नेपालगन्ज : राजनीतिक दाउपेचमा जसपालाई श्रेष्ठता, गठबन्धन गञ्जागोल

सत्तारुढ गठबन्धनबाट नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसको नेतृत्व सहित बहुमत लिन सफल प्रारम्भिक अवस्थामा फेरबदल भएको छ । खासगरी कार्यपालिकाले पूर्णता पाउने क्रममा भएको राजनीतिक जोडघटाउमा तत्कालीन गठबन्धन गञ्जागोल हुँदा राजनीतिक अवस्थामा फेरबदल भएको हो ।

सोमवार भएको कार्यपालिका निर्वाचनमा तत्कालीन गठबन्धनले निरन्तरता पाएन । काँग्रेस नेतृत्वमा मुख्य सहयोगी जसपालाई बाहिर राखी राप्रपा भित्र्याइएपछि एमालेको सहारामा जसपाले बाजी मारेको हो । ३३ सदस्यीय कार्यपालिकामा कुनै एउटा दलले स्पष्ट बहुमत पाउन नसकेपनि नगर प्रमुख सहितको काँग्रेस, राप्रपा र माओवादी गठबन्धनलाई सजिलै शासन गर्न जसपाले दिए । यद्यपि, यही गठबन्धनले निरन्तरता पाए उपप्रमुख सहितको जसपाले निर्णायक भूमिकामा भाँजो हाल्ने शक्ति आर्जन गरेको छ ।

कार्यपालिका निर्वाचनमा नराम्ररी पराजय भोगेको माओवादीले काँग्रेसबाट धोका पाएको अनुभूति गरेको छ । अबका दिनमा माओवादीले गठबन्धनलाई नेपालगन्जमा निरन्तरता देला ? नगर प्रमुख प्रशान्त विष्टको कार्यकुशलतामा निर्भर रहन्छ । तर, कार्यपालिकाको निर्वाचनमा माओवादी र समाजवादीलाई दिएको तीन सिट हथ्याउन सफल जसपाले कार्यपालिकामा सजिलैसँग काँग्रेसलाई नेतृत्व गर्न नदिने चाही निश्चित छ ।

सोमबार १ सय १७ मतदाता बीच भएको निर्वाचनमा काँग्रेस नेतृत्वको गठबन्धनले एकलौटी जित हासिल गर्ने प्राविधिक अंक गणित प्रष्ट थियो । ६७ मत बोकेको गठबन्धनलाई २५ मत रहेको जसपाले एमालेको २५ मतको सुनिश्चिततामा पलटवार गरिदियो । ‘१७ मत काँग्रेसको गठबन्धनबाट जसपाले कसरी लग्यो ?’, माओवादी र समाजवादीको एकोहोरो आरोप छ, ‘काँग्रेसले धोका दियो ।’ तर, काँग्रेस आफै रणभुल्लमा छ ।

एमाले भने गठबन्धन तोडेको मै मख्ख छ । आफ्ना सबै उम्मेदवार पराजित हुँदा पनि सन्तुष्ट नेकपा एमाले नेपालगन्ज नगर अध्यक्ष दत्त प्रसाद आचार्य भन्छन्, ‘हामीले २५ बाट हाम्रो ५७ पुर्यायौं, जसपाले जितेका ३ सिटमा हाम्रो पनि अधिकार स्थापित भयो ।’
जसपाको यो ‘जश्न’ मा पुरै भागिदार प्रतिनिधिसभा सदस्य मो. इस्तियाक राई ‘काँग्रेसको धोकालाई प्रतिवाद गरेको’ सगर्व सुनाउँछन् । उनी भन्छन्, ‘हामी गठबन्धनको निरन्तरतामा विश्वस्त थियौं, तर काँग्रेस भित्रको गुटको लडाईले गठबन्धनलाई हल्लाई दियो ।’

अब नेपालगन्जमा कार्यपालिकाको निर्णय कसरी अगाडि बढ्छ ?, कार्यपालिका निर्वाचनमा नजिकबाट जितको योजना बुनेका जसपा नेता राईले दैनिक नेपालगन्जसँग भने, ‘मेयर हाम्रो साझा उम्मेदवार हुन्, संयुक्त संकल्प प्रस्तावबाट आएकाले उक्त प्रतिबद्धता कार्यान्वयनमा हाम्रो साथ रहन्छ ।’ ‘तर, गुटगत स्वार्थ र राजनीतिक चालबाजीबाट हुने निर्णयहरुमा हाम्रो सशक्त प्रतिवाद रहन्छ’, नेता राईले स्पष्टसँग अबको नेपालगन्ज उपमहानगरपालिका शक्ति सन्तुलनका आधारमा अगाडि बढ्ने सन्देश दिंदै भने ।

सोमबारको मतदानबाट ८ कार्यपालिका सदस्यमा काँग्रेसका ३, जसपा ३ र राप्रपा २ जित हासिल गरे । अब बनेको ३३ सदस्यीय कार्यपालिकामा जसपा सबैभन्दा ठूलो १०, काँग्रेस ९, एमाले ५, राप्रपा ५ र माओवादीले ४ प्रतिनिधि सुनिश्चित गरेका छन् । कार्यपालिका कसैको पनि एकल बहुमत छैन ।

प्रतिक्रिया

प्रतिक्रिया