‘मौन अवधीनै सबैभन्दा हल्ला हुने निर्वाचन प्रणाली’

विद्यमान निर्वाचन प्रणालीले विकृति निम्त्याएको भन्दै प्रणालीमै सुधार ल्याउन सुझाव दिइएको छ । सोमबार नेपालगन्जमा आयोजित स्थानीय तह निर्वाचन २०७९ को पर्यवेक्षण तथा अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै अधिकांस वक्ताले निर्वाचन प्रणाली विकृति उन्मुख भएको भन्दै सुधारमा जोड दिएका हुन् ।

मतदान पूर्वको मौन अवधी सबैभन्दा बढी विवादित र विकृतिपूर्ण भएको भन्दै सम्बद्धहरुको भनाइ थियो, ‘यो अवधी सबैभन्दा बढी आर्थिक चलखेल र विकृतिका लागि प्रेरित देखिएको छ ।’ राजनीतिक दलका प्रतिनिधिहरुले मौन अवधी नै राख्न नहुनेसम्मका सुझाव अघि सारे । कतिपयले आर्थिक चलखेल निकै भएको सुनाए ।

वक्ताहरुले मतदाता शिक्षासँगै कर्मचारी खटनपटनमा देखिएका कमजोरी औंल्याउँदै सुधारका लागि अहिलेदेखि नै सचेत हुनुपर्ने औंल्याए । ‘यो निर्वाचन प्रणालीबाट निष्पक्ष, भयरहित र सौहार्दपूर्ण निर्वाचन सम्भव छैन’, खजुरा गाउँपालिकाका निवर्तमान प्रमुख समेत रहेका नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले भने तत्काल सुधार पहल गर्नैपर्दछ । उनले मतदाता भन्दा अगाडि कर्मचारीलाई प्रशिक्षण दिन सरकारको ध्यानाकर्षण गराउँदै भने, ‘बाँकेमा मुख्य निर्वाचन अधिकृतको भूमिका निष्पक्ष र प्रभावकारी रहन सकेन ।’

कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु मात्रै होइन स्वयं निर्वाचनमा खटिएका कर्मचारीहरु पनि सन्तुष्ट देखिएनन् । ‘अबका दिनमा यसखालको निर्वाचनमै म जान्न भन्ने निर्णय लिएको छु’, कार्यक्रममा प्रमुख वक्ताका रुपमा रहेका बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले भने, ‘सबै दलले अर्काको देख्ने, शंका गर्ने अवस्था सिर्जना हुँदा काम गर्नैै गाह्रो भयो ।’ उनले बाँकेमा देखिएको कर्मचारी खटनपटनमा समन्वयको अभाव औंल्याउँदै भने, ‘कर्मचारी खटनपटनमा हामीसँग समन्वय गरिएको भए कम्तिमा यो अवस्था आउने थिएन ।’

जिल्ला निर्वाचन अधिकारी रमा पन्तले कर्मचारी खटनपटनमा सुधार आवश्यक देखिएको भन्दै आगामी निर्वाचनका लागि सुधार आवश्यक देखिएको बताइन् । निर्वाचनको केही दिन अगाडि मात्रै जिल्ला निर्वाचन अधिकारीको जिम्मेवारीमा आएकी पन्तले आफु अध्ययनमै रहेको जानकारी दिंदै भनिन्, ‘करारका कर्मचारीहरुबाट काम गर्नुपर्दा समस्या देखिएको छ ।’ तर, आफुले सुधार पहल थालिसकेको निर्वाचन अधिकारी पन्तको भनाइ छ ।

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले मौन भनिएको सबैभन्दा बढी तनावपूर्ण भएको अनुभव सुनाए । ‘मौन अवधी सबैभन्दा बढी तनाव र कष्टकर रह्यो’, प्रहरी प्रमुख अधिकारीले भने, ‘सबै तिर पैसाको चलखेल भएको हल्ला आयो, दौड भागले प्रहरी सुत्नै पाएन ।’

इन्सेक नेपालगन्जको आयोजना भएको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख झंकर रावल, इन्सेक प्रदेश प्रमुख भोला महत, काँग्रेस जिल्ला सचिव सुधांसु कोइराला, एमाले सचिव रत्न खत्री, राप्रपा नेतृ इन्दिरा शाही, बारका सचिव पदम पाण्डे, अधिकारकर्मी कमला पन्त लगायतले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया