स्थानीय सरकारको काम कारवाही, नीति कानून निर्माण प्रक्रियामा सहयोग गर्दै आएका पारस्परिक जवाफदेहिता परियोजना बाँकेमा पनि सकिएको छ । परियोजनाले नागरिक अभियान, खबरदारी र सरकारको जवाफदेहितामा उपलब्धीमुलक कार्य गरेको जनाएको छ ।

समुदाय तथा जिल्लास्तरका समस्याको पहिचान र समाधानका लागि वकालत र स्थानीय तहमा नीति, कानून निर्माण प्रक्रियामा गरिएको परियोजनाको प्राविधिक सहयोगले काम कारवाही प्रक्रियामा सहजता भएको सरोकारवालाले बताए ।
बैठकमा संस्थाका कार्यकारी निर्देशक राकेश कुमार मिश्रले परियोजना संचालनको ६ वर्षमा भएको मुख्य उपलब्धीका बारेमा प्रस्तुति गरे । परियोजनाले विशेष गरि नागरिक नेतृत्व, क्षमता अभिबृद्धि, सुशासन, सामाजिक जवाफदेहिताका औजार, सूचनाको हक, स्थानीय तहमा नीति निर्माण लगायतको काम गरेको मिश्रले बताए ।
कार्यकारी निर्देशक मिश्रका अनुसार, बाँके बर्दिया जिल्लामा यस परियोजना अन्र्तगत २७४ वटा क्रियाकलाप संचालन गर्दा ५ हजार ४५१ जना प्रत्यक्ष लाभान्वित भएका छन् । परियोजना अन्र्तगत सार्वजनिक सरोकारका ५० वटा बढी सवालको उठान र आमाको नामबाट १० जनालाई नागरिकता प्रदान, विभिन्न निकायमा ८ सय बढी सूचना माग, स्वास्थ्य, शिक्षा, कृषि, बन तथा बाताबरण, विपत तथा कोभिड १९ को व्यवस्थापन लगायतका विषयमा वकालत गरि समस्याको सम्बोधन गरिएको प्रस्तुतीकरणमा उल्लेख गरिएको थियो ।
युएसएआइडी एफएचआइ ३६० को सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँके र बर्दिया जिल्लामा सञ्चालन गरेको परियोजनाको शुक्रबार नेपालगन्जमा परियोजना सकिंदै गरेको जानकारी दिन आयोजित बैठकका सहभागी सरोकारवालाले ६ वर्षदेखि संचालित परियोजनाले समुदायमा राम्रो उपलब्धी हासिल गरेको बताए ।
बैठकमा नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले परियोजनाले स्थानीय सरकारको काम कारवाही प्रक्रिया, नितिगत तहमा गरिएको सहयोग सराहनीय रहेको बताए । पूर्व उपप्रमुख उमा थापा मगरले यो परियोजनाले नेपालगन्जमा सूचना प्रविधि, सुशासन र नागरिक मैत्री उपमहानगरपालिका बनाउनमा उल्लेख्य भुमिका निर्वाह गरेको बताइन् ।
बैठकमा पारस्परिक जवाफदेहिता परियोजना प्रमुख टोनी बन्डुरेन्ट, एफएचआइका इरसाद अन्सारी, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज प्रमुख झंकर रावल, डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, योजना शाखा प्रमुख ओमबहादुर राना क्षेत्री, अधिकारकर्मी प्रकाश उपाध्याय, बसन्त गौतम, सुदिप भटराई, स्थानीय सभाका संयोजक भागिरथी चन्द, रेडियो श्रोता क्लबका हेमा थापा लगायतले धारणा राखेका थिए ।
संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष कृष्णमुरारी पसाद भटटले स्वागत गरेका थिए ।