‘कोमा’बाट जाग्ने कपासको प्रयास

दाङको लमही नगरपालिका वडा नम्बर ९ हरदहवाका किसानलाई सुफ्लम जातको बियाँ उपहार दिदै कपास विकास समिति खजुराका अध्यक्ष हेमन्त राज काफ्ले ।


कुनै बेला देशमैं कपास उत्पादनमा नाम कहलिएको कपास विकास समिति बर्षौदेखि ‘कोमा’को अवस्थामा छ भन्दा फरक पर्दैन । नेपालका विभिन्न उद्योगहरुमा कपास आपूर्ति गरेर भारतसम्म निर्यात गर्न सक्ने क्षमता राख्ने कपास विकास समिति अहिले सीमित कर्मचारीमा खुम्चिएको छ नै उत्पादन समेत निकै न्यून रहेको छ । किसानले कपास खेती कपास खेती छाडे, समितिले उत्पादन र बजारीकरण गर्न । कपासको खरिदकर्ता रहेका नेपालभित्र रहेका उद्योग समेत बन्द भए ।
खजुरामा रहेको कपास कपास विकास समितिले करिब ४ हजार मेट्रिक टन कपास उत्पादन गर्दथ्यो । तर, अहिले सय मेट्रिकटन कपास उत्पादन गरिरहेको अवस्था छ ।

अहिले कोमाको अवस्थामा रहेको कपास विकास समितिलाई पुन जगाउने प्रयास वर्तमान कपास विकास समितिले गरिरहेको छ । समितिको नेतृत्व हेमन्तराज काफ्लेले सम्हालेसँगै कपासलाई पुन जगाउने प्रयास गरिरहेका हुन् ।
सरकारी स्वामित्व रहेको कपासले देशभरी राम्रो छवि बनाउँदै गर्दा विभिन्न राजनीतिक उतारचढाव र विभिन्न परिवेशले कपासलाई दुरगति बनाएको खजुराका स्थानीय बताउँछन् । ‘हिजोको दिनको गौरवशाली इतिहास मेटिएको छ, अब त्यसलाई फर्काउन हाम्रो प्रयास रहन्छ’, कपास विकास समिति सम्बद्ध भन्छन् । ‘चरम भ्रष्टाचार र द्वन्द्वकालको निसानमा कपासको भौतिक संरचना पर्दा कपासको आद्योगति सुरु भएको हो’, उनीहरु भन्छन् ।

बर्दियाको कुम्भरमा सयौं हेक्टर जमिनमा कपास खेती हुने गर्दथ्यो । तर, त्यहाँ अहिले कपास खेती हुँदैन । कपास खेती हुने ठाउँमा अतिक्रमण बढेको छ । बर्दियाको कुम्भरमा मात्रै ८ सय २५ विगाह क्षेत्रफलमा कपास खेती हुन्थ्यो । ५ सय मेट्रिक टनको जति कपास बर्दियाको कुम्भरमा मात्रै उत्पादन हुन्थ्यो । ‘अहिले कपास खेती हुने ठाउँ बस्तीले भरिएको छ’, स्थानीय भन्छन् । उक्त कपास खेती हुने १ सय ३८ विगाह जग्गा मुक्त कमैयालाई वितरण भैसकेको छ । बाँकी रहेका जग्गा पनि भूमिहीनका नाममा कब्जा भएको छ । बर्दियामा कपास विकास समितिकै पहलमा कपास खेती हुने गर्दथ्यो ।
बाँकेको खजुरा, दाङ्गमा पनि कपास खेती हुने गर्दथ्यो । तर, अहिले त्यो निकै न्यून छ । हेटौडा कपडा उद्योग र बुटवल धागो कारखाना लगायतका उद्योगहरु विघटनमा गएपछि पनि समितिद्वारा उत्पादित कपासको माग घटेको हो, आन्तरिक बजारमा । उद्यपि अहिले पनि हजारौं क्वीन्टल कपास भारतबाट आयात भैरहेको छ ।

कुनै बेला कर्मचारीहरुको रोजाईमा समेत कपास विकास समिति पर्दथ्यो । तर, अहिले समिति नै हराएको अवस्था छ । ‘कपास विकास समितिलाई पुरानै अवस्थामा फर्काउनु पर्दछ र फर्काउने प्रयास गर्नुपर्दछ’, कपास विकास समितिका कार्यकारी प्रमुख बुद्ध बहादुर थापा (घर्ती)ले भने, ‘त्यसका लागि कपास खेतीका लागि किसानलाई कसरी प्रोत्साहित गर्न सकिन्छ ।’ उनले अहिले सय भन्दा कम मेट्रिकटन उत्पादनको अवस्थामा रहेको कपास विकास समितिबाट सयौं मेट्रिकटन उत्पादनको प्रयास तर्फको प्रयास गरिरहेको बताए ।

सय भन्दा कम मेट्रिकटन उत्पादन रहेको कपासले त्यसलाई यस बर्ष ५ सय मेट्रिकटन पुर्याउने लक्ष्य लिएपनि सफल हुन सकेन । ‘कम्तिमा १ सय ५० मेट्रिकटन यस बर्ष उत्पादन पुर्याउने लक्ष्य छ’, समितिका अध्यक्ष काफ्ले भन्छन्, ‘समस्या धेरै छन्, एकएक गरेर समाधान गर्दै अगाडि बढ्छौं ।’

‘कपास उत्पादन मात्रै होइन त्यसको बजारीकरण पनि हाम्रो योजनामा छ’, कपास विकास समितिका अध्यक्ष काफ्ले भन्छन्, ‘पहिलो प्राथमिकता उत्पादन बढाउने हो, त्यसका लागि किसानकै भएकै ठाउँमा पुगेर उहाँहरुलाई उत्पे्रेरित गरिरहेका छौं ।’

‘समितिको जग्गा धेरै ठाउँमा रहेको जानकारी पाएको छु, कतिपय ठाउँमा समितिको त कतिपय ठाउँमा सरकारी जग्गा छन्’, समितिका अध्यक्ष काफ्लेले भने, ‘सबै ठाउँमा पुगेर अवस्था अध्ययन गरी योजना अघि बढाउने छु ।’

शनिबार मात्रै समितिका अध्यक्ष काफ्ले दाङ पुगेका छन् किसानहरुसँग छलफलका लागि । त्यसक्रममा उनले तुलसीपुरमै ३ विगाह जग्गा कपास विकास समितिको रहेको हेरेर आएको र त्यहाँ पनि कपास खती अगाडि बढाउने बताए ।
अध्यक्ष काफ्ले समितिका कर्मचारी सहित शनिबार दाङ्गको लमही वडा नं. ९ पुगेर किसानलाई भेटेका छन् । त्यसक्रममा उनले किसानका समस्या सुनेर कपास खेती गर्न र आइपरेका समस्या तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए । त्यहाँका किसानले अघिल्लो बर्ष समितिले समयमै कपास नकिनेको, किटनाशक राम्रो नहुँदा कपासमा फुल नपुलेको लगायतको गुनासो गरेका थिए । ‘समस्या सुने, समाधान पनि गर्छु’, अध्यक्ष काफ्ले भन्छन् ।

यसअघि दाङको राजपुर बढुवा नाका पुगेका काफ्लेले त्यहाँ २५ टन उत्पादन हुने गरेको बताउँछन् । ‘भारतीय सीमा सँग जोडिएको ठाउँ रहेछ, अन्य बालीमा जंगली जनावरले क्षति पुर्याउने भएकाले कपास नै उत्तम खेती रहेछ किसानका लागि’, उनले भने, ‘त्यहाँ किसानले जोत्ने सामाग्री नभएको लगायतका समस्या सुनाउनु भयो, समाधान गर्नेछु ।’

समितिले ५० प्रतिशत अनुदानमा बिउ, किटनाशन औषधी वितरण गर्दै आएको छ । समितिले हाल प्रयोगका लागि १ सय किलो बिउ खरिद गरेको छ । किटनाशक खरिदका लागि दररेट समेत माग गरिसकिएको अध्यक्ष काफ्ले बताउँछन् । ‘यस बर्ष १ सय ५० मेट्रिक टन र अर्को बर्ष ह्वात्तै कपास उत्पादन बढाउने मेरो उद्देश्य हो, त्यसका लागि किसानलाई तालिम, उत्प्रेरणा, गुणस्तरीय बिउ, किटनाशक उपलब्ध गराइनेछ’, उनले भने ।

समितिका अध्यक्ष काफ्ले धेरै किसानले कपास खेती छाडेकाले उनीहरुलाई पनि कपास खेतीमा फर्काउन चुनौति रहेको बताउँछन् । ‘खेती छाडेकालाई कपास खेती गर्न उत्पे्ररित गर्नुपर्ने महसुस गरेको छु’, उनले भने । समितिले पछिल्ला दिन किसानसँग छलफलका साथै नयाँ किसानलाई तालिम समेत दिन थालेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया