हिजो राजाको र आज सहिदको शालिक आक्रमण गलत हो

ऋषिराज देवकोटा राप्रपाका सहायक महामन्त्री । पार्टी महामन्त्री डा. धवल समशेर राणाका निकट परामर्शदाता रहेर नेपालगन्ज उपमहानगरपालिकाको पाँच बर्षे कार्यकाललाई नजिकबाट सघाएका देवकोटा यतिबेला नेपालगन्जमा शालिक प्रकरणलाई लिएर भएको घटनाक्रमसँग प्रत्यक्ष सक्रिय देखिन्छन् । यद्यपि राप्रपाले धम्बोझी चोकमा जेठ १९, २०७९ मा तत्कालीन राजा वीरेन्द्रको शालिक पुनस्र्थापनामा भएको आन्दोलनको आयोजना जिम्मेवारी लिएको छैन । आन्दोलनको स्वामित्व लिन खोजिरहेको शालिक पुनस्र्थापना प्रकरणमा जोडिएको सहिद सेतु विक चोकमा भएको अराजक क्रियाकलापलाई निन्दनीय भनिरहेका युवा नेता देवकोटासँग समग्र घटनाक्रमसँग जोडिएर दैनिक नेपालगन्जले गरेको संक्षिप्त कुराकानी आजको अंकमा ।

नेपालगन्जमा विहीवार एकै साथ दुई घटना भए, शालिक पुनस्र्थापना र सहिद सेतु विकको शालिक माथि आक्रमण । यो घटनालाई कसरी लिनुहुन्छ ?

यो घटनालाई अत्यन्त गम्भीर रुपमा हामीले लिएका छौं । आस्थाकै रुपमा हिजोका दिनमा जनआन्दोलनका नाममा फोडिएको वीरेन्द्र चोकमा आस्थाकै रुपमा फालियो र आज आस्था बोकेका कै व्यक्तिहरुले शालिक पुनःस्थापना गर्यो । अब यसलाई कुनै पनि ठूलो रुपले लिनु पर्ने जरुरी नै थिएन । र, अर्को कुरा त्यो मूर्ति राखिसकेपछि पुलिस, प्रशासनबाट नै अपमानित तरिकाले स्व. राजा वीरेन्द्रको शालिक झारियो, यो सामाजिक सञ्जालमा देखिएको भिडियोबाट प्रष्ट हुन्छ । त्यहीं शहिद सेतु विकको मूर्तिमाथिको तोडफोड पनि निन्दनीय कार्य नै हो ।

यसअघि तपाईकै पार्टी उपमहानगरपालिकाको नेतृत्वमा थियो । चुनाव पछि यो विषय एकाएक किन आयो ? कि राजनीतिक रणनीति हो ?

राजनीतिक हिसाबले राप्रपा हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र हुनुपर्छ भन्ने एउटा मात्रै पार्टी हो नेपालमा । स्वभाविक रुपमा हामीले आस्थाका रुपमा हिजो गुमेका आस्थाहरुलाई पुनः स्थापित गर्न लाग्नु हाम्रा लागि सौभाग्यको विषय हो । र, यो पाँच बर्षमा स्थानीय सरकारमा हुँदा खेरीपनि हामीले पटकपटक पहल गरेको हो । राजनीतिक दलहरु बीचमा छलफल गरेकै हो । र, कुनैपनि राजनीतिक दलहरु पूर्व राजाहरुको शालिक निर्माण गर्ने पक्षमा देखिनु भएन । चोकहरु कुरुप रुपमा नराखौं भनेरै पनि त्यतिबेला पनि पहलकदमी नगरेको होइन, धेरै पटक सर्वदलीय बैठक गरेको हो ।

हामी देखावटी रुपमा हिन्दुवादी, राजावादी भएको होइन । हामी आत्मदेखि नै एजेन्डा बोकेका मान्छे हौं । हामी निरन्तर रुपमा एजेन्डा स्थापित गर्न लागिरह्यौं, अब पनि लागिरहन्छौं ।

हिजो राखिएन आज राखियो भन्ने राजनीतिक रोटी सेक्ने परिपाटी मात्रै हो ।

लोकतन्त्रिक आन्दोलनको आक्रोशका रुपमा तत्कालीन राजा वीरेन्द्रको शालिक फालिएको थियो । अहिले त्यसलाई पुनस्र्थापना गर्न खोज्नु र गणतन्त्रको आन्दोलनमा शहिद भएकी सेतुको शालिकमा आक्रमण राजनीति रुपमा हेर्दा बदलाभाव हो ?

राजनीतिक पूर्वाग्रहीका हिसाबले हिजोका दिनमा स्वर्गीय राजाहरुको मूर्ति तोडफोड गर्ने काम भयो । त्यसैको निरन्तरता हो यो । हिजोका राजनीतिक दलले जे गरे त्यसको शिक्षा वा प्रतिफल अनुसार नै अहिलेको घटना भएको मैले महसुस गरेको छु ।

हिजो शालिक फाल्दा हामीले त्यो आवश्यकता थिएन होला हामीले भनेकै हो । अहिले पनि कसैको मूर्तिमाथि आक्रमण गर्नु राम्रो होइन हामीले भनिरहेका छौं । आस्थाका रुपमा आस्थाको धरोहरमाथि कसैले पनि अन्यायपूर्ण, विभेदकारी गतिविधि गर्नुहुँदैन ।

शालिक पुनःस्थापनानै चाहना हो भने, सर्वदलीय ढंगले प्रक्रियागत रुपमा जानुपर्दथ्यो, राप्रपाले त्यसो गरेन, खाली राजनीतिक रोटी मात्रै सेक्यो भनेर कुरा आइरहेको छ नि ?

प्रक्रियामा जाने हो भने त जसले हिजो फोडे तिनी मान्छेले हामीले बनाउँछौं त भन्दै भन्दैनन् । धेरै पटक छलफल हुँदा राजनीतिक दलले मानेनन्, आफैले हटाएको शालिक बनाएर राख्दा जनताले पत्याउँदैनन् भन्ने पार्टीका नेतृत्व वर्गहरुबाट हामीले सुन्यौं ।

हिजो मूर्ति तोड्दा कुनै राजनीतिक दलले सहमति गरेर, सोधेर, स्थानीय सरकार, सिडियोलाई सोधेर तोडिएको होइन । पहिले आस्थाकै रुपमा एउटा समूहले तोड्यो भने अहिले आस्थाकै रुपमा अर्को समूहले राख्यो । यसलाई सामान्य रुपमा लिनुपर्दछ ।

अहिले शालिक पुनःस्थापना प्राथमिकता हो र ?

राजनीतिक आस्थाका रुपमा हाम्रा जुन इतिहासहरु छन्, धरोहरहरु छन् तिनलाई सम्मान गर्नु राजनीति होइन । त्यो सम्मान गर्नु आम राष्ट्रवादी, नेपाली जनताहरु सबैको इच्छा हुनुपर्छ । जनताको भावना अनुसार चल्नु पर्दछ ।

हामीले हिन्दु राष्ट्र मागेर, राजाका मूर्तिहरु स्थापना गरेर त्यो आउने होइन । हामीले आम जनताको भावनालाई नेतृत्व गरेको हो । हामी निरन्तर रुपमा ठूलो भावनाको नेतृत्व गरिरहेका छौं र आगामी दिनमा पनि गरिराख्छौं ।

शालिकले गर्दा नेपालगन्ज अशान्त हुने हो कि ?

नेपालगन्ज सहरलाई अराजकता फैलाउने, सम्प्रदायिक गराउने एउटा ठूलो तत्व दुई÷चार बर्षदेखि यहाँ सक्रिय छ । हामी यसलाई नजिकबाट नियालिरहेका छौं । क कसले के के गरिरहेका छन् भन्ने कुरा यहाँका बौद्धिक, सामाजिक, राजनीतिक व्यक्तिहरुलाई जानकारी छ । तरपनि हामी अत्यन्तै सहनशील तरिकाले हामी अहिलेसम्म त्यस्ता गतिविधिलाई सामान्य रुपमा लिएर अघि बढिरहेका छौं । कसैले गर्न खोज्दैछ र त्यो हामीबाट हुँदैन । नेपालगन्ज सहरको विषयमा हामी अत्यन्त जिम्मेवार छौं ।

त्रिभुवन चोकको शालिक स्वीकार हुँदा वीरेन्द्र चोक किन भएन ? सहमतिमा टुंगिन सक्थेन ?

हामीले त्यही चाहना राखेका थियौं । सामान्य आस्थाका रुपमा लिइन्छ भन्ने चाहना राखेका थियौं । हिजो हटाइयो आज राखियो । आस्थाको सम्मान गर्नुपर्छ भन्ने लागेको थियो । त्यसरी यहाँको राजनीतिक दल, पुलिस, प्रशासनले लिन्छ भन्ने लागेको थियो । तर, फरक देखियो ।

अहिले भर्खरै निर्वाचित भएर आउनु भएका जनप्रतिनिधिहरुले पनि यसलाई गम्भीर रुपमा लिनुपथ्र्यो र यसलाई मिलाउन उहाँहरुले कदम चाल्नु पर्दथ्यो । तर, त्यो कदम चाल्न सक्नु भएन, असफल हुनुभयो ।

सर्वदलीय बैठकमा नगएर राप्रपाले सहयोग गरेन भन्ने आयो त ?

यो विषय हामीले धेरै पहिलेदेखि छलफल गरिरहेको विषय थियो । त्यसैले पनि हामीले त्यति महत्व दिएनौं । हामी आयोजक कमिटि पनि होइन । कसैले हिन्दु राष्ट्रका कुरा गर्दछ, राजसंस्थाको लागि शालिक राख्छ भने हामी लागि पर्दछौं । हामी जसले जे गरे पनि हामी हाम्रो एजेन्डा सँग मिल्ने विषयमा एग्रेसिभलि रुपमा सहयोग गर्दछौं । त्यही सहयोग गरिएको हो ।

विद्यमान विवादको राजनीतिक समाधान के हो त ?

राजनीतिक रुपमा यसको समाधान गर्नको लागि यहाँको राजनीतिक दल, यहाँको सरकार, यहाँका बुद्धिजीवि, समाजसेवी सबैको भावना हेर्नुभयो, बुझ्नुभयो भने चाहे त्रिभुवन चोकको मूर्ति होस् चाहे वीरेन्द्र राजाको मूर्ति होस्, यहाँको ९० प्रतिशत मानिसहरुको भावना आफ्नो इतिहासलाई संरक्षण गर्नुपर्छ भन्ने प्रष्ट देखिएको छ । त्यसलाई जबर्जस्ती दबाउने प्रयासले अहिलेको जुन घटना भयो, त्यसको एउटा पक्ष हो भन्ने हामीलाई लागेको छ । हेर्नुस् भिडियोमा संवाद

प्रतिक्रिया

प्रतिक्रिया