बाँकेमा कार्यपालिका : जानकी र बैजनाथमा काँग्रेस, राप्तीसोनारीमा एमालेको बहुमत

जानकी, नेपालगन्जमा मिश्रित, कोहलपुर र नरैनापुर निर्वाचन प्रक्रियामा

स्थानीय तहमा कार्यपालिका शक्तिशाली हुन्छ । कार्यपालिकामा बहुमत हुँदा पालिकामा गरिने निर्णयमा प्रत्यक्ष प्रभाव पार्दछ । स्थानीय तहको निर्वाचन सकिएपछि अहिले बाँकेमा धमाधम कार्यपालिकाको निर्वाचन भैरहेको छ ।

सङ्घीय शासन प्रणालीमा स्थानीय तहको शासन व्यवस्था सञ्चालन गर्ने स्थानीय सरकार वा स्थानीय तहको कार्यकारिणी नै स्थानीय कार्यपालिका हो । स्थानीय कार्यपालिकाले स्थानीय तहको शासन व्यवस्थाको सञ्चालन, निर्देशन नियन्त्रण समन्वय र श्रोत परिचालनको कार्य गर्दछ । संविधान र सङ्घीय कानुनको अधीनमा रही स्थानीय कार्यपालिकाले स्वीकृत गरेको नियमावली बमोजिम स्थानीय कार्यपालिकाको कार्य विभाजन र कार्य सम्पादन हुन्छ ।

सङ्घीय शासन प्रणालीमा स्थानीय तहको शासन व्यवस्था सञ्चालन गर्ने स्थानीय सरकार वा स्थानीय तहको कार्यकारिणी नै स्थानीय कार्यपालिका हो । स्थानीय कार्यपालिकाले स्थानीय तहको शासन व्यवस्थाको सञ्चालन, निर्देशन नियन्त्रण समन्वय र श्रोत परिचालनको कार्य गर्दछ । संविधान र सङ्घीय कानुनको अधीनमा रही स्थानीय कार्यपालिकाले स्वीकृत गरेको नियमावली बमोजिम स्थानीय कार्यपालिकाको कार्य विभाजन र कार्य सम्पादन हुन्छ ।

नेपालको संविधान २०७२ को भाग १७ मा स्थानीय कार्यपालिकाको व्यवस्था रहेको छ । यस अन्तर्गत धारा २१४ मा स्थानीय तहको कार्यकारिणी अधिकार संविधान र कानुनको अधीनमा रही गाउँ कार्यपालिका वा नगर कार्यपालिकामा रहने कुरा उल्लेख गरिएको छ ।
बाँकेको कोहलपुर र नरैनापुर बाहेक अन्य स्थानीय तहको कार्यपालिकाले पूर्णता पाएका छन् । खजुरा गाउँपालिकाको कार्यपालिकाका लागि थपिने ६ सदस्यमा काँग्रेसका ४ र माओवादीका २ जनाको मात्रै उम्मेदवारी परेपछि सर्वसम्मत भयो । खजुरामा काँग्रेसको ९ र माओवादीको १९ मत रहेको थियो । जम्मा ४२ मत रहेको खजुरामा माओवादीले काँग्रेसलाई गठबन्धन गरी प्रमुख दिएपछि कार्यपालिका निर्वाचनमा बहुमत सदस्य दिएर सर्वसम्मत गरेको हो । अब खजुरा गाउँपालिकाको कार्यपालिकामा माओवादीको ८, काँग्रेसको ७ र एमालेको १ जना सदस्य रहेका छन् । कार्यपालिकामा निर्णयमा भोलिका दिनमा गठबन्धन एक नहुने हो भने एमाले माओवादीसँग मिल्दा बहुमत र काँग्रेससँग मिल्दा बराबर हुने स्थिति रहेको छ । खजुरामा कसैको पनि कार्यपालिकामा एक्लै बहुमत पुगेको छैन ।

बाँकेको डुडुवा गाउँपालिकाको कार्यपालिका १४ सदस्यीय हो । १४ सदस्यीय कार्यपालिकामा कुनै पनि पार्टीको बहुमत पुगेको छैन । कार्यपालिकामा यसअघि निर्वाचित वडाध्यक्ष, प्रमुख र उपप्रमुख समेत ८ चुनिइसकेका थिए । थप ६ सदस्यका लागि भएको निर्वाचनमा नेकपा एमाले ३ र ३ जसपा विजयी भएको छ । जसपा र एमालेको कार्यपालिका लागि गठबन्धन भएपछि ३÷३ सदस्यमा विजयी भएका हुन् । अब डुडुवा गाउँपालिकाको १४ सदस्यीय कार्यपालिकामा नेपाली काँग्रेसको ३ सदस्य, एमालेको ५ जना, जसपाको ६ जना रहेका छन् । डुडुवामा ६ कार्यपालिका सदस्य चुन्नका लागि ३२ मतदाता मध्ये काँग्रेसको ८, एमालेको ९ र जसपाको १५ मतदाता रहेका थिए ।
जानकी गाउँपालिकाको कार्यपालिका १४ सदस्यीय रहेको छ । यसअघि काँग्रेसको ५, जसपाको २, माओवादीको १ सदस्य गरी ८ जना कार्यपालिकामा रहेको जानकीमा भएको निर्वाचनबाट कार्यपालिकामा काँग्रेसका ४ र माओवादीको २ दुई थपिएका छन् । अब जानकी गाउँपालिकाको १४ सदस्यीय कार्यपालिकामा काँग्रेसको ९, माओवादीको ३ र जसपाको २ जना सदस्य रहेका छन् । जानकीको कार्यपालिकामा काँग्रेसको एकल बहुमत पुगेको छ । ३२ मतदाता रहेको जानकी गाउँपालिकामा काँग्रेसको मतदाता १५, जसपाको १०, माओवादीको ४ र एमालेको ३ जना मतदाता रहेका थिए । जानकीमा काँगे्रस र माओवादीले गठबन्धन गरेको थियो ।

राप्तीसोनारी गाउँपालिकाको कार्यपालिकामा नेकपा एमालेको एकल बहुमत रहेको छ । १७ सदस्यीय कार्यपालिकाका लागि यसअघि नै एमालेबाट ५, माओवादीबाट ३, राप्रपाबाट १ र काँग्रेसबाट २ निर्वाचित भएका थिए । राप्तीसोनारीमा कार्यपालिका निर्वाचनका लागि ४५ मतदाता मध्ये एमालेको २७, माओवादीको १४, राप्रपाको ४ र काँग्रेसको २ मतदाता रहेका थिए । मतदातामा एक्लै बहुमत भएको एमाले विरुद्ध माओवादी, काँग्रेस र राप्रपाले गठबन्धन गरेपनि कार्यपालिकाको थप सदस्य जित्न सफल भएनन् । एमालेले निर्वाचन भएको ६ सदस्य एक्लैले जितेको छ । अब राप्तीसोनारी गाउँपालिकाको १७ सदस्यीय कार्यपालिकामा एमालेको ११, माओवादीको ३, राप्रपाको १ र काँग्रेसको २ सदस्य रहेका छन् ।

बैजनाथ गाउँपालिकामा ६ जना कार्यपालिका सदस्यमा नेपाली काँग्रेस निर्विरोध भएको छ । कुल ४२ मतदातामा काँग्रेस एक्लैको २६ जना मतदाता रहेपछि अन्य पार्टीले उम्मेदवारी नै दिएन । अब १६ सदस्यीय कार्यपालिकामा काँग्रेसको १२, एमालेको २, माओवादीको २ सदस्य रहेका छन् ।

कोहलपुरमा कार्यपालिकाका लागि १९ गते मतदानको समय तोकिएको छ । अन्तिम उम्मेदवारको टुंगो लागेको छ । सुरुमा एमाले, काँग्रेस र माओवादीले उम्मेदवारी दिएपनि माओवादीले उम्मेदवारी फिर्ता लिएको छ । अब ८ कार्यपालिका सदस्यका लागि काँग्रेस र एमाले उम्मेदवार बीच मतदात हुनेछ । कोहलपुरमा कुल ७७ मतदाता मध्ये काँग्रेस एक्लैको ४८ मतदाता रहेका छन् । एमालेको २३, माओवादीको ६ मतदाता छन् । कार्यपालिका निर्वाचनमा एमालेले गठबन्धन गरेपनि काँग्रेसलाई हराउन सक्ने अवस्था छैन । कोहलपुरको कार्यपालिका हाल काँग्रेसका ११, एमालेका ४ र माओवादीको २ कार्यपालिका सदस्य रहेका छन् । जसमा अब ८ जना थपिनेछन् ।

नरैनापुर गाउँपालिकामा कार्यपालिका निर्वाचन प्रक्रिया सुरु भएको छ । सोमबार मतदाता नामावली प्रकाशन गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार, आगामी १० गते निर्वाचन मिति तोकिएको छ । ३२ मतदाता रहेको नरैनापुरमा काँग्रेसको २० र जसपाको १२ मतदाता छन् । हाल कार्यपालिकामा नेपाली काँग्रेसका ४ र जसपाको ४ जना रहेकोमा अब थप ६ जना निर्वाचन मार्फत थपिने छ । मतदातामा एक्लै बहुमत रहेको काँग्रेसले सम्भवत ६ वटै सदस्य जित्नेछ ।
नेपालगन्ज उपमहानगरपालिकामा कसैको पनि बहुमत पुगेको छैन ।

प्रतिक्रिया

प्रतिक्रिया