कानुन विपरित क्यासिनो प्रवेश गर्ने नेपालीहरुलाई निरुत्साहित गर्न बाँके प्रहरीले कडा नीति अख्तियार गरेको छ । त्यसक्रममा छापा मारिरहेको प्रहरीले नेपालीहरुलाई फेला पारे पक्राउ गर्न थालेको हो ।

आइतबार मात्रै एउटा क्यासिनोमा छापा मारेर सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजनीतिक दलका युवा नेतादेखि क्यासिनो गएर धाकधम्की देखाएर सित्तैमा खान पल्किएका टोले गुण्डासम्म छन् ।
‘कानुन बमोजिम सञ्चालन भैरहेका क्यासिनोलाई धाक, धम्की देखाएर खान पल्किएकाहरुले सास्ती दिएको गुनासो आएपछि छापा मार्दा सात जनालाई पक्राउ गरिएको छ’, बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले भने, ‘नेपाली प्रवेशलाई पूर्णत रोक लगाइएपछि कुनै पनि बहानामा प्रवेश गर्नु भएन ।’
यो सातामात्रै दुई दर्जन बढीलाई क्यासिनोबाट बाहिर निकालेको प्रहरीले कम्तिमा तीन जनालाई अभद्र व्यवहारमा मुद्दा चलाएको छ । ‘कानुन बमोजिम कारवाही गर्ने भन्दा सुरुका दिनमा निरुत्साहित गर्ने हाम्रो उद्देश्य हो’, प्रहरी प्रवक्ता न्यौपानेले भने, ‘सकभर कसैलाई पनि थुन्न भन्दा क्यासिनोमै प्रवेश गर्न नपाउने व्यवस्थामा जोड दिएका छौं ।’
नेपालगन्जमा आधा दर्जन बढी क्यासिनो सञ्चालनमा आएपछि सम्भावित गलत क्रियाकलाप रोक्न प्रहरीले आफुलाई सक्रिय बनाइरहेको जनाएको छ ।