अन्तर्घाती कारबाही गर्न सूची बनाउँदै एमाले

समीक्षासँगै निर्वाचित उम्मेदवारलाई सम्मान गरिरहेको एमालेले संगठन सुदृढिकरणलाई प्राथमिकतामा राखेको छ ।

स्थानीय तह निर्वाचनमा अकल्पनीय परिणाम भोगेको भन्दै नेकपा एमाले बाँकेले संगठन विरुद्ध लाग्ने, निष्क्रिय तथा विद्रोहीहरुलाई कारवाही गर्ने भएको छ । त्यसका लागि जिल्लाका ८१ वटै वडाको समीक्षा गरेको एमालेले तल्लो तहबाटै कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको हो ।

‘समग्र जनमतमा हाम्रो पार्टी पहिलो भैैरहँदा पनि आन्तरिक एकताको अभाव र अराजकताले परिणाममा फरक पारेको छ’, त्यसको छानबिन, अनुसन्धान र कारवाही प्रक्रिया अगाडि बढेको जानकारी दिंदै नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले भने, ‘अराजकताबाट कसैलाई उन्मुक्ति दिइनेछैन ।’

बुधबार नेपालगन्ज उपमहानगरपालिकामा निर्वाचित २५ जनप्रतिनिधिलाई स्वागत, सम्मान र बधाईका लागि एमाले नगर कमिटिले आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष कक्षपतिले भने, ‘हाम्रा धेरै कुराहरु सुधार गरेर अब संगठन सुदृढिकरण सहित प्रदेश तथा संघको निर्वाचनमा केन्द्रित हुनुपर्दछ ।’

पार्टी नगर अध्यक्ष दत्त प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १ का पार्टी अध्यक्ष समेत रहेका निर्वाचित वडाध्यक्ष प्रमोद रिजालले निर्वाचनको गहिरो समीक्षा आवश्यक देखिएको बताए । ‘महत्वपूर्ण जिम्मेवारीमा बस्ने, विपक्षीलाई मत माग्दै हिड्ने ?’, रिजालले पार्टी नेतृत्व समक्ष गम्भीर हुँदै भने, ‘कारवाहीका लागि तयार हुनुहोला वडावडाबाट प्रमाण सहित उजुरीहरु आउनेछन् ।’ उनले एमालेलाई जनताले मनपराउने गरी निर्वाचित जनप्रतिनिधिहरुले काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै पछिल्ला पाँच बर्षमा आफुहरुले गरेका कामको उचित चर्चा जनतामाझ पुग्न नसकेको भन्दै पछुतो माने । ‘अब जनतासँग जोडिएर निरन्तर काम अगाडि बढाउनु पर्दछ’, वडाध्यक्ष रिजालको भनाइ थियो ।

नगर अध्यक्ष आचार्यका अनुसार, परिणाम सोंचे जस्तो नभएपनि समग्रमा जनमत एमालेको पक्षमा बढी छ । ‘कतिपय वडा हार्ने र आशा गरेका ठाउँ नजित्ने भयो, तर अघिल्लो निर्वाचनको तुलनामा जनमत हाम्रो उल्लेख्य मात्रामा बढेको छ’, आचार्यको दाबी छ ।

पाँच वडाध्यक्ष सहित २५ जना नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत सम्मान गरेको एमालेले जनताका पक्षमा खुलेर काम गर्न निर्देशन दिएको थियो । पार्टी नगर इन्चार्ज कृष्ण बहादुर थापाले जनताको भावना प्रतिनिधित्व गरेर काम गर्न निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे ।

पार्टी सम्बद्ध स्रोतका अनुसार, एमाले नेपालगन्ज नगर कमिटिले स्थानीय तह निर्वाचनमा पार्टी विरुद्ध लाग्ने १७ जनालाई निष्कासन र १८ जनालाई कारवाही किन नगर्ने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । ‘चित्तबुझ्दो जवाफ नआए पार्टी गम्भीर कारवाही गर्छ’, नगर कमिटिको सिफारिसबारे नगर अध्यक्ष आचार्यले भने ।

प्रतिक्रिया

प्रतिक्रिया