एमाले नगर अध्यक्ष भन्छन्, ‘विद्युतमा समन्वय अभाव’

नेकपा एमालेका नेपालगन्ज नगर अध्यक्ष दत्तप्रसाद आचार्यले नेपालगन्जको विद्युत समस्यामा जिम्मेवार निकायबीचकै समन्वय अभाव देखिएको बताएका छन् ।

विद्युत संकट गहिरिंदै गएपछि मंगलवार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटवार्ताका लागि पुगेका एमाले नेता आचार्यले जिम्मेवार निकायबीचनै समन्वय नहुँदा संकट समाधानका सम्भावना कमजोर भइरहेको
औल्याए ।

सरकार यसमा गम्भीर भएर प्राधिकरणलाई नेपालगन्जका जनताले भोगिरहेको मानवीय सास्तीको संकट टार्न पहल लिनुपर्छ ।


‘नेपालगन्ज कार्यालय र कार्यकारी निर्देशकबीचनै कतिपय कुरा बाझिन्छन्,’ संरचनागत पूर्वाधारको मर्मतसम्हारसमेत नहुँदा भएकै विद्युत क्षमताको सही वितरण हुन नसकेको पाइएको जानकारी दिंदै आचार्यले दैनिक नेपालगन्जसँग भने, ‘नेपालगन्जवासीले भोगिरहेको संकटबारे कुलमान जानकार भएरपनि परिणाम दिनेगरि एक्सन गरेको पाइएन ।’


‘विद्युत भारतलाई बेच्न सकेकोमै प्राधिकरण रमाएको देखिन्छ,’ आचार्यले नेपालगन्जबाट उत्पादन गृह निकै टाढा हुनु र त्यहाँसम्मको प्रशारण लाइनको नियमित मर्मत सम्हारको अभावले पनि हामीकहाँ विद्युत आइपुग्दा कम भइरहेको कुलमानसँगको कुराबाट बुझ्न सकिने बताए । ‘स्थानीयस्तरमै पनि नेपालगन्जका आन्तरिक प्रशारण लाइन गतिलो बनाइएको मान्न सकिएन,’ प्राधिकरणबाट छलफल गरि निस्किँदै गरेका एमाले नेता आचार्यले भने,’ सरकार यसमा गम्भीर भएर प्राधिकरणलाई नेपालगन्जका जनताले भोगिरहेको मानवीय सास्तीको संकट टार्न पहल लिनुपर्छ ।’


‘यद्यपी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ छिट्टै समस्या समाधानका लागि आश्वस्त पार्नु भएको छ,’ आचार्यले
भने । कतिपय प्रशारण लाइनमा अदालतको हस्तक्षेपले समयमा निर्माण पुरा हुन नसकेको प्राधिकरणले जनाएको आचार्यको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया