‘शालिक’ माथिको राजनीतिले खलबलिदै शान्ति

अनाहक आक्रोश सहिदको शालिकमा पोखिंदा द्वन्द्वको जोखिम

जेठ १९ गते राजा वीरेन्द्रको वंश नाश भएको दिन । यो दिनलाई सम्झदा हरेकजसो नेपालीको मन चसक्क गर्छ । तत्कालीन लोकप्रिय राजा रानी सहित वंश विनासका अपराधीबारे न राज्यले भरोसा दिलाउन सक्यो न त नागरिकले तत्कालीन सरकारका दाबीलाई विश्वास नै गरे । अवस्था अहिले पनि उस्तै छ ।

मुलुकले कालो दिनका रुपमा लिएको जेठ १९ अहिले पनि राजावादीहरुका लागि राजनीतिको अस्त्र बनेको छ । बिहीबार विहान धम्बोझी स्थित चोकमा एकाएक राजा वीरेन्द्रको शालिक पुनस्र्थापना गरियो । त्यसको केहीबेरमै प्रहरीहरुको हस्तक्षेपमा शालिक हटाइयो । जुन घटना २०७३ भदौ १६ गते बिहीबार राजावादीहरुको अर्को समूहले गरेको घटनाको पुनरावृत्ति थियो ।

प्रहरी हस्तक्षेपलाई लिएर शालिक पुनस्र्थापनामा सक्रिय युवाहरुले प्रतिवाद गरे । तनाव बढ्दै जाँदा प्रहरीमाथि आक्रमण भयो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो । स्थिति यतिमा मात्र नियन्त्रणमा आएन । घटनामा ९ जना सुरक्षाकर्मी घाइते भएपछि हवाई फायर गरेको दाबी प्रहरीको छ । प्रदर्शनकारीतर्फ प्रहरीको लठ्ठीले केही घाइते भएको बताइएको छ ।

धम्बोझीबाट प्रहरीले लखेटेपछि भाग्दै गरेका युवाहरु प्रतिक्रिया स्वरुप उग्ररुप लिंदै नजिकै न्यूरोडमा रहेको सहिद सेतु विक चोक शहिदको शालिकलाई आक्रमणको निशाना बनाए । २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनको विम्वको रुपमा रहेको चोक र परिवर्तनको योद्धाका रुपमा सम्मानित सहिद माथिको आक्रमणले निश्चित राजावादी र प्रहरी बीचको द्वन्द्व बिस्तारित भयो ।

शहिदको शालिकमाथिको आक्रमणलाई व्यवस्था विरुद्धको आक्रमण भन्दै ठूला राजनीतिक दलहरु प्रतिक्रियामा आए । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई मात्रै होइन, नेकपा एमालेका जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपति, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव डिल्ली प्रसाद बराल, नेकपा एसका सचिव दिपक जिएम लगायतले प्रेस विज्ञप्ति मार्फत घटनालाई गम्भीरतापूर्वक लिएको प्रतिक्रिया दिए । नगर प्रमुख र उपप्रमुख घटनास्थलमै पुगेर घटनाको निन्दा गरे । त्यसक्रममा शालिकमाथि आक्रमण कार्यमा संलग्न रहेको भन्दै प्रहरीले चार जनालाई नियन्त्रणमा लियो ।

घटनाको प्रत्यक्ष नेतृत्व गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले प्रहरी दमनको विरोध गर्यो । त्यहीँ शहिद सेतु विक चोकमा भएको अराजकताको प्रतिक्रियासम्म राप्रपाले दिएको छैन । पार्टी जिल्ला अध्यक्ष नरेन्द्र पौडेलले प्रेस विज्ञप्ति जारी गरी राजा वीरेन्द्रको शालिक पुनस्र्थापनका क्रममा पक्राउ गरिएका सबैलाई निशर्त रिहाई माग गरेका छन् । राप्रपाले घटनाको लिएको छैन । यद्यपि, राप्रपा सम्बद्ध युवाहरुकै सक्रियतामा प्रहरी दमनको विरोध र पक्राउ गरिएकाहरुको रिहाई माग गर्दै अबेर रातीसम्म धम्बोझीमै प्रदर्शन गरिएको थियो ।

‘कुनै पनि प्रक्रियागत पहल भएको भए यो आउँदैनथ्यो’, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले दैनिक नेपालगन्जसँग भने, ‘राजनीतिक जस लिने निहूँमा द्वन्द्व निम्त्याउने काम भयो ।’ नगर प्रमुख विष्टले घटनालगत्तै धम्बोझी चोक र शहिद सेतु विक चोक पुगेर घटनाबारे स्थलगत जानकारी लिए । चोकमा शालिक राख्ने र हटाउने विषयमा बारम्बार विवाद हुने गरेकाले त्यसको स्थायी समाधानका लागि सम्वद्ध सबै पक्षसँग संवाद गरेर अघि बढ्ने नगर प्रमुख विष्टको भनाइ छ ।

घटनालाई लिएर बिहीबार साँझ स्थानीय प्रशासनले सर्वदलीय बैठकको आयोजना गर्यो । बैठकमा राप्रपाले सहभागिता नजनाएपनि जिल्लामा सक्रिय सबैजसो पार्टी सहभागी थिए । निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले बैठकबाट दुई बुंदे सहमति गरिएको जानकारी दिंदै ‘सर्वदलीय सहमतिमा हुने निर्णयमा प्रशासन बाधक नहुने’ बताए ।

सर्वदलीय बैठकमा नेपालगन्जको विविधताको संवेदनशीलता बुझेर, कसैको पनि मनोभावनामा चोट नपुर्याउने गरी, सर्वदलीय बैठकको निर्णय गरेर मात्रै शालिक राख्ने वा हटाउने विषयहरुमा आवश्यक कदम चाल्ने कुरामा सबैले सहमति जनाएका छन् ।

‘सेतु विक चोकमा भएको शालिकमा भएको क्षतिका लागि नेपालगन्ज उपमहानगरपालिकाले मर्मत, सम्भारको जिम्मेवारी लिने निर्णय भएको छ’, निमित्त प्रजिअ शर्माले भने ।

घटनालाई लिएर नेपाल उत्पीडित जातीय मुक्ति समाज बाँकेका अध्यक्ष हिम बहादुर सुनार र लुम्बिनी प्रदेश इन्चार्ज पुजन विश्वकर्माले संयुक्त विज्ञप्ति जारी गरी शहिद सेतु विकको शालिकमाथि भएको आक्रमणको निन्दा गरेको छ । ‘घटनामा संलग्नहरुलाई कडा कानुनी कारवाही गरियोस्’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया