
संसारमा पछिल्लो समय साइकल संस्कृतिको बिकास ह्वात्तै बढेर जाँदै गर्दा त्यसको प्रभावबाट नेपाल टाढा रहने कुरै भएन नेपालमा पनि बिगत ५ बर्ष यता साइकललाई माया गर्ने र आफ्नो दैनिकी बनाउनेहरुको संख्या बढ्दै गएको छ ।
सम्भवत दक्षिण एसियाली मुलुक मध्य साइक्लिङ कल्चर झाङ्गिदै गएको पहिलो मुलुक नेपाल नै हुनुपर्छ । साइकल स्वास्थ्य, वातावरणका लागी बिशेष सवारीको रूपमा रहेको छ । दैनिक रूपमा साइकल चलाउनेको स्वास्थ्य राम्रो हुने र कार्डियोको राम्रो एक्सरसाइज साइकल चलाउँदा हुने हुँदा पनि आजभोलि डाक्टरहरुले पनि साइकल चढ्न सुझाव दिने गरेका छन् ।
मानिसको दैनिक जिवनमा पनि साइकलको निकै महत्त्व रहेको छ, ज्याला मजदुरी गर्ने मजदुर हुन् वा स्कुल कलेज जाने बिद्यार्थी वा साइकलमा तरकारी वा फलफूल बोकेर ब्यापार गर्ने डोर टु डोर सेल्स म्यान आम मानिसको जीवनमा अहिले पनि साइकलले निकै नै महत्त्वपूर्ण भुमिका निर्वाह गरिरहेकोनै छ ।
अहिले युरोप र अमेरिकी तथा दक्षिण अमेरिकी मुलुक मात्रै होइनन् खाडी मुलुकहरूमा पनि साइकल राज्यको प्राथमिकतामा पर्दै गएका छन् त्यहाँ ठूलो मात्राको बजेट साइकल मैत्री सडक निर्माणका लागी छुट्याएर सोही अनुरुपको पूर्वाधार बनाउँदै आएको छ । नेपालमा पनि बिस्तारै अब साइकल मैत्री सडकका लागी शहरमा आवाज उठ्न शुरु भैसकेको छ ।
नेपालमा भर्खरै मात्रै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । धेरै नेपालीका, उपमहानगर र महानगरका मेयर र राजनीतिक दलले आफ्नो घोषणा पत्रमा महत्त्वपूर्ण एजेन्डाका रूपमा साइकल लेन र साइकल मैत्री शहरको मुद्दालाई समेटेका छन् । अब कार्यान्वयनको समय आउँदै गर्दा साइकल अभियानमा सक्रिय अभियन्ताहरु र साइकल प्रेमीहरु आ–आफ्नो ठाउँमा आवाज उठाउनु आवश्यक छ ।
हाम्रो शहर नेपालगन्जमा समेत स्थानीय निर्वाचनमा सबै मेयरहरु साइकल लेन र साइकल मैत्री शहरको मुद्दाका बिषयमा आफ्नो धारणा राख्दै यो बिषय शहरको प्राथमिकतामा रहने कुरा उठाएका थिए । आज संसारका साइकल प्रेमीहरुले बिश्व साइकल दिवस मनाइरहँदै गर्दा सडकमा साइकल लेन र साइकल मैत्री शहरको एजेन्डा मेरो ऐतिहासिक शहर नेपालगन्जका जनप्रतिनिधिहरु बिशेष एजेन्डा बनोस् भन्ने मेरो चाहना छ ।
अहिले नेपालमा साइकलबाट देश घुम्ने संस्कृति पनि बढ्दै गएको छ । विभिन्न मुद्दा र नारा बोकेरै हरेक दिन जसो कोहि न कोहि साइकलयात्रु नेपाल भ्रमणमा निस्केको सामाजिक संजालबाट जानकारी आइरहेको हुन्छ । यसरी साइकल एउटा पर्यटन प्रवद्र्धनको महत्त्वपूर्ण हिस्सा समेत बन्दै गएको छ । साइकल अर्थात माउन्टेन बाइकिङ्ग्मा रुचि राख्नेहरुको संख्या बढ्दै गर्दा माउन्टेन बाइकिङ्ग एउटा साहसिक खेलको रूपमा समेत नेपालमा स्थापित बन्दै गएको छ ।
नेपालगन्जमा ५ बर्ष अगाडि मात्रै औपचारिक रूपमा स्थापना भएको नेपालगन्ज साइक्लिङ क्लबले ‘मेयर कप साइकल दौड प्रतियोगिता’ को रूपमा साइकललाई खेलकुद सङ्ग र ‘टुर डे ठाकुरद्वार’ कार्यक्रम अन्तर्गत साइकललाई पर्यटनको बिकासमा जोडेको छ । बाँकेमा छोटो समयमै साइकल अभियानले गति लिदै गर्दा देशभर शहर र थुप्रै भारतीय शहरहरु सङ्ग पनि साइकलका माध्यमबाट नेपालगन्जको नयाँ सम्बन्धहरु स्थापित भएको छ । आज जुन ३, २०२२ अर्थात बिश्व साइकल दिवस सबै साइकल प्रेमीहरुमा बिश्व साइकल दिवसको शुभकामना । (सतिश निरौला, नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष हुन् ।)
आज साइकल ‘सिटी राईडिङ’
दैनिक नेपालगन्ज
विश्व साइकल दिवसको सन्दर्भ पारेर आज शुक्रवार नेपालगन्जमा साइकल ‘सिटी राइडिङ’ गरिंदैछ । आयोजक नेपालगन्ज साइक्लिङ क्लबले साइकल अभियन्ताहरुको सहभागितामा, जनप्रतिनिधि, विभिन्न व्यवसायिक क्षेत्रका अगुवा, उद्योगी, व्यवसायीलगायतलाई साइकलमा ‘सिटी राइडिङ’को आयोजना गरेको हो ।
आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाका अनुसार, ‘सेभ द प्लानेट, राइड अ साइकल’ भन्ने नारामा आज विहानै साइकल यात्रुहरु नेपालगन्ज सहरका विभिन्न क्षेत्रमा पुग्नेछन् । आयोजनाका लागि नेपालगन्जको प्रतिष्ठित व्यवसायिक घराना, जय मंगलम् सिमेन्टस् प्रालिले साझेदारी गरेको साइकल ‘सिटी राइडिङ’ दैनिक नेपालगन्ज मिडिया पार्टनरका रुपमा सहकार्य गरेको अध्यक्ष निरौलाले जानकारी दिए ।