आज विश्व रक्तदाता दिवस, नेपालगन्जमा मासिक १ हजार पिन्ट आपूर्ति

नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको क्षेत्रीय रक्तसञ्चार केन्द्रले मासिक १ हजार पिन्टको हाराहारीमा रगतको आपूर्ति गर्दै आएको छ । २०३३ सालमा सात युनिट रगत संकलन तथा आपूर्ति गरेको रक्तसञ्चार केन्द्रबाट हाल वार्षिक १३ हजार पिन्ट रगत आपूर्ति भइरहेको बाँके रेडक्रसले जनाएको छ । रक्त सञ्चार केन्द्रमा करिब आठ हजार स्वयंसेवी रक्तदाता (संस्थागत र व्यक्तिगत) आवद्ध रहेका छन् ।

केन्द्रले नेपालगन्ज र कोहलपुरबाट सेवा दिइरहेका छन् । क्यान्सर अस्पतालमा बिरामी आउने क्रम बढेपछि खजुरामा पनि ब्लड बैंकको माग भैरहेको छ ।

‘रगतको माग र आपूर्ति दुवै बढेको छ’, क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले भने, ‘माग धान्नका लागि अब बजार क्षेत्रमात्र नभई गाउँगाउँमा रक्तदानका लागि अभिप्रेरित गर्नुपर्ने देखिन्छ ।’ रक्तदाता बढिरहेको उल्लेख गर्दै रेग्मीले पछिल्लो समय व्यक्तिगत र संस्थागत रुपमा रक्तदान गर्नेहरुको संख्या उल्लेख्य रहेको बताए ।

बाँकेमा बेलाबेला रगत अभावका समाचारहरु आउने गरेका छन् । ‘अभावका बेला संघ, संस्थामा सम्पर्क गरेर रक्तदानका लागि आग्रह गर्दै आइरहेका छौं’, उनले भने ।

आज विश्व रक्तदाता दिवस

आज सोमबार विश्व रक्तदाता दिवस मनाइँदै छ । त्यसक्रममा नेपालगन्जमा विभिन्न संस्थाहरुले रक्तदानको कार्यक्रम राखेको क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिएका छन् । रक्तदान अभियानमा साथ रहौँ, जीवन बचाऔँ भन्ने नारा यस वर्ष यस दिवस विश्वभर मनाउन लागिएको हो ।

मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर रक्तदाता दिवस मनाइन्छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको थियो । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ ।

रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम सहित रक्तदानको महत्वबारे जानकारी दिने खालका रयाली, कोणसभा, प्रभात फेरी लगायत चेतनामूलक कार्यक्रमहरू आयोजना गरिंदै आएको छ । रगतको महत्व बुझाउँदै आवश्यकताबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरूको योगदानप्रति कृतज्ञता स्वरूप एक नायक अभियानका रूपमा यो दिवस मनाउने गरिन्छ । रक्तदानको आवश्यकताबारे जागरूकता बढाउन यो दिवस मनाइन्छ ।

मानव रक्तसमुह ८ प्रकारका हुन्छन् र आफ्ना रगत समूह अनुसारका मेल खाने समूहहरूका रगत उनीहरूमा चढाइन्छ । यसरी रगत दिन या चढाउन अगावै दाताहरूको रगतमा कुनै संक्रमण छ या छैन भनेर जाँच गरिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया