सुल्झिदै काँग्रेस बाँकेको किचलो: आज खुल्ला ताला ?

गुट उपगुट झेल्दै आएको नेपाली कांग्रेस बाँकेको किचलो सुल्झिने संकेत देखिएको छ । दश दिनदेखि जिल्ला पार्टी कार्यालयमा लागेको ताला खुल्ने भएपछि किचलो सुल्झिने संकेत देखिएको हो ।


जिल्ला संस्थापनले एकलौटी पेल्दै हिंडेको भन्दै विरोधमा पार्टी कार्यालयमा लगाएको ताला खोल्न असन्तुष्ट पक्ष सहमत भएको छ । पार्टी जिल्ला सभापति नारायण प्रसाद गौडेलले शनिवार भएको वार्तामा ताला खोल्ने सहमति भएको जानकारी दिए ।


जिल्ला सचिव सुधांशु कोइरालाका अनुसार, दुबै पक्ष वार्तामा बसेर केन्द्रले गर्ने निर्णयलाई दुबै पक्षले मान्ने गरी सहमति जुटाइएको हो । सहमति अनुसार आइतवार सभासद बादशाह कुर्मीको नेतृत्वमा जेष्ठ १८ गते लगाइएको पार्टी कार्यालयको ताला खोलिनेछ ।


केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीको उपस्थितिमा दुबै पक्षका नेताहरु बसेर निकास निकाल्न सहमत भएका हुन् । जिल्ला कार्यालयमा लगाइएको तालाको विषयमा असन्तुष्ट पक्षले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका विषयहरु कांग्रेस केन्द्रीय कार्यालयमा विचाराधीन रहेकाले यस विषयमा केन्द्रले गर्ने निर्णयमा दुवै पक्ष सहमत हुने गरी निकास निकालिएको छ ।

सहमतिपत्रमा केन्द्रीय सदस्य बाल्मिकीको उपस्थितिमा प्रथम पक्षबाट जिल्ला सभापति नारायणप्रसाद गौडेल, सचिव कोइराला र क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सभापति पोषण केसी तथा असन्तुष्ट पक्षबाट महासमिति सदस्य बादशाह कुर्मी, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ, महासमिति सदस्य फुलाराम थारु, महाधिवेशन प्रतिनिधि सुदिपनरसिंह राणा र जिल्ला सदस्य अशोक श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

पार्टी कार्यालयलाई विधान बमोजिम नियमितरुपमा सञ्चालन गर्नका लागि पार्टी कार्यालय नियमितरुपमा सञ्चालन हुन आवश्यक रहेको महसुस गर्दै पार्टी कार्यालयमा लगाइएको ताला खोल्ने सहमति बनेको सहमतिपत्रमा उल्लेख छ । आगामी दिनमा पार्टीलाई विधि विधान र पद्धती बमोजिम सबैको सम्मान हुने गरी सञ्चालन गर्ने गरी दुबै पक्ष सहमत भई पार्टी कार्यालयमा लगाइको ताला खोल्न असन्तुष्ट पक्ष सहमत भएको बताइएको छ ।


असन्तुष्ट पक्षले विधि विधान विपरीत जिल्ला कार्यसमितिले विभिन्न मनोनयन गरेको दाबी गर्दै जेठ १८ गते तालावन्दी गरेको थियो । दोस्रो दिन पार्टी महामन्त्री गगन थापाको निर्देशनमा जिल्ला सभापति गौडेलसहितका नेताले ताला तोडेपछि केन्द्रीय सदस्य बाल्मिकीसहितका नेतालाई थुनेरै फेरि ताला लगाइएको थियो । दुबैपक्षबीच मौखिक सहमतिमा ताला खोलेर नेताहरु निस्किएपछि लगाइएको ताला आजबाट खोल्न असन्तुष्ट पक्षपनि सहमत भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया