि गणेश, गोपिधाम, सुर्यकूण्ड जस्ता पवित्र तीर्थाटनस्थल रहेका छन । देवघाटधाममा मध्यकालिन भग्नावशेषका रुपमा मुकुन्द सेनले बनाएको पन्चदेवल अहिले पनि छ । साथै मणि मुकुन्द सेनको श्री विग्रह शिला पनि रहेको छ । जसलाई चक्रशीलाको नामले चिनिन्छ । मुकुन्द सेनले देवघाटधाममा बाह्र वर्ष तपस्या गरेका थिए । देवघाट तीर्थाटनको लागि नेपालको अतिप्राचीन महत्वको धार्मिकस्थल मानिन्छ । गलेश्वर बाबाले देवघाटमा आई तपस्या गरेपछि यसको प्राचीन एवं लौकिक महत्व बढन गएको हो । देवघाटमा माघे सक्रान्ती, साउने सोमबार, बाला चतुर्दशीलगायत विभिन्न पर्वमा मेला लाग्ने गर्दछ । देवघाटमा स्नान गरी शिवजीको उपासना गरेमा मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । स्कन्ध पुराण हिमवत्सखण्डको अध्याय ४४ पृष्ठ ९९ मा उल्लेख भए अनुसार पृथ्वीमा भएका तीर्थस्थल मध्ये सबैभन्दा फलदिने पवित्रस्थल देवघाट संगम हो भन्ने कुरा सस्कृतविदहरुको भनाइ रहेको छ ।

तनहू, चितवन र नवलपरासी जिल्लाको संगम स्थल देवघाटमा अहिले तपस्वी, साधु, सन्यासी, सन्त महात्मा र कल्पवासीहरुको वासस्थान वनेको छ । आजभोली तीर्थाटनका पर्यटकहरु देवघाटमा मात्र नभएर मौलाकाली मा समेत जाने गर्दछन् । देवघाटमा तीर्थाटनका पर्यटक भित्राउने उद्देश्यका साथ तीन जिल्ला जोडने गरी त्रिशूली र कालीको संगमस्थलमा त्रिकोणात्मक धार्मिक पर्यटकीय पुल निर्माणको प्रक्रिया अगाडि बढेको छ । निर्माण हुन लागेको आर्च ब्रिज पुललाई एउटा मात्रै पिलरले धान्ने छ । आर्च ब्रिज पुल तीन जिल्ला गरी ६०० मिटर लामो बन्नेछ । यस्तै खालको पुल रिडीमा पनि बन्दै गरेको छ । आर्च ब्रिजबाट पैदल र मोटरसाइकल मात्रै यात्रा गर्न सकिन्छ । पुलबाट वरिपरिका धार्मीक क्षेत्रमा अवलोकन गर्न सकिने भएकाले तीर्थाटनका पर्यटकहरु रमाउन सक्ने अनुमान गरिएको छ । देवघाट क्षेत्र नवलपरासीतर्फ मौलाकाली जानका लागि मौलाकालिका–वेणी धार्मिक पर्यटकीय पदमार्ग निर्माणको काम भइरहेको छ । वेणीबाट मौलाकालिका मन्दिरसम्म पुग्न ३ दशमलव ५ किलोमिटर उकालो पैदल यात्रा गर्नु पर्दछ । देवघाट एशियामा नै चिनिएको पवित्र तीर्थस्थल हो । देवघाटमा सौराहा, लुम्बिनी, पोखरा र पशुपति क्षेत्रबाट पनि तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन् ।

नेपालको हिमनदी मध्ये कालीगण्डकी प्रसिद्ध धार्मीक नदी मानीन्छ । मुस्ताङ जिल्लाको हिम श्रृखलामा रहेको दामोदरकुण्डबाट उदगम भएको कालीगण्डकी हिन्दुहरुको आस्थाको केन्द्र विन्दु मुक्तिनाथको कागवेनी, रुद्रवेणी, रुरुक्षेत्र, राम्दी, केलादी हुदै देवघाटमा पुगेपछि त्रिशुली नदीमा विलय भै नारायणी नदी बन्दछ । संसार कै गहिरो गल्छी वनायर वग्ने कालीगण्डकीको शालीकग्रामको ठूलो महत्व मानीन्छ । कालीगण्डकीको किनारमा ऋषिहरुको आश्रम र तीर्थस्थलको बारेमा पुराणमा उल्लेख छ । देवघाट धार्मीक दृष्टिकोणले मात्र होइन, ऐतिहासिक खोजको लागि पनि महत्वपूर्ण मानीन्छ । देवघाट देखि त्रिवेणीधाम भारतीय सिमानामा पर्ने भैसालोटन सम्मको नारायणी नदी को करिडोरका विभिन्न नामले प्रख्यात धार्मीक,ऐतिहासिक घाटहरु अध्यात्मीक चिन्तन गर्ने पर्यटकहरुका लागि अध्यन अनुसंन्धानका स्थल वन्न सक्दछ ।
तीर्थाटन पर्यटन अर्थात तीर्थयात्रा संसारकै पुरानो पर्यटन मानिएको छ । युनेस्कोका अनुसार संसारका ६० प्रतिशत मानिस कुनै न कुनै धर्मको अभ्यास गर्छन् र तिनै मानिस तीर्थाटन पर्यटनका मुख्य आधार मानिन्छन् । नेपालमा धेरै पर्यटन क्षेत्र तीर्थाटनसंग जोडिएको छ । प्राचीन महत्वको देवघाट र मौलाकालीलाई तीर्थाटन पर्यटनको लागि विकास गर्न पर्दछ भन्ने मान्यता अनुसार गैडाकोट, नारायणघाट र आसपासका सामाजीक, धार्मीक, राजनैतिकदल सवै एकजुट भएका छन ।

प्रत्येक वर्ष सडक, आवास र मठ मन्दिर निर्माण गरी तीर्थाटन पर्यटनको पूर्वाधार थपिएका छन । मौलाकाली क्षेत्रलाई वातावरण अनुकुलको प्रभावबाट वचाउन पर्दछ भन्ने मान्यता अनुसार वातावरणविद पनि मौलाकालीको वारेमा चासो देखाउन थालेका छन । वनको हयिाली भएन भने धार्मीक र पर्यटकिय स्थलको महत्व घटन सक्दछ भन्ने मान्यता राख्दै मौलाकाली र देवघाटलाई वातावरणिय स्वरुपमा राख्न पर्दछ भनेर सामुदायिक वनले भएका वोट, विरुवालाई संरक्षण गर्दै आएका छन ।
गैडाकोटमा राजा महेन्द्रबाट बि.स.२०१९ बैशाख १ गते पूर्व पश्चिम राजमार्गको शिलन्यास गरीएको थियो । त्यो भन्दा पहिले पुर्व पश्चिममा सडक मार्ग थिएन । राणाहरुको पाला देखि राजा महाराजाहरुले शिकार खेल्ने चितवनको जंगल मानव बस्तीको लागि वि.स. २०१४ सालमा राजा महेन्द्रले जंगल फडानी गरी बस्ती बसालेका हुन । ०१८ साल भन्दा पहिले नेपाल ३५ जिल्लामा विभाजन थियो । त्यस समयमा चितवन र मकवानपुर एउटै जिल्ला थियो । जसको प्रशासनिक केन्द्र चिसापानीगढीमा राखिएको थियो । चिसापानीगढी अहिले मकवानपुर जिल्लामा पर्दछ । गैडाकोट पनि पहिला तनहू जिल्लामा पर्दथियो । चितवनको जंगल फडानी सगै तराईमा बसोवास गराउने राज्यको अभियानमा गैडाकोटको जंगल पनि फडानी भयो । गैडाले सहेल गर्ने जंगल खेत वारीमा आवादी भयो । जनसख्या क्रमिक रुपले वृद्धिहुदै गयो । त्यसपछि ऐतिहासिक मौलाकालीको खोजी हुन थालेको हो । अहिले मौलाकालीलाई धार्मीक पर्यटकिय विकास गर्नको लागि धार्मीक सेवा समिती गठन भएको छ । समितीबाट नै मौलाकालीको विकास गर्ने योजना वनेको छ ।

मौलाकाली जादा होस अथवा नारायणघाट र देवघाट जादा सडक किनारमा रहेको देशको गौरव भृकुटी कागज कारखाना सबैले देख्दछन् । भृकुटी कागज कारखाना अहिले झाडीले भरिएर जगंल जस्तो भएको छ । कारखानाका सबै संरचना जीर्ण भएका छन् । टीनका छाना भत्कीएर झरेका छन् । बाहिरबाट हेर्दा अस्थिपञ्चर जस्तो देखिन्छ । लाखौं मूल्य पर्ने मेशिनहरु खिया लागेर बिग्रिएका छन् । यो अवस्थामा रहेको भृकुटी कागज कारखाना देख्दा सबै पर्यटकहरुको मन खिन्न हुन्छ । चीन सरकारले नेपाललाई कागजमा आत्मनिर्भर बनाउन २०३९ सालमा भृकुटी कागज कारखाना निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले राज्यको दायित्व निजी क्षेत्रलाई सार्दै जाने नीति अनुरुप भृकुटी कागज कारखानालाई २०४९ सालमा गोल्छा अर्गनाइजेसन, काभ्रा समूह र कन्क्राफ्टलाई ६० विगाहा जमिनसहित तत्कालिन अवस्थामा दैनिक ८ टन कागज उत्पादन गर्ने कारखाना १७ करोडमा सबै जमिन र संरचनासहित बेचेको थियो ।

मनोरञ्जन वा दिल बहलाउने उद्देश्यले गरिने घुमफिर नै पर्यटन हो । हामी कहां पर्यटन भन्ने वित्तिकै गोरो छाला, खैरो कपाल भएको, पटट… अंग्रेजी बोल्ने विदेशी नागरिक हुन भन्ने बुझाई छ । पर्यटक को हुन् र को होइनन् भन्नेमा सरकारको परिभाषा पनि विरोधाभाषपूर्ण रहेको छ । पर्यटन ऐन २०३५ ले भन्छ नेपालमा आउने विदेशी नागरिक र नेपालको एक स्थानबाट अर्को स्थानमा भ्रमण गर्ने नेपाली नै पर्यटक हुन् । पर्यटन ऐनअनुसार पर्यटक भन्नाले विदेशी मुलुकबाट भ्रमणका लागि नेपालमा आउने गैरनेपाली नागरिक भन्ने सम्झनुपर्छ । तर अहिले आफ्नो देश भित्र मनोरञ्जन वा रमाइलोका लागि घुमफिर गर्नेहरुलाई पनि आन्तरिक पर्यटनको रुपमा लिने गरिएको छ ।
गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा पर्दछ । नवलपरासी जिल्लाबाट टुक्रिएर बनेको गैडाकोट पूर्वी तर्फको खण्ड हो । गैडाकोट काठमाडौंबाट १५० कि.मी.दक्षिण पश्चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि.मी. र बुटवल देखि ११४ किलो मिटर पर्दछ । फुर्सदको समयमा मौलाकाली र देवघाट घुमफिर गर्न सके तीर्थाटन मात्र होइन धार्मीक सम्पदाको इतिहास समेत जान्न सकिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया