नेपाली काँग्रेसको नेपालगन्ज स्थित जिल्ला पार्टी कार्यालयमा अगुवा कार्यकर्ताहरुले तालाबन्दी गरे । पार्टी नेता बादशाह कुर्मीको नेतृत्वमा रहेका अगुवा कार्यकर्ताहरुले बुधबार पार्टी कार्यालयमा तालाबन्दी गर्दै यसअघि विमति जनाइएका निर्णयहरु खारेज नभएसम्म ताला नखोल्ने बताए ।
तर, त्यसको केहीबेरमै पार्टी जिल्ला सभापति नारायणप्रसाद गौडेल सहितको टोलीले ताला फोड्यो । पार्टी केन्द्रीय सदस्य मैकुलाल वाल्मिकी सहितका नेताहरु तालाबन्दी प्रकरणदेखि कोहलपुरमा हुने कार्यपालिका निर्वाचनमा खटनपटनको छलफल चल्दै गर्दा बाहिरबाट फेरि ताला लगाइयो । दोस्रो पटक तालाबन्दीको अगुवाई गरे सुदिपनरसिंह राणाले ।
‘ताला खोल्छौं कि फेरि फोडेर बाहिर निस्कने ?’ कार्यालय भित्र बन्दी भएका केन्द्रीय सदस्य वाल्मिकीले राणा लगायतसँग कुरा गरेपछि ताला खुल्यो । र, नेताहरु बाहिर निस्किए । फेरि लगाइयो, आन्दोलनकारीको ताला । ‘पार्टी केन्द्रमा पुगिसकेको मुद्दामा यहाँ तालाबन्दी गरेर के हुन्छ ?’ केन्द्रीय सदस्य वाल्मिकीले दैनिक नेपालगन्जसँग भने, ‘यो सबै जिल्ला निर्वाचनको कुण्ठा हो ।’
पार्टी झण्डा सहित कार्यालयको मुल गेटमा तालाबन्दी गरेका उनीहरुले पार्टी जिल्ला नेतृत्व अवैधानिक रुपमा अल्पमतलाई लिएर हिडेको आरोप लगाएका छन् । ‘निर्वाचन अगाडि नै गरिएको बदमासी हो’, संविधानसभा सदस्य समेत रहेका काँग्रेस नेता कुर्मीले दैनिक नेपालगन्जसँग भने, ‘तर, स्थानीय निर्वाचन अभियानमा कुनै किसिमको असर नपरोस् भनेर रोकिएको आन्दोलनलाई अगाडि बढाइएको मात्र हो ।’
खासगरी कार्यसमितिलाई पूर्णता दिंदा कोषाध्यक्ष निर्वाचनमा अल्पमतको निर्णय हाबी भएको असन्तुष्ट पक्षको आरोप छ । त्यसबारे पार्टी केन्द्रले छानबिन गरेर सुधारको प्रतिबद्धता जनाएपनि जिल्ला स्तरबाट त्यसबारे उदासिनता देखाइएपछि आन्दोलन बाध्यतात्मक बनेको काँग्रेस जिल्ला सदस्य अशोक कुमार श्रेष्ठले जानकारी दिए । तालाबन्दी अघि असन्तुष्ट पक्षले जिल्ला पार्टी सचिव सुधांसु कोइरालालाई ज्ञापन पत्र पनि बुझाएको नेता श्रेष्ठले जानकारी दिए ।
जिल्ला स्थित संस्थापन पक्षले पनि ताला लगाएको कुरालाई ‘इग्नोर’ गरेको छ । ‘यो राम्रो होइन’, कार्यसम्पादन समितिदेखि कोषाध्यक्षसम्मका मनोनयन प्रक्रियामा बहुमतलाई बाहिर राखिएको भन्दै आपत्ति जनाइरहेका श्रेष्ठले भने । असन्तुष्ट पक्षले अब आन्दोलन चर्काएर जाने चेतावनी दिएको छ ।
पार्टी केन्द्रीय सदस्य वाल्मिकीले भने संवाद गरेर अगाडि बढ्न आफुले आग्रह गरिरहेको बताएका छन् । ‘निर्वाचनमा देखिएका बेथिति विरुद्ध संस्थापन कारवाहीको मुडमा छ’, दुवै पक्षको विवादलाई नजिकबाट हेरिरहेका एक काँग्रेस नेता भन्छन्, ‘त्यही कारवाहीबाट जोगिन असन्तुष्ट पक्षको आडमा यो नौटंकी गरिएको हो ।’ केन्द्रीय सदस्य वाल्मिकीको संकेत पनि त्यस्तै छ । उनी भन्छन्, ‘केन्द्रको निर्णय पर्खिनुको साटो अहिले फेरि यो किचलो झिक्नु निर्वाचनमा भएका बेथिति छानबिन भैरहँदा कारवाहीको डरले इश्यु डाइभर्ट गर्न खोजिएको हो ।’