उद्योगमा ढुवानीको समस्या थपिंदै

ढुवानीमा सिण्डिकेटले उद्योग मारमा परेको गुनासो, ढुवानी व्यवसायी भन्छन्, ‘सरकारले तोकेकै भाडा हामीले खोजेको हो

विद्युत संकटले समस्यामा परेका उद्योगी व्यवसायीहरुमा अर्को बोझ थपिएको छ, ‘ढुवानीको सिण्डिकेट ।’ बाँकेका ढुवानी व्यवसायीहरुले भाडादर बढाउन माग गर्दै सुनुवाई नभए ढुवानी सेवा बन्द गर्ने घोषणा गरेपछि उद्योग सञ्चालक थप तनावमा परेका हुन् ।

किसन गुरुङ्ग, अध्यक्ष, भेरी ट्रक प्रा.लि.

त्यसलाई लिएर विकासका लागि नागरिक समाजले सहजीकरण थालेको छ । ‘एक पटक उद्योग सञ्चालकहरुसँग बसेर बीचको उपाय के हुनसक्छ भन्नेबारे छलफल गरिंदैछ’, बिहीबारबाट ढुवानी ठप्प पार्ने घोषणा गरेका ट्रक व्यवसायीहरुका अगुवा, भेरी ट्रक प्रा.लि.का अध्यक्ष किसन गुरुङ्गले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि कृष्ण प्रसाद श्रेष्ठले पहल लिनु भएको छ ।’ श्रेष्ठ विकासका लागि नागरिक समाज बाँकेका संयोजक हुन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सिण्डिकेटले ढुवानी व्यवसायलाई उद्योगमैत्री बनाउन नसकेको तर्क गरे । ‘एकाएक भाडा बढाउँदा अहिलेको अवस्थामा समस्या आउने हुँदा उद्योग सञ्चालकहरु समाधानका पहलमा जुटेका छन्’, अध्यक्ष मन्सुरीले दैनिक नेपालगन्जसँग भने, ‘हामी पनि त्यसबारे के गर्न सकिन्छ बुझिरहेका छौं ।’

सञ्जय अग्रवाल, एशोसिएट सदस्य, नेपालगन्ज उद्योग वाणिज्य संघ

संघका एशोसिएट सदस्य समेत रहेका उद्योगपति सञ्जय अग्रवालले ढुवानी व्यवसायीहरुले नेपालगन्जलाई मात्रै लक्षित गरेर नभई देशभरीको अवस्थालाई अध्ययन गरेर मात्रै भाडादर कार्यान्वयनमा ल्याउनु पर्ने बताए । ‘नेपालगन्जको ढुवानी दर भन्दा धनगढीदेखि काठमाडौंको भाडा कम भयो भने कसरी धान्न सकिन्छ ?’, सिमेन्टस् उद्योगका सञ्चालक अग्रवालले दैनिक नेपालगन्जसँग भने, ‘यसले बाँकेका उद्योग थप मारमा पर्छन् ।’

प्रदिप छाजेड, महाप्रबन्धक, केएल दुगड, समूह

नेपालगन्जबाट देशभरी नै खाद्यान्न ढुवानी गर्दै आएको केएल दुगड समूहका महाप्रबन्धक प्रदिप छाजेडले व्यवसायीहरुले समस्यामा परेर आफ्ना ढुवानी साधन ग्यारेजमा थन्क्याउने कुरालाई अन्यथा लिन नसकेपनि ‘ढुवानी ठप्प पार्ने’ भन्दै आन्दोलनको घोषणा उचित नभएको बताउँछन् । ‘भैरहवाबाट काठमाडौं, चन्द्रौटाबाट काठमाडौं र लमहीबाट काठमाडौं वा धनगढीबाट काठमाडौंलाई आधार बनाएर प्रतिस्पर्धात्मक सन्तुलित भाडादर कायम गर्यो भने उद्योगहरुलाई आपत्ति छैन’, उद्योगपति छाजेडको भनाइ छ ।

त्यसबारे आज बिहीबार उद्योग सञ्चालक र ढुवानी व्यवसायीहरु बीच छलफल गर्न लागिएको छ । ‘छलफलको निर्णयका आधारमा हाम्रो आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने निष्कर्षमा पुग्छौं’, भेरी ट्रक प्रा.लि.का अध्यक्ष गुरुङ्गले भने, ‘हामीले मागहरु अघि सार्दा स्थानीय उद्योगी, व्यवसायीहरुलाई मार नपर्ने गरी जाने कुरामा सकारात्मक छौं ।’

प्रतिक्रिया

प्रतिक्रिया