प्रचण्ड–विष्ट भेट: नेपालगन्जका लागि बजेट माग

सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले सोमबार भेटघाट गरेका छन् ।

नेपालगन्ज विमानस्थलमा नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टलाई बधाई दिंदै माओवादी अध्यक्ष प्रचण्ड ।
(तस्विरः जयनारायण शाह)

बजेटका योजना लिएर राजधानी काठमाडौं तर्फ जाँदै गरेका नगर प्रमुख विष्टले पार्टी प्रशिक्षणका लागि नेपालगन्ज हुँदै बर्दिया जान आएका माओवादी अध्यक्ष प्रचण्डसँग नेपालगन्ज विमानस्थलको विशिष्ट कक्षमा भेटघाट गरेका हुन् । ‘खासगरी निर्वाचनको समीक्षा, आगामी निर्वाचनको गठबन्धनको सवालमा हाम्रा कुरा भए’, नेपाली काँग्रेसका नगरसभापति समेत रहेका विष्टले दैनिक नेपालगन्जसँग भने, ‘नेपालगन्जको विकासका लागि बजेट विनियोजित गर्ने सवालमा सरकारको सहयोग खोजेको र त्यसमा अर्थमन्त्रीलाई नेपालगन्जलाई प्राथमिकता दिने कुरा राखिदिन अनुरोध पनि गरेको छु ।’

अध्यक्ष प्रचण्डले विष्टसँग नेपालगन्जको बजेटका सन्दर्भमा आफुले अर्थमन्त्रीसँग कुरा गर्ने वचन दिएको र सत्तागठबन्धन आगामी निर्वाचनसम्मै जाने कुरामा विश्वास दिलाएका थिए ।

नगर प्रमुख विष्टका अनुसार, लामो समयदेखि सरकारको बजेट अभावमा रोकिएका विकास, निर्माणलाई तिव्रता दिन सरकारसँग सहयोग खोजिएको छ । ‘त्यसका लागि प्रधानमन्त्रीदेखि योजना आयोगसम्म पुग्दैछु’, विष्टले दैनिक नेपालगन्जसँग भने, ‘नेपालगन्जका लागि सरकारले निरन्तर बजेट घटाउँदै लैजाँदा विकास निर्माणका काम हुन सक्ने क्षमता न्यून छ ।’ एशियाली विकास बैंकको सहयोग रोकिएपछि केन्द्र सरकार र आन्तरिक स्रोतबाट प्राप्त बजेटले नेपालगन्जलाई विकासको स्रोत धान्न सक्ने अवस्था नदेखिएकाले नगर प्रमुख विष्ट प्रधानमन्त्रीसँग सहयोग माग्न सोमबार राजधानी काठमाडौं प्रस्थान गरेका छन् ।

यतिबेला वडा स्तरको सिलिङ तोकेर स्थानीय तहका योजना छनोट कार्य भैरहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया