राज्यले महत्व दिएन : व्यवसायी

बाँकेका होटल व्यवसायीले राज्यले होटल व्यवसायीहरुलाई महत्व नदिएको बताएका छन् । होटल व्यवसायी संघ बाँकेको १८औं साधारणसभा तथा १०औं जिल्ला अधिवेशन शुक्रबार उद्घाटनका क्रममा प्रतिनिधिमूलक होटल व्यवसायीहरुले कर तिरेर देशको अर्थतन्त्रमा टेवा पुर्याएका होटल व्यवसायीलाई राज्यले उचित रुपमा ध्यान दिन नसकेको बताए । ‘व्यवसायीलाई राज्यले कुनै राहत दिन सकेको छैन’, उनीहरुले भने ।

कार्यक्रमका वक्ता प्रतिनिधिमूलक होटल व्यवसायीले राज्यले सबै उद्योगी, व्यवसायीलाई समान रुपमा नहेरेर विभेद गरेको बताएका छन् । ‘कोरोनाका बेला उद्योगलाई जसरी होटल तथा पर्यटन क्षेत्रलाई राज्यले राहत दिन सकेन’, व्यवसायीहरुले भने, ‘तर, कोरोना कारण सबैभन्दा प्रभावित होटल तथा पर्यटन व्यवसायी नै थिए ।’

बढ्दो महंगी, विगतमा कोरोनाका कारण भएको नोक्सानी लगायतका कारणले होटल तथा पर्यटन व्यवसाय धराशय मात्रै नभई पलायनको अवस्थामा रहेको व्यवसायीले बताएका छन् । ‘धेरै व्यवसायीले होटल तथा पर्यटन व्यवसाय छाड्नु पर्दा पनि राज्यले टिकाउने खालको नीति लिएन’, होटल व्यवसायीले भने ।

होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले कोरोनाका बेला होटल व्यवसायीले गरेको कार्यको सराहना गरे । ‘एउटा मानिस अर्कोको छेउ जान नसक्ने भयपूर्ण अवस्थामा नेपालगन्जका होटल व्यवसायीले बिरामी र कुरुवाका लागि खाना खाने व्यवस्था मिलाउनु भयो, सेवा दिनुभयो’, उनले भने, ‘अप्ठ्यारोका बेला होटल व्यवसायी र वर्तमान नेतृत्वले निकै राम्रो काम गरेको छ ।’ उनले व्यवसायी आफु पनि बच्ने र अरुलाई पनि बचाउने प्रयास गर्दै कोरोनामा जोखिम मोलेर भएपनि सेवा दिएको उल्लेख गरेका थिए । महासंघका निवर्तमान केन्द्रीय सदस्य श्रेष्ठले कोरोनाका कारण बन्द होटलहरुको घरभाडा छुट गराउनका लागि होटल व्यवसायी संघ बाँकेले गरेको प्रयास सरहानीय रहेको भन्दै त्यसले थोरै भएपछि व्यवसायीलाई राहत भएको सम्झिए ।

मदिरा व्यवसायी संघ बाँकेका अध्यक्ष मिम बहादुर सिंह ठकुरीले होटल र मन्दिरा व्यवसाय एक आपसमा जोडिएको भन्दै व्यवसायिक हितमा एकताबद्ध भएर काम गर्ने बताएका थिए ।

बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले कानुन बमोजिम होटल व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै कतिपय बेला प्रहरी र व्यवसायी बीच मतान्तर हुने गरेको बताए । उनले होटल व्यवसायको सुरक्षा प्रतिबद्धता जनाउँदै कानुन बमोजिम व्यवसाय गर्न आग्रह गरे । बाँके प्रहरी प्रमुख अधिकारीले हालै क्यासिनोमा नेपाली प्रवेश र प्रहरी छापाबारे स्पष्ट पार्दै कानुन बमोजिम हुने कार्यलाई प्रहरीले रोक्ने बताएका थिए । ‘क्यासिनोमा नेपाली प्रवेश प्रतिबन्ध, कसैले नेपालीलाई प्रवेश दिन्छ भने प्रहरीले त्यसलाई रोक्नेछ’, उनले भने ।

संघका कानुन व्यवसायी समेत रहेका उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बसन्त गौतमले होटल व्यवसायीलाई उपभोक्ता हितको संरक्षण गर्न सुझाव दिएका थिए । उनले व्यवसायीलाई ठोस योजना बनाएर काम गर्न आग्रह गरे ।
अगुवा होटल व्यवसायी नारद पुरीले होटल व्यवसायी देशको हितका लागि अगाडि रहेको उल्लेख गर्दै राज्यले पनि सोही खालको व्यवहार गर्नुपर्ने बताएका थिए । ‘हामीले विद्युतमा उद्योग सरह छुट माग गरेका छौं’, उनले भने, ‘कोरोनाका बेला विद्युतमा छुट गरिएपनि उद्योग सरह सुविधा दिइएको छैन ।’ त्यसका लागि पटकपटक पहल जिल्ला देखि केन्द्रसम्म गरिएको बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्न कानुन बमोजिम सञ्चालन गर्नुका लागि सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्ने बताए । ‘होटल व्यवसाय सञ्चालन गर्दै हुनुहुन्छ भने राज्यका निकायमा दर्ता गरेर, कानुन बमोजिम नियमित कर तिरेर मात्रै सञ्चालन गर्नुहोस्’, उनले त्यसका लागि व्यवसायीहरुको संगठन सहजीकरण गर्न आग्रह गर्दै भने ।

प्रमुख जिल्ला अधिकारी खत्रीले गुणस्तरीय सेवा सेवाग्राहीलाई प्रदान गर्न आग्रह गरेका थिए । ‘तपाईले खाने खाना र सेवाग्राहीले खाने खानाको भान्सा एउटै हुनुपर्दछ’, उनले खाद्य पदार्थको गुणस्तरबारे व्यवसायीको ध्यानाकर्षण गराउँदै भने, ‘पाहुनालाई खुवाउने खाना र आफुले खाने खानाको गुणस्तर एउटै हुनुपर्दछ ।’ प्रजिअ खत्रीले होटल व्यवसायीले सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्ने बताएका थिए । ‘कानुन बमोजिम हुँदा प्रशासनको हस्तक्षेप हुन्छ’, प्रजिअ खत्रीले भने ।
होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हिराध्वज शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका प्रदिप सापकोटाले संघीयता पछि नेपालगन्ज पछि पर्दै गएकाले व्यवसायिक संघ, संगठनहरु नेपालगन्जलाई अगाडि बढाउनका लागि एकजुट भएर अगाडि बढनुपर्ने आवश्यकता औंल्याए । ‘नेपालगन्ज विमानस्थलको बजेट फर्कियो, नौबस्ता औद्योगिक क्षेत्र बन्ने भनिएपछि काम अगाडि दु्रत रुपमा छैन, खजुरामा स्थापना हुने विश्व विद्यालय खोसिएको छ’, उनले भने, ‘नेपालगन्ज फष्टाए व्यवसाय फष्टाउने हो त्यसैले नेपालगन्जको हकहितका लागि एक भएर अघि बढौं ।’

नाट्टा बाँकेका संयोजक श्रीराम सिग्देलले पर्यटन व्यवसाय प्रवद्र्धनका लागि भैरहेका प्रयासबारे उल्लेख गर्दै होटल र पर्यटन व्यवसाय एकआपसमा जोडिएको बताए । ‘पर्यटन क्षेत्रमा केही प्रयास भएका छन्’, उनले भने, ‘राज्यलाई कर तिर्ने बाहेक हामीले अरु के दिन सक्छौं त्यो पनि व्यवसायीले सोच्नु पर्दछ ।’

संयोजक सिग्देलले भारतीय विषादीयुक्त तरकारीको प्रयोग बाँकेमा भैरहेको भन्दै अर्गानिक तरकारी खेती तर्फ पनि होटल व्यवसायीको प्रयास हुनुपर्ने बताएका थिए । ‘स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने विषादीयुक्त तरकारी हामी पनि खाइरहेका छौं, सेवाग्राहीलाई पनि खुवाइरहेका छौं’, उनले भने, ‘यो नजानिदो अपराध हो ।’ आन्तरिक उत्पादन प्रवद्र्धन गर्न सक्ने हो भने रोजगारी समेत सिर्जना हुने संयोजक सिग्देलको भनाइ थियो ।

रुपन्देही होटल व्यवसायी संघका अध्यक्ष रामप्रसाद गौतमले होटल व्यवसायी संगठित हुँदाको अवस्थादेखि हालसम्मका प्रयासका बारेमा धारणा राखेका थिए ।

संघको सम्मान
सञ्चारकर्मी र सफल व्यवसायी सम्मानित


होटल व्यवसायी संघ बाँकेले १८औं साधारणसभा तथा १०औं जिल्ला अधिवेशनको अवसर पारेर सफल होटल व्यवसायी, ज्येष्ठ नागरिक तथा सञ्चारकर्मी तथा सञ्चारसंस्थालाई सम्मान गरेको छ । होटल व्यवसायी संघ बाँकेले दयाराम पाण्डे, सन्तोष कुमार सिंह, शिला थापा मगर, लाक्पा एन्ड्रु शेर्पा, मान बहादुर थापालाई सम्मान गरेको हो ।

त्यस्तै सञ्चारिका समूह र जि नेपाल एचडीलाई संस्थागत सम्मान गरिएको थियो । होटल व्यवसायी संघले स्थापना पर्यटन प्रवद्र्धन पुरस्कार सञ्चारिका समूहका अध्यक्ष रुपनी जिएम र जि नेपालका प्रबन्ध निर्देशक आशिष गुप्ताले पुरस्कार ग्रहण गरेका थिए । गोरखापत्रका समाचारदाता सिराज खान र कान्तिपुर समाचारदाता रुपा गहतराजलाई पर्यटन प्रवद्र्धन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया