विद्युत संकटले मारमा उद्योग

अनियमित विद्युतका कारण बाँकेमा रहेका उद्योगहरु गम्भीर मारमा परेका छन् । एकसातायता अधिकांस उद्योगधन्दा बन्द हुने अवस्थामा पुगेको सम्बद्ध उद्योगी, व्यवसायीहरु बताउँछन् ।

‘यसरी उद्योग चलाउँदा उत्पादनमा नोक्सानी मात्रै होइन गुणस्तरमा पनि प्रश्न चिन्ह खडा हुने अवस्था सिर्जना भयो’, एक सातादेखि मुस्किलले आठ घण्टा विद्युत उपलब्ध भएको तथ्य उजागर गर्दै पश्चिम क्षेत्रकै ठूलो खाद्य उद्योग केएल दुगडका महाप्रबन्धक प्रदिप छाजेडले दैनिक नेपालगन्जसँग भने, ‘यसले उद्योगलाई चौतर्फी मार पारेको छ ।’ उनका अनुसार, विद्युत आउने निश्चित तालिका नहुँदा सयौं मजदुरलाई उद्योग परिसरमा पर्खाई राख्नु पर्छ, उत्पादन निश्चित नहुँदा कर्मचारीहरुलाई निकै तनावको सामना भैरहेको हुन्छ ।

‘आज मात्रै विहान ३ बजे विद्युत उपलब्ध भयो’, २४ घण्टा उत्पादनका लागि तैथान जनशक्तिले विहान ३ बजे आएको विद्युतबाट कुन अवस्थामा काम गर्न सक्लान् ? प्रतिप्रश्न गर्दै उद्योगपति छाजेडले भने, ‘यसरी उद्योग चलाउनु भन्दा सरकारले विद्युत नियमित नगर्ने हो भने बन्द गर्दा नै न्याय हुने देखिन्छ ।’ उनले जिज्ञासा राख्दै भने, ‘सरकारले विद्युत भारत निर्यात गरिरहेको समाचार प्रकाशमा आइरहेका छन्, नेपालका उद्योगहरु बन्द गराएर भारत तिर विद्युत बेच्न खोजेको हो ?’

यो प्रश्न पश्चिम नेपालकै ठूलो खाद्य उद्योग केएल दुगडको मात्रै होइन । पश्चिम क्षेत्रकै सबैभन्दा ठूलो स्टील उद्योग स्थापना गरेको अम्बे स्टिलले उत्पादनमा विद्युत संकट बढ्दै गएपछि भारतबाट कच्चा पदार्थ भन्दा पूर्व तयारी सामाग्री मगाउने अवस्थामा पुगेको सम्बद्ध स्रोतको भनाइ छ । ‘२० प्रतिशत मात्रै उत्पादन दिन सकेका छौं’, दैनिक नेपालगन्जसँग कुरा गर्दै उद्योग सम्बद्ध अधिकारीले भनेका छन् ।

त्यही अवस्था सिमेन्ट उद्योगको छ । बाँके जिल्लाकै पहिलो सिमेन्ट उद्योग, जय मंगलम् सिमेन्टस्का प्रबन्ध निर्देशक सञ्जय अग्रवालले विद्युत अनियमितता गहिरिएर उद्योगमा संकटको अवस्था आएको बताए । ‘यो संकट जय मंगलम सिमेन्टस्को मात्रै होइन, बाँके जिल्लामा रहेका सबै जसो ठूला उद्योगहरु धराशयी हुने अवस्थामा पुगेका छन्’, नेपालगन्ज उद्योग वाणिज्य संघका एशोसिएसट सदस्य समेत रहेका अग्रवालले दैनिक नेपालगन्जसँग भने, ‘यसरी उद्योग चलाउन कहिलेसम्म सकिएला ?’

राजनीतिक दलहरुले उद्योग, व्यवसायमा गहिरिंदो संकटप्रति चासो नदेखाउँदा उद्योगपति छाजेड र अग्रवाल मात्रै होइन नेपालगन्ज उद्योग वाणिज्य संघ समेत चिन्तित छ । ‘पानी परेपछि संकट समाधान हुन्छ भन्ने तर्क विद्युत प्राधिकरणका स्थानीय अधिकारीको जवाफ आउँछ’, विद्युत संकटलाई लिएर प्राधिकरणसँग छलफल गरिएको स्मरण गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी भन्छन्, ‘बाँके बाहिर पानी परेर समाधान हुने हो भने भैसक्नु पर्ने, हामी कहाँ कहिले पानी पर्ने थाहा छैन ।’ उनले ‘भगवान भरोसे विद्युत’का कारण नेपालगन्जले भोग्नु परेको संकटप्रति सरोकारवालाहरु पटक्कै गम्भीर नभएको गुनासो गरे ।

उद्योग सञ्चालकहरु २४ घण्टा विद्युत उपलब्ध नभएपनि जति समय प्राप्त हुने हो त्यो पूर्व जानकारी भैदिए हुने सम्मको माग राख्छन् । ‘जति समय दिने हो पूर्व जानकारी होस्, त्यस अनुसार आउने विद्युत गुणस्तरीय होस्’, विद्युत उपलब्ध हुँदा समेत ‘ट्रिप मार्ने’ कम भोल्टेज उपलब्ध हुने जस्ता समस्याले उत्पादनमा ह्रास हुनेदेखि मेसिनमा समस्या आउनेसम्मका विडम्वनाको सामना गरिरहेको केएल दुगडका महाप्रबन्धक छाजेडको भनाइ छ । ‘कम्तिमा यति समय दिन सक्छौं भन्ने त निश्चित गर्न सकिन्छ नि’, औद्योगिक करिडोर नेपालगन्ज–कोहलपुर सडक छेउका उद्योगहरुमा लगाइएको डेडिकेटेड फिडरमा समेत प्राधिकरण गम्भीर नभएको गुनासो गर्दै अग्रवालले भने, ‘हरेक कुराको समाधान हुन्छ, विद्युत संकटलाई व्यवस्थित गर्न नसकिने नै हो त ?’

प्रतिक्रिया

प्रतिक्रिया